PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​निजी क्षेत्रका ‘पिलर’ संस्थाहरुबीच कटुता हटेकै हो ?



​निजी क्षेत्रका ‘पिलर’ संस्थाहरुबीच कटुता हटेकै हो ?

  • विज्ञान अधिकारी-
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएपछि पशुपति मुरारका वधाई थाप्न नेपाल उद्योग परिसंघको कार्यालय थापाथली पुगे।
 
परिसंघ स्थापना भएको झन्डै १५ वर्षको अन्तरालमा बधाई थाप्न महासंघका अध्यक्ष पहिलो पटक त्यहाँ पुगेका थिए। परिसंघले यसअघि पनि महासंघका अध्यक्षलाई वधाई दिन बोलाएको थियो। तर यसअघिका अध्यक्षहरु परिसंघको निम्तोलाई अस्वीकार गर्दै आएका थिए । 
 
महासंघमा निर्विरोध अध्यक्ष बनेका मुरारकाले परिसंघको निम्तोलाई सहर्ष स्वीकार गरेर वधाई लिए। परिसंघको कार्यालयमा पुगेपछि निजी क्षेत्रको संगठनबीको ‘ईगो’ को गाँठो फुकेको छ।
 
मुरारका निजी क्षेत्रमा मध्यमार्गी धारका चिनिन्छन्। महासंघको विशेष साधारणसभामा निर्वाचनमा निर्विरोध निर्वाचित हुन परिसंघभित्रकै व्यवसायीहरुको सहयोग भएकोले दुई संस्थावीच संवादको वातावरण बनेको स्रोत बताउँछ। 
 
यसअघि प्रदीपजंग पाण्डेलाई अध्यक्ष बन्नको लागि  परिसंघका संस्थापक अध्यक्ष समेत रहेका उद्योगपति विनोद चौधरीको सहयोग थियो। निर्वाचित भएपछि परिसंघले पाण्डेलाई बधाइ दिन कार्यालयमा नै बोलाएको थियो तैपनि उनी गएनन्। 
 
महासंघको अध्यक्षको निर्वाचनमा पद्म ज्योतिसँग हारेपछि उद्योगपति विनोद चौधरी महासंघबाट बाहिरिएका थिए। महासंघबाट बाहिरिपछि सन् २००० मा उनले परिसंघ स्थापना गरेका थिए। परिसंघको स्थापनापछि यी दुई संस्थाबीच पानी बाराबारको अवस्था थियो। 
 
परिसंघ स्थापना भएपछि यी दुई संस्थाको पदाधिकारीबीच आधिकारिक छलफल भएको थिएन। अझ दुई संस्थाबीच उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा विवाद चरम उत्कर्षमा पुगेको थियो। 
 
दुई साताकै अवधिमा नेपाल चेम्बर अफ कमर्शले महासंघ र परिसंघलाई एउटै मञ्चमा राखेर संयुक्त छलफल समेत सुरु गरिसकेको छ। तीनवटै व्यवसायिक संस्थाबीच निजी क्षेत्रका एकल एजेन्डा बनाएर लैजाने सहमति समेत भएको छ। निजी क्षेत्रका यी संस्थाहरुले सहकार्यमा अघि बढ्ने प्रतिवद्धता समेत जनाइसकेका छन्। 
 
‘समय परिस्थितिले सबैलाई एकै ठाउँमा ल्याएको हो। अब इगोइस्टिक भएर काम छैन,’ महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘विभाजित भएर होइन जुटेर एकल एजेन्डा लिएर हिड्दा निजी क्षेत्र र मुलुक दुबैलाई फाइदा हुन्छ।’ परिसंघ र महासंघ मिलेर चालु आर्थिक वर्ष २०७२/०७३को बजेटमा एकल एजेन्डा प्रस्तुत गरेका थिए। गोप्य रुपमा केही एजेन्डामा संयुक्त रुपमा छलफल गरेर अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए।
 
स्रोतका अनुसार संविधानको मस्यौंदामा निजी क्षेत्रलाई संकुचित गर्ने बुँदा राखिएपछि यी दुई संस्था अझै नजिकिएका थिए। संविधानमा तीन खम्बे अर्थनीति अबलम्बन गर्ने भन्दै सहकारीलाई समेत राखेपछि दुई संस्थाले एउटै एजेन्डा बनाएका थिए। 
 
‘अहिलेको जटिल राजनीतिक अवस्थामा निजी क्षेत्र विभाजित हुनु सकारात्मक होइन,’ परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भने, ‘सबै संस्थाको आ–आफ्नै विशेषता छन्। हामी ठूला उद्योगीको वकालत गर्छौ। उनीहरुको पैरवी गर्छौ। महासंघले सानादेखि ठूलासम्म वकालत गर्छ। ती सबैको एजेन्डालाई एकीकृत गरेर अघि बढाउन खोजेका हौ।’
 
निजी क्षेत्रमा सबैभन्दा बढी संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ ४८ औं साधारणसभाबाट सबैभन्दा बढी विभाजित भयो। महासंघमा अध्यक्षमा निर्वाचित भएका प्रदीपजंग पाण्डे र पराजित भएको भाष्करराज राजकर्णिकार समूहका बरिष्ठ उपाध्यक्ष बनेका पशुपति मुरारका समूहबीच पानी बाराबारको अवस्था आयो। 
 
महासंघभित्रै आन्तरिक कलहले सरकारले समेत निजी क्षेत्रका मुद्दालाई वेवास्ता गर्‍यो। पाण्डेलाई तीस वर्षअघिको भष्ट्राचारको मुद्धामा पक्रेपछि महासंघको छबि अझै धुमिल भयो। पाण्डे पक्राउपछि महासंघका सबै पूर्व अध्यक्षले भावी नेतृत्व सर्वसम्मत ल्याउने लबिङ सुरु गरे। महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले सर्वसम्मत अध्यक्ष बनाउने अभियानलाई अरु पूर्व अध्यक्षले सघाए। 
 
श्रेष्ठ महासंघको छबिलाई उच्च राख्न र निजी क्षेत्रको एजेन्डालाई बलियो रुपमा अघि बढाउन अझै केही वर्ष सर्वसम्मत नेतृत्व आवश्यक रहेको बताउँछन्। महासंघका पूर्व अध्यक्षले थालेको अभियानले सबै निजी क्षेत्रलाई एकै स्थानमा ल्याइपुर्‍याइदिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell