PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

२ दिनसम्म पहिरोमा बेपत्ता ५ जनाको दाहसंस्कार गरियो



२ दिनसम्म पहिरोमा बेपत्ता ५ जनाको दाहसंस्कार गरियो
मुदी गाउँको फोटो। फोटो: रासस

म्याग्दी : मुदी गाविसमा पहिरोमा बेपत्ता भएका ५ जनाको अवस्था थाहा हुन नसकेपछि मृत्यु भएको आशंकामा शुक्रबार दाहसंस्कार गरिएको छ। मुदी गाविस ५ को गाखर्कमा बुधबार राती पहिरोले बगाएर ५ जना बेपत्ता भएका थिए भने एक जनाको शव भेटिएको थियो।

“पहिरो र वरपरका जङ्गजमा सकेजति खोजी गर्दासमेत नभेटिएपछि पुरिएका पाँचजनाको परम्पराअनुसार चिहान बनाएर सत्गत् गरी गाउँ फर्कियौँ” स्थानीय प्रथम धौलागिरि युवा ब्लबका अध्यक्ष खवीन घर्तीले भने।

करिब आठ सय मिटर फराकिलो भएर फैलिएको पहिरोले गोठ रहेको सबै ठाउँ पुरेकाले आफन्तले मृत्यु भएको मानेर परम्पराअनुसार सत्गत् गरी घर फर्किएका हुन्। दुई सयजना गाउँले र ११ जना प्रहरीले बिहीबार दिनभर र शुक्रबार दिउँसोसम्म बेपत्ताको खोजी गरेका थिए।

गाखर्कमा रहेको चारवटा गोठमध्ये तीनवटा गोठका सबै बस्तुभाउ र गोठधनी पहिरोले बगाएको थियो। एउटा गोठका धनी भने घर फर्केको समय भएकाले बस्तुभाउमात्र बगाएको थियो। पहिरोले करिब ५० लाख रुपैयाँको बराबरको पशुधनको क्षति गरेको छ। 

गाखर्कमा रहेका चारवटा गोठमा रहेका करिब ३५० गाई, गोरु, भैँसी र बाख्रा बुधबार रातिको पहिरोले पुरेको छ। दुई सय ५० वटा बाख्रा र ८० भन्दा बढी गाई, गोरु र भैँसी पहिरोमा पुरिएको उद्धारमा खटिएका घर्तीले बताए। घटनास्थलमा १० वटा गाईगोरु र एकजना मानिसको शवबाहेक केही पनि फेला पर्न सकेको छैन। 

गाखर्कमा आएको पहिरोका कारण गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल बगाउँदा आवतजावत प्रभावित भएको छ। पुल नहुँदा नेरवाङका ४० घरधुरी बाटोको सुविधाबाट विच्छेद भएका छन्। तत्काल वैकल्पिक व्यवस्था गरिदिन स्थानीयवासीले माग गरेका छन्।
घटनास्थल सदरमुकादेखि २० कोस टाढा पर्छ। मुदी गाविसका वासिन्दाले चरन क्षेत्रको रुपमा प्रयोग गर्ने यो लेक पुग्न २ दिन लाग्छ। पहिरो गएको खबर पाएर बिहीबार त्यसतर्फ गएको प्रहरी शुक्रबार पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell