PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

न्यायाधीश बममाथि पहिलो गोली हान्ने यस्मालीलाई यसरी ल्याइयो नेपाल



न्यायाधीश बममाथि पहिलो गोली हान्ने यस्मालीलाई यसरी ल्याइयो नेपाल

  • विनोद ढकाल/पहिलोपोस्ट-
काठमाडौं :  २०६९ जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या घटनाको अनुसन्धान 'अपरेशन संखमूल' प्रहरीले सिध्याएको छ।

न्यायाधीश बममाथि पहिलोपटक गोली हान्ने सञ्जय यस्मालीलाई आज साउदी अरबबाट काठमाडौं ल्याएपछि अब प्रहरीको काम सकिएको छ। अदालती प्रक्रियामात्र बाँकी छ। प्रहरी अनुसन्धानकै क्रममा संविधानसभा चुनाव लडेका र रोजगारीका लागि साउदी अबर पुगेका उनलाई नेपाल ल्याउन प्रहरीले धेरै समय कुर्नुपर्‍यो।

२०६९ जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या हुँदा उनीमाथि पहिलो गोली चलाउने सञ्जय यस्माली नै थिए।बंगलामुखी मन्दिरबाट फर्कने क्रममा शंखमुलको युएन पार्क छेउमा न्यायाधीशको गाडी पुगेपछि पहिलो गोली अंगरक्षकमाथि प्रहार भएको थियो। त्यो काम शिव चौधरी नामका अर्का सार्पसुटरले गरेका थिए।

अंगरक्षकलाई गोली लागेपछि भगवान भनिने यिनै यस्मालीले न्यायाधीश बममाथि गोली हानेका थिए। पछि चौधरी र यस्माली दुवैले बमलाई गोली हाने। उनलाई ६ गोली प्रहार गरिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रमुख हेमन्त मल्लले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने 'बममाथि पहिलो गोली हान्ने पनि ऊ (यस्माली) नै थियो।' यस्मालीले गोली चलाउने र हतियार तथा सवारी साधनहरुको ब्यवस्थापन गरेका प्रहरी अनुसन्धानले देखाएको छ।

घटनापछि पनि ढुक्कसँग नेपालमै

बम हत्यापछि सञ्जय नेपालमा नै बसेका थिए। उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेपनि घटनामा सलग्नताको कुनै प्रमाण नपाएपछि छाडेको थियो।  घटनाको डेढ वर्षपछि २०७० मंसिर ५ गते भएको संविधानसभाको चुनावमा उनी रामेछाप क्षेत्र नम्बर २ बाट उम्मेदवार बने। सुदर्शन चक्र चुनाव चिन्ह लिएर चुरे भावर राष्ट्रिय एकता पार्टीबाट चुनाव लडेका उनले ३३ भोट पाएका थिए।

त्यसको झण्डै एक वर्षपछि २०७१ कात्तिक २८ गते  काठमाडौंको फ्युचर लिंक इन्टरनेशनल म्यानपावरबाट उनी साउदी अरब गए। आफ्नै (भगवान थापा) नामको राहदानीबाट उनी साउदी अरबमा ट्रक ड्राइभरको काम गर्न गएका थिए।

साउदी अरब पुगेको दुई महिनापछि घटनाका मुख्य योजनाकार बाबु थापा लगायतका ४ जना पक्राउ परेपछि बल्ल प्रहरीले यस्मालीको पनि संलग्नता थाहा पाएको थियो। साउदी अरब पुगेको चार महिनापछि फागुन २७ गते उनलाई नेपाल प्रहरीको अनुरोधमा साउदी प्रहरीले पक्राउ गरेको हो।

यसरी ल्याइयो नेपाल

प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालयको सचिवस्तरीय  निर्णय र परराष्ट्र मन्त्रालयमा मन्त्रीस्तरीय निर्णय गरी यस्मालीलाई नेपाल पठाउन अनुरोध गर्दै कुटनैतिक तवरबाट पत्राचार गरियो। उनलाई साउन २६ गते रियाद अदालतले नेपाल पठाउन आदेश गर्‍यो। उनलाई प्रहरीले आज जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।



यसअघि पक्राउ परेकाहरु कहाँ छन्
?

प्रहरीले घटनाको मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापा, शिव भनिने करण चौधरी, नवीन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई प्रहरीले २०७१ पुसमा नै पक्राउ गरिसकेको थियो।

त्यसको दुई दिनपछि घटनामा प्रयोग भएको हतियार राख्‍न सघाउने सुरजकुमार पोखरेल र गोविन्द उप्रेतीलाई पक्राउ गरेको थियो। माघ १८ गते अदालतको आदेशले ५ जना पुर्पक्षको लागि नख्खु कारागारमा थुनामा छन् भने प्रेम खड्का ५० हजार धरौटीमा रिहा भएका छन्।

तीन वर्षपछि सकियो अनुसन्धान

बम हत्या घटनाको अनुसन्धान प्रक्रिया प्रहरीले तीन वर्ष तीन महिनापछि सिध्याएको छ। घटनामा संलग्न सबैलाई पक्राउ गरी अदालतमा बुझाएपछि प्रहरीले आफ्नो काम सिध्याएको हो। 'हाम्रो काम सकिएको छ, अब अदालती प्रक्रियामात्र बाँकी छ' सिआइबीका प्रमुख डिआइजी मल्लले भने।

फैसला चित्त नबुझेपछि हत्या 

चुरेभावर राष्ट्रिय एकता पार्टीको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा गरेको फैसलाका कारण सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको प्रहरीले पत्ता लगाएको थियो।

'२०६४ सालमा पार्टी अध्यक्ष केशव मैनालीसँग चर्केको विवादमा निर्वाचन आयोगले आफू नेतृत्वको पार्टीलाई मान्यता दिएको तर मैनाली अदालत गएपछि बमको एकल इजलासले मैनालीलाई जिताएको बदला लिन हत्या भएको', प्रहरीले जनाएको छ।

२०६४ सालमा चुरे भावरको पार्टीको पार्टी उपाध्यक्षसमेत रहेका बाबु थापा भनिने मेघबहादुर थापाको तत्कालिन पार्टी अध्यक्ष केशव मैनालीसँग विवाद भएको थियो।

अध्यक्षसँग विवाद भएपछि पार्टी नेतृत्व कसको रहने भन्ने विषयमा बाबु थापाले निर्वाचन आयोगमा उजुरी गरेका थिए। निर्वाचन आयोगले सोही साल दुवै पक्षलाई बोलाएर मिलापत्र गराएर केशव मैनालीलाई अध्यक्ष सदर गराएको थियो।

विवाद सुल्झेको जस्तो देखिएपनि मिति २०६६ साल जेठ २७, २८ र २९ गते दुवै पक्षले फरक फरक ठाउँमा महाधिवेशन गराएका थिए। अधिवेशनपछि कुन पार्टी आधिकारिक भन्ने विवाद पुनः बल्झियो। मुद्दा निर्वाचन आयोगमा पुग्यो। निर्वाचन आयोगले बाबु थापाको पार्टीलाई मान्यता दियो।

निर्वाचन आयोगको निर्णय विरुद्ध तत्कालिन अध्यक्ष केशव मैनाली सर्वोच्च अदालत पुगे। सर्वोच्चका तत्कालिन न्यायधीश रणबहादुर बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै पुरानै नेतृत्व (केशव मैनाली)लाई निरन्तरता दिने अन्तरिम आदेश सुनायो।

बाबु थापाले आफ्नो पार्टीको नेतृत्वमा पार्टी रहेको खण्डमा आफू गृह राज्य मन्त्रीसमेत हुने माहोल बनिसकेको तर सर्वोच्चले पार्टीका पूर्व अध्यक्ष केशव मैनालीलाई नै अर्को आदेश नभएसम्म जारी राख्ने अन्तरिम आदेश दिएकोले बदला लिन हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको छ।

बाबु थापा र यस्माली सम्बन्ध

बम हत्याकाण्डका मुख्य योजनाकार बाबु थापा र सञ्जय यस्माली दुबै चुरे भावर पार्टीसँग आवद्ध थिए। फैसला बाबु थापाको पक्षमा नभएपछि सञ्‍जय यस्मालीले पनि थापालाई साथ दिएका थिए। त्यसपछि दुबै मिलेर बमको हत्या गरेका प्रहरी अनुसन्धानबाट देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell