PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​हामी तपाईँको गोठालो हुन आएको हो? संविधानसभामा चित्रबहादुर केसीको प्रश्न



​हामी तपाईँको गोठालो हुन आएको हो?  संविधानसभामा चित्रबहादुर केसीको प्रश्न

काठमाडौँ : मस्यौदा समितिले संविधानको परिमार्जित मस्यौदा विधेयक पेश गर्ने दिन बाग्लुङका दुई सभासद्ले शीर्ष नेताहरुको चर्को आलोचना गरेका छन्।

चित्रबहादुर केसी  

मैले दश आठ वर्ष देखि भनेको छु। संघीयता गलपासो हुन्छ। संघीयतामा विमति भएपनि संविधान बन्नुपर्छ भन्दै आएको छु। तर आज संघीयता बोकेर हाड्नेलाई राख्नु कि फाल्नु भएको छ।

१४, १०, आठ, सात भन्दै छमा आउनु भयो। तपाँइहरु कहाँबाट यस्तो टुङ्गोमा पुग्नुभयो। तपाँइहरुलाई ज्ञान रहेनछ संघीयताबारे। तपाइँहरुको योग्यता क्षमता देखियो नि।

बाग्लुङ तेश्रो दिन बन्द भयो। जिम्मेवार नेताहरुले बाग्लुङ नटुक्र्याउने भनेर आन्दोलन नगर्न भन्यौँ। तर जनताको माग पूरा गर्न जनता मार्नुपर्ने, आगो लगाउनुपर्ने, कर्फ्यु लगाएपछि मात्र तपाँइहरुले सुन्नुहुँदो रहेछ।

सीमांकनमा आआफ्ना क्षेत्र र ठाउँ सुरक्षित राख्नुभयो। हिजो अस्तिसम्म चार जना हुनुहुन्थ्यो अहिले तीन जना हुनुहुन्छ। यो फैसला गर्ने जिम्मा तपाइँहरुलाई कसले दियो?

हामीलाई थाहासम्म नदिने? हामीलाइ सोध्न पर्दैन? तपाँइहरुको गोठालो हुन आएको हो हामी यहाँ? तपाइँहरुलाई टुक्र्याउने र जनता मार्ने के अधिकार? बाग्लुङ टुक्र्याउने काम सच्याउनुहोस्। नत्र सुर्खेत जुम्लाको स्थिति आउनसक्छ। सच्याउनुको विकल्प छैन।
 

अर्जुनप्रसाद जोशी  

सीमांकनको कुरा आए लगत्तै जनता छाँगाबाट खसे जस्तो भए। कतिपय ठाउँमा मान्छे मारिए। ठूलो दुर्घटना भयो। मान्छे नमरिकन मुद्दा नसुनिने भए। त्यही भएर केही ठाउँमा सुनियो।

हामीले धौलागिरीबासीले शान्तिपूर्ण बाटो लियौँ र बिना कारण बाग्लुङ किन टुक्रियो भनेर भन्यौँ। उहाँहरुले बिना कारण भएको भनियो र सच्याउने भनियो। तर निर्णय अर्को रुपमा आउँदैछ भन्ने सुनियो।

बाग्लुङका जनता प्रति हाम्रो जिम्मेवारी छौँ। बाग्लुङ टुक्र्याउनुको आधार के छ? तर्क के छ? नाका नभएर हो कि? जनताले चाहेर हो कि? जनताले विरोध गरेका छन्।

समयमै आग्रह गर्न चाहान्छु हिसांको बाटो नसमाउँ। संविधान निर्माण जुटेका नेताहरुलाइ मुद्दा सम्बोधन बेलैमा होस्। होइन भने त्यहाँ हुने हिंसा हाम्रो नियन्त्रणमा नहुन सक्छ। 

(यसअघि शीर्षकमा स‍‍ंसद् लेखिएको थियो। यो गलत थियो। केसी र जोशीले स‍ंविधानसभामा यी अभिव्यक्ति दिएका हुन्- सं.)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell