PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

शीर्ष नेता र गच्छदारबीच टेलिफोन वार्ता : संविधानसभा फर्किन गच्छदारको शर्त



शीर्ष नेता र गच्छदारबीच टेलिफोन वार्ता : संविधानसभा फर्किन गच्छदारको शर्त

काठमाडौं: संविधानसभा बहिस्कार गरेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलाई संविधानसभामा फिर्ता ल्याउन प्रमुख तीन दलले पहल थालेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताले गच्छदारलाई टेलिफोन गरी संविधानसभामा फर्किन आग्रह गरेका छन्। तर गच्छदारले आफु संविधानसभामा फर्किनका लागि केही शर्त राख्दै ती पूरा भएमा संविधानसभामा फर्किन आश्वासन दिएका फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले बताए।

गच्छदारले ७ प्रदेशको सीमांकनलाई खारेज गरी थारु र मधेशीको माग संबोधन गरी फेरबदल गर्नुपर्ने,  सामानुपातिक समावेशीको सिद्धान्त स्वीकार गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारणमा अन्तरिम संविधानकै व्यवस्था निरन्तरता दिनुपर्ने र स्थानीय स्तरमा बोलिने भाषालाई प्रदेशमा कामकाजको भाषाको रुपमा मान्यता दिनुपर्ने माग अघि सारेका छन्।

गच्छदारले यी माग पूरा भएमा संविधानसभामा फर्किने तीन दलका शीर्ष नेताहरुलाई बताएका फोरम लोकतान्त्रिकका महासचिव चौधरीले बताए। 'यी विषय संविधानमा समेटेमा थारु, मधेशी, जनजाति र दलित समुदायको माग पनि पूरा हुन्छ' उनले भने मधेशमा भइरहेको आन्दोलनको संबोधन पनि हुन्छ, हामी संविधानसभामा फर्किन तयार छौं किनभने संविधान निर्माण अहिलेको चरणसम्म आइपुग्न १६ बँदे सहमतिदेखि हाम्रो पनि लगानी छ।'

प्रमुख दलका शीर्ष नेताहरुले अहिले संविधान निर्माण अघि बढिसकेको र कतिपय धाराहरु पास भइसकेका बेला सबै माग समेट्न संभव नभएपनि पछि संशोधनद्वारा माग समेट्ने प्रतिवद्धता जनाएका छन्। तर फोरम लोकतान्त्रिकले अहिले नै संविधानमा समावेश गरेर जानुपर्ने अडान राखेको छ।

'दलहरुले चाहँदा संविधानमै नभएको व्यवस्था अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री त बनाउन सकिन्छ भने अहिले हाम्रो माग समेट्न किन नसक्ने?'  चौधरीले प्रश्न गरे 'पछि प्रमुख दलहरुबीच सहमति जुटेन भने संविधान संशोधन नहुन पनि सक्छ, त्यसैले अहिले नै संविधानमा समेटेर जानुपर्छ भन्ने हाम्रो माग छ।'

मधेश आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले पनि माग पूरा गर्ने प्रतिवद्धता जनाएको भएपनि ती अहिलेसम्म पूरा नभएकाले अब प्रतिवद्धता जनाउँदैमा आफुहरु संविधानसभामा नफर्किने चौधरीले बताए।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्‍डसँग गच्छदारको हिजो र आज टेलिफोनमा कुराकानी भइरहेको छ। प्रमुख तीन दलले ७ प्रदेशको सीमांकनमा सहमति जुटाएपछि संविधानसभाको प्रक्रिया छाडेको घोषणा गरेको फोरम लोकतान्त्रिकले शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश सद्भावना पार्टी र फोरम गणतान्त्रिकसँग मोर्चाबन्दी गरेर आन्दोलनमा छ। यी तीन दलसँग गरी १८ जना सभासद छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell