PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​यसकारण तीजमा व्रत बस्दिनन् मेरी जेई



​यसकारण तीजमा व्रत बस्दिनन् मेरी जेई
गत वर्षको तीजमा काठमाडौंको पशुपतिमा पूजा गरिरहेकी एक महिला।

  • हरि गौतम-
म हिँडिरहेको २५ वर्षसम्म मैले कहिल्यै आमा भनेको छैन। सँधै जेई भनेर सम्बोधन गरिरहको छु। यसपछिका वर्षहरुमा पनि म जेई मात्रै भनेर सम्बोधन गर्नेछु ताकि उहाँलाई जेई भनेर छोराछोरीले सम्बोधन गर्दा आउने आनन्द वेग्लैको छ। 

म मेरो एक मात्र दाइ अनि दुईटी बहिनी कसैले पनि आमा भन्दा उहाँको त्यसमा संधै अव्जक्सशन हुन्छ। आमा जसलाई पनि भन्न सकिन्छ रे, जेई भनेको आफूलाई जन्मदिनेलाई मात्रै भन्ने हो। जेईमा आफ्नो मातृत्व देख्ने उहाँको चाहनामा कुठाराघात गर्ने आँट गर्नु उहाँप्रतिको घोर अपमान ठान्छु म। त्यसैले पनि आगामी दिनमा पनि म आमा होइन जई भनेरै सम्बोधन गर्नेछु। भलै साथीसँगीका अघि उहाँको अनुपस्थितिमा आमा भनेर आपचारिकता भने निभाइरहेको छु।  

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। हरेक वर्ष आउने यस पर्वमा हजारौं आमा, दिदी, बहिनीहरु व्रत बसेका छन्। श्रीमानको दीर्घायुको कामना गर्दै, असल श्रीमानको कामना गर्दै विहानैदेखि उनीहरु निराहार व्रत बसेका छन्। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। निराहार व्रत वसी पार्वतीले महादेवलाई पाएको भन्ने धर्म शास्त्रीय मत अनुसार तीजको व्रत लिने चलन सुरु भएको मानिन्छ। जब निराहार व्रत बस्दा श्रीमानको आयु दीर्घायु हुन्छ, असल पति पाइन्छ, परिवारमा सुख शान्ति पाइन्छ भन्ने मान्यताकै आधारमा हिन्दु नारीहरु तीजको अवसरमा निराहार व्रत बस्ने गरेका छन्। 

तर, आजको यो तीजमा मेरी जेई व्रत बस्नुभएको छैन। उहाँ यो वर्ष मात्रै होइन यस अघिका १८ वटा तीज पनि विना व्रतै कटाइसक्नुभएको छ। यस वर्षको तीजसँगै मेरी जईले १९ वटा तीज बहिस्कार गर्नुभयो। तीज आउने दिन धुमधाम तरिकाले व्रत बसी,  श्रीमानको आयू दीर्घायु हुने, परिवारमा सुख, शान्ति पाइने विश्वास जव गल्र्यामगुर्लुम्म ढल्यो त्यसपछिका हरेक तीज मेरी जेईको बहिस्कारमा पर्दै आए अझै कति पर्ने हुन्।

१३ वर्षको उमेदेखि ३६ वर्षसम्म निरन्तर तीजको व्रत बसेकी मेरी जेई आशा र विश्वासको धरोहर २०५३ सालको तीजदेखि ढल्यो। २३ वर्षसम्म निरन्तर तीजको व्रत बसेकी मेरी जईको व्रत २०५२ सालको घटनाले तोड्यो। २०५२ सालको भदौको तीजमा व्रत बसेर श्रीमान्, छोराछोरी, श्रीसम्पत्तीको रक्षाको कामना गरेकी मेरी जेईको विश्वासको त्यान्द्रो त्यतिबेला चुँडियो जतिबेला अकालमै, अनाहकमै आफ्नो पहिलो सन्तान गुमाउनुपर्‍यो।
 
वषौंदेखि गर्दै आएको कामना, जप्दै आएको स्तुति त्यतिबेला गलत सावित भयो जतिबेला अनेकौं दुःख कष्ट सहेर जन्माएको पहिलो सन्तानको रक्षा वषौंदेखिको व्रत र कामनाले गर्न सकेको थिएन। 

२०५२ साल फागुन १५ गते मेलगैरीमा मेरी जेईको जेठो सन्तान मेरो जेठो दाइ खडक केसी १५ वर्षकै उमेरमा मारिनु अनि जेईको श्रीमान मेरो वुवा विना कुनै गल्ती जेल जानुपरेपछि उहाँको व्रतमा पूर्णविराम लाग्यो। जसको रक्षा र हितको कामना गर्दै व्रत बसिन्थ्यो त्यही नभएपछि २०५३ सालदेखिका हरेक तीज र त्यसको व्रतमा अनास्था बढ्यो मेरी जेईको। 

ठूलो छोराको ज्यान गयो, श्रीमान जेल गएपछिका हरेक मिनेट, घण्टा, दिन, हप्ता, महिना र वर्ष मेरी जेईका लागि कष्टपूर्ण रहे पहिलो सन्तानपछिका हामी माइलो दाइ म र एउटी बहिनी केही गर्न सक्ने अवस्थामा थिएनौं। न हामी चुल्होमा सघाउन सक्ने थियौं न घाँस दाउरामा नै। २०५३ साल अघिका हरेक व्रतमा गरिने पुजा, आराधाना, राखिने मनोकाङ्क्षा, केवल पूजा, आराधाना, राखिने मनोकाङ्क्षामै सीमित रहे। 

व्रत टुङ्गयाउने बेला अँध्यारोमा जलाइएको बत्तीले न त्यसपछि उज्यालो दिन सक्यो न मेरी जेईको मुहारमा उज्यालो छर्न सक्यो। २३ वर्षसम्म निरन्तर जलाइएको बत्तिले तेल हालेको प्यालालाई समेत अँध्यारो बनाएर गुमनाम भएपछि मेरी जेईले अर्को अरु प्यालामा तेल्न हाल्ने, बत्ति जलाउने र प्याला मात्रै अँध्यारो बनाउने कुचेष्टा र आँट त्यसपछि कहिल्यै गर्नुभएन। 

आमाले व्रत बस्न छाड्दा दुईटी बहिनीहरु सानै थिए। उनीहरु बुझ्ने हुँदै गए। उनीहरुले तीज बुझे, जाने, मनाए तर व्रत कहिल्यै बसेनन्। उनीहरुले थाहा पाउने हुँदासम्म तीजमा न कोही व्रत बस्थ्यो न बत्ति नै जल्थ्यो। जेईले कहिल्यै पनि बहिनीहरुलाई तीजको व्रतको बारेमा बताउन चाहनुभएन। बहिनीहरुले तीजमा व्रत बस्नुपर्छ भन्ने अन्यत्रबाट जानेपछि पनि जेईले त्यसको वेवास्ता गर्नुभयो र बहिनीहरुलाई व्रतको लागि उत्प्रेरणा कहिल्यै दिनुभएन।

त्यसको परिणामस्वरुप बहिनीहरुले पनि तीजमा व्रत बस्ने चलनलाई जोडेनन् किनकी हाम्री जेईको चाहना छोरीहरुले तीजको व्रत नलिउन भन्ने थियो। निरक्षर मेरी जेईले तीजको व्रतप्रति गरेको विश्वासको खाँबो ढलेपछि त्यसलाई फेरि उठाउने त के हेर्नेसम्म पनि मन गर्नुभएको छैन। वषौंदेखि मान्दै आएको चलन, रितिरिवाजप्रतिको विश्वास एकैछिनको एउटा घटनाले बगाइदियो र मेरी जेईले व्रत बस्न छाड्नुभयो। 

यो पंक्तिकाकार आफ्नी जेई जस्तै तीजमा व्रत नबस्न कसैलाई आग्रह गर्दैन। यो एउटा चलन र विश्वास हो। व्रत बसेर कामना गरेका, इच्छाइएका सबै कुराहरु पूरा हुन्छन् भन्ने भ्रममा नपर्न भने यो पंतिकाकार सबैलाई आग्रह गर्दछ। सद्भावको यो एउटा पर्व व्रत बसेपनि नबसेपनी सबै मिलेर मनाउनुपर्छ। नेपाल अव धर्म निरपेक्ष राज्य भैसकेको अवस्थामा आ–आफ्नो धर्म, चलन, रितिरिवाज अनुसारका पर्वहरु मनाऔं। एकले अर्काको पर्वलाई सम्मान गरौं। परेको ठाउँमा सहयोग पनि गरौं। २०७२ सालको हरितालिका तीजको अवसरमा शुभकामना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell