PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गणेश थापालाई तत्काल निलम्बन गरी एन्फामा कार्यवाहक अध्यक्ष नियुक्त गर्न निर्देशन



गणेश थापालाई तत्काल निलम्बन गरी एन्फामा कार्यवाहक अध्यक्ष नियुक्त गर्न निर्देशन

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई तत्काल निलम्बन गरी एन्फा पदाधिकारी मध्येबाट तत्काल कार्यवाहक अध्यक्ष नियुक्त गर्न व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले खेल मन्त्रालयलाई आज निर्देशन दिएको छ। 

एन्फामा आर्थिक अनियमितता भएको देखिएकाले छानबिन अवधिभर अध्यक्ष थापासहित अनियमिततामा संलग्न अन्य चार पदाधिकारीको पद स्थगन गर्न गत असोज १२ गते नै लेखा समितिले मन्त्रालयलाई निर्देशन दिएको थियो। सो निर्देशन पालन गर्न अलमल नगर्न लेखा समितिले मन्त्रालयलाई पुनः निर्देशन दिएको हो।

'अनियमिततामा संलग्न देखिएका चार जना अध्यक्ष, कोषाध्यक्ष, महासचिव र निर्माण सम्बन्धी जिम्मा लिएका व्यक्तिलाई मात्रै निलम्बन गर्न भनेका हौँ,' लेखा समितिका सभापति जनार्दन शर्माले भने, 'कार्यवाहक अध्यक्ष चयन गर्न अलमल नगरियोस्। भ्रष्टाचारको विषयमा छानबिन गर्न निलम्बन गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्ध हुँदैन।'

समितिको बैठकमा नेपाली कांग्रेसका सभासद् धनराज गुरुङले भ्रष्टाचारको फोहरको चाङमा उभिएर एन्फालाई अग्लो देखिनु नपरेको प्रतिक्रिया दिए। 

राप्रपा*का सभासद् दीपक बोहोराले हठात्‌मा निर्णय गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्ध भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए। एन्फा अध्यक्ष थापा राप्रपा नेपालका मनोनीत सभासद् पनि हुन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा एन्फा अध्यक्ष गणेश थापाका दाजु हुन्। 

गणेश थापाभन्दा अगाडि एन्फाको नेतृत्व कमल थापाले गरेका थिए।
 
त्यसैगरी सभासद् भरत शाहले भ्रष्टाचारको गम्भीर विषयमा छानबिन गर्न निलम्बन गर्न निर्देशन हुँदा पनि किन कार्यान्वयन नभएको भन्ने प्रश्न उठाए। 

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन असोज १२ गते निर्देशन दिएको थियो।

समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो।

खेलकुद मन्त्री यसो भन्छन्
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले यो विषयमा कानुन व्यवसायीसँग छलफल गरिरहेको जानकारी दिए। खेल संस्थामा कारबाही राष्ट्रिय खेलकुद परिषद्‍मार्फत् हुनु पर्ने उनीहरुको राय रहेको उनले बताए।

'हामीले एएफसी (एसियाली फुटबल महासंघ) सँग पनि छलफल गरिरहेका छौँ', मन्त्री पौडेलले समितिको बैठकमा भने, 'अन्तर्राष्ट्रिय प्रतिबन्ध नहोस्, खेलाडीहरु मर्कामा नपरुन् भनेर हामी सचेत भएका हौँ'।'

'तैपनि लेखा समितिलाई तुरुन्त कारबाही गर्नुपर्छ भन्ने लाग्छ भने हामी गर्छौँ,' मन्त्री पौडेलले भने।    

कारबाही नगर्न क्याप्टेनहरुको आग्रह
राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा,  युवा टिमका क्याप्टेन विमल घर्तिमगर, महिला फुटबल टिमका क्याप्टेन चन्द्रा भण्डारी, राष्ट्रिय फुटबल प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीको संयुक्त हस्ताक्षरमा एन्फा अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीमाथि कारबाही नगर्न लेखासमितिलाई अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको भोलिपल्ट यस्तो निर्देशन दिइएको हो।

थापा लगायतलाई कारबाही विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध गर्ने चेतावनी उनीहरुले दिएका थिए।
ज्ञापन पत्रमा ‘लेखा समितिका एक सदस्यले पूर्वाग्रही ढंगले पटक पटक विभिन्न सञ्चार माध्यममा लेखा समितिको निर्णयभन्दा फरक किसिमको अभिव्यक्ति दिएको’ आरोप पनि लगाइएको छ।  

क्याप्टेनहरुको विज्ञप्ति पढ्नुस् पेज १  पेज २

(*सच्याइएको)

सम्बन्धित समाचार
एन्फामा यसरी भएको छ आर्थिक अनियमितता र भ्रष्टाचार (विस्तृत विवरण)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell