PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिना तयारी प्रधानमन्त्री र राष्ट्रपतिमा उम्मेदवारी दिएर गल्ती भयो : कांग्रेस केन्द्रीय सदस्य



बिना तयारी प्रधानमन्त्री र राष्ट्रपतिमा उम्मेदवारी दिएर गल्ती भयो : कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा  कतिपय केन्द्रीय सदस्यले काँग्रेसले बिना तयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर ठूलो गल्ती गरेको र यसमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे।

आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने क्रममा उनीहरुले सरकारका उच्च पद गुमाएर काँग्रेसलाई क्षति भएको तर्क राखेका छन् । 

केही केन्द्रीय सदस्यले भने नेकपा (एमाले)सँग लामो समयसम्म सहकार्य उचित नभएकाले उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्नु स्वभाविक भएको र लोकतन्त्रमा हारजित सामान्य भएको धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले बताए । 

उनीहरुले काँग्रेसको उम्मेदवारीले नै संविधानसभा बहिष्कार गरेर आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलहरु व्यवस्थापिका–संसद्मा उपस्थित भएको र यसले भविष्यमा काँग्रेसलाई राम्रो हुने तर्क गरेका छन् । 

बैठकमा आसन्न १३औँ महाधिवेशन तयारीका सम्बन्धमा समेत छलफल भएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिए । यसबाहेक केही केन्द्रीय सदस्यहरुले तराई–मधेसको आन्दोलनलाई गम्भीररुपमा लिएर सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । 

आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडाँैमा हुने काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न तयारी समिति गठन गरिनुका साथै संयोजकसमेत तोकिसकेको छ । 

आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा काँग्रेसले दिएको उम्मेदवारी सम्बन्धमा तीन शीर्ष नेताको आधिकारिक धारणा माग गरेका थिए । 

आज बैठकको सुरु मै केन्द्रीय सदस्यको त्यस्तो जिज्ञासाको सम्बोधन गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको उम्मेदवारीले राष्ट्रिय एकता झन बलियो भएको धारणा राखेका थिए। 

आज अपराह्नसम्ममा २० जना पदाधिकारी र केन्द्रीय सदस्यले धारणा राखेको मुख्य सचिव तिवारीले बताउनुभयो । बैठक मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell