PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनबाट ९८ हजार लिटर पेट्रोलसहित ट्याङ्कर काठमाडौँ भित्रियो



चीनबाट ९८ हजार लिटर पेट्रोलसहित ट्याङ्कर काठमाडौँ भित्रियो

  • सविन मिश्र/मनोज सत्याल -
काठमाडौँ : चीनले अनुदानमा नेपाललाई दिएको पेट्रोलको पहिलो लट सोमबार साँझ काठमाडौं भित्रिएको छ। नेपाल आयल निगमले १२ वटा ट्यांकरमा ९७ हजार नौ सय लिटर पेट्रोल सोमबार साँझ काठमाडौं ल्याइपुर्‍याएको हो ।
 
यी ट्यांकर शुक्रबार बिहान काठमाडौँको थानकोटबाट धादिङको गल्छी हुँदै रसुवाबाट तिब्बतको केरुङ पठाइएको थियो। ल्हासाबाट केरुङसम्म चीनले नै तेल ढुवानी गरेर नेपाली ट्यांकरमा भरिदिएको हो।

पटक-पटक गरी आइतबार बेलुकासम्म १२ वटै ट्यांकर रसुवागढी भन्सारबाट नेपाल छिरेका हुन्। रसुवाको धुन्चे र नुवाकोटको त्रिशुली बजारमा चीनबाट तेल लिएर आएका ट्यांकरका चालकहरुलाई भव्य स्वागत गरिएको थियो। 
 
चीनले कूल हजार टन तेल दिन लागेको हो। यसमध्ये सोमबार ७३.५ टन तेल काठमाडौं आइपुगेको हो। बाँकी पेट्रोल पनि केही दिनमै ल्याइसक्ने तयारी निगमले गरेको छ। काठमाडौं आइपुगेको तेल सोमबार थानकोट स्थित डिपोमा केरुङबाट आएकै ट्यांकरमा राखिने र मंगलबार बिहानमात्रै खन्याइने छ। 

निगमले थप २६ वटा ट्यांकर केरुङ पठाइसकेको छ। यसमध्ये २२ वटा सोमबार र चार वटा आइतबार केरुङ गएका हुन्। आइतबार पठाइएका चार वटा ट्यांकर सोमबार साँझसम्म रसुवागढी फर्किसक्ने योजना छ। केरुङमा चीनले थप १५० टन पेट्रोल नेपाललाई दिन तयारी अवस्थामा राखेको जानकारी दिइएको छ। 
 
चीनले दिएको तेल युरो ४ मापदण्डको छ । यो तेल प्रयोग गर्दा सवारी साधनको आयु बढ्ने र माइलेज पनि धेरै दिन्छ । 
 
भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालले चीनबाट तेल ल्याउन औपचारिक सम्झौता गरिसकेको छ । नेपालमा पेट्रोलको चरम अभाव भएपछि चीनले हजार टन अनुदानमा उपलब्ध गराएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell