PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​‘सुनकली’लाई युरोपमा थप दुई अन्तर्राष्ट्रिय अवार्ड



​‘सुनकली’लाई युरोपमा थप दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ : मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित पत्रकार भोजराज भाटद्वारा निर्देशित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

इटलीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मनोमनमा परेका ६ वटा फिल्महरुलाई उछिन्दै मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो। ५३ देशका डेढ सय बढी फिल्महरु यस फेस्टिबलमा प्रर्दशनी गरिएको थियो।

आइतबार अपराह्नको मिलान–समापन समारोहमा फेडेरेशन अफ इन्टरनेश्नल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट)का अध्यक्ष फ्रान्को अस्कानीले ‘सुनकली’का निर्देशक भोजराज भाटलाई विजेता ट्रफी हस्तान्तरण गरेका थिए। विभिन्न सात विधामा उत्कृष्ट भएका विजेता निर्देशक र भीआईपी पाहुुनालाई इटालियन सेनाले राष्ट्रिय गीतको धुन बजाएर स्वागत गरेको थियो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फिक्स्ट फेस्टिबलले वर्षेनी विभिन्न १६वटा मुलुकमा स्पोर्टस् फिल्म फेस्टिबल गर्ने गर्छ। र, सबैतिर फेस्टिबल गरिसकेपछि वर्षको अन्त्यमा इटलीको मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनौट गरी फिक्स्ट फेस्टिबल आयोजना गर्ने चलन छ। फिक्स्टको ग्राण्ड फाइनलमा पुरस्कृत भएका फिल्महरुलाई १६ वटै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा रिले गर्ने आयोजकले बताएका छन्।

“फिक्स्टजस्तो ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिबलमा मनोनयनमा पर्नुु नै ठूूलो उपलब्धि हो,” पुुरस्कार थापेपछि निर्देशक भाटले भने, “मनोनयनमा परेका अन्य फिल्म हेर्दा हामीले मुख्य ट्रफी पाउँछौं जस्तो लागेको थिएन, तर जब पुरस्कार समारोहमा सुनकलीको भिडियो देखाएर मुख्य अवार्ड पाएको घोषणा गरियो, निकै खुशी लाग्यो। त्योभन्दा ठूलो कुरा, नेपाली डकुमेन्ट्री सुनकलीलाई अब संसारभर फिजाउने सुनौलो अवसर पाएका छौं।”

झण्डै ५०० जना विशिष्ट पाहुना आमन्त्रित पुुरस्कार वितरण समारोहमा सुनकलीको नाम घोषणा गरिएपछि सबै उठेर निर्देशक भाटलाई ताली पिटी बधाइ दिएका थिए। “प्रविधिका हिसाबले अन्य फिल्म निकै गुणस्तरीय थिए, उनीहरुको लगानी १० करोड रुपियाँ बढी थियो । निकै न्युन लगानीमा बनेको सुनकलीलाई जुरीले अवार्ड दिदा कथा र विषयवस्तुलाई पनि साच्चिकै कदर हुँदो रहेछ भन्ने महसुस भयो,” निर्देशक भाटले आफ्नो अनुभव सुनाए।
 
५० मिनेट लामो उक्त डकुमेन्ट्रीमा पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी साथीहरुको फुटबल कथालाई उतारेका छन्।

यसैबीच सुनकलीले गत साता जर्मनमा सम्पन्न फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो। माउण्टेन विषयवस्तुका झण्डै डेढ सय फिल्महरु सहभागी भएको उक्त फेस्टिबलमा सुनकली कथा विशुद्ध नौलो र सबैलाई प्रेरणादायी भएकोले पुरस्कृत गरिएको आयोजकले बताएका थिए।

जर्मनी र इटली गरी सुनकलीले अहिलेसम्म आठ वटा अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरिसकेको छ । केही समयअघि अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेश्नल फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’ पाएको थियो।
 
गत मंसिरमा सम्पन्न काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल ‘किम्फ’ को १२ औं संस्करणको पहिलो ओपनिङका रुपमा ‘सुनकली’ को ‘वर्ल्ड प्रिमियर’ भएको थियो ।

किम्फमा ‘सुनकली’ ले एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड पनि पाएको थियो । त्यसलगत्तै ‘सुनकली’ ले स्लोभानियाको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’ मा जुरी अवार्ड र टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell