PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जग्गा धितो राखेर पोल ठडिएको पाँच वर्ष पुग्दा पनि धादिङको किरानचोकमा बलेन बत्ती 



पहिलोपोस्ट

जग्गा धितो राखेर पोल ठडिएको पाँच वर्ष पुग्दा पनि धादिङको किरानचोकमा बलेन बत्ती 

  • उपेन्द्र जम्कट्टेल-
धादिङ: गजुरी गाउँपालिका किरानचोकका लिलानाथ ढकालले गाँउमा बिजुली आउने आशामा जग्गा धितो राखेर ऋण निकाले। त्यो ऋण विद्युतीकरणकै लागि लगानी गरे।  

पाँच वर्ष अगाडि विद्युतका लागि पोल झर्दै गर्दा उनलाई लागेको थियो बिजुली अब छिट्टै आउने छ।  पोल ठडियो, तार टाँगियो। तर, पाँच वर्ष वित्दा पनि बिजुली भने आइपुगेन। 

गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ (साविकको किरानचोक गाविसमा) विद्युतीकरणका लागि २०६९ सालमा तत्कालीन ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीको प्रतिवद्धता अनुसार ९०/१० को कार्यक्रम स्वीकृत भएको थियो। 

नेपाल सरकारको ९० प्रतिशत स्थानीय जनताको १० प्रतिशतको लगानीमा सुरु भएको यो योजनाले अहिलेसम्म पूर्णता पाएको छैन। एक हजार ३०० घरधुरी रहेको किरानचोकका स्थानीय अझै पनि टुकीकै भरमा छन्। ‘गाउँमा विद्युतका पोल ठडिँदै गर्दा उज्यालो आउने आशा लागेको थियो, तर अहिलेसम्म बिजुली आइपुगेन,’ ढकालले भने, ‘योजनालाई सफल पार्नका लागि जग्गा बैंकमा धितो राखेर स्थानीयले ऋणसमेत निकाले। एकमुष्ट ९० लाख रुपैयाँ धरौटी स्वरुप बुझाइयो। तर अझै विद्युत बलेन।’ 

नेपाल सरकारले स्वीकृत गरेको ८ करोड १० लाखको विद्युतिकरण परियोजना सञ्चालनका लागि समुदायले ९० लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने थियो। गाउँलेले ५ हजार १०० रुपैयाँका दरले ४५ लाख रुपैयाँ त उठाए तर बाँकी रकमको जोहो गर्न समस्या पर्‍यो। स्थानीय सात जनाले जग्गा धितो राखेर ४५ लाख रुपैयाँ ऋण निकाले। 

तत्कालीन सम्वृद्धि विकास बैंक (हालको प्रभु बैंक)मा जग्गा धितो राखेर ढकालसहित सूर्य तामाङ, कृष्णलाल श्रेष्ठ, चन्द्रबहादुर वललगायत सात जनाले ऋण निकालेका थिए। 

साविकको किरानचोक गाविसमा एक साथ विद्युत बाल्ने जिम्मासाथ जय दुर्गे जिभी प्रालिले ठेक्का पाएका थिए। ‘योजना अनुसार काम भएको भए ३ वर्ष अगाडि नै बत्ती बल्नुपर्ने थियो,’ स्थानीय बद्री जम्मकट्टेलले भने, ‘ठेकेदारको लापरवाहीले अहिलेसम्म गाउँमा बिजुली पुग्न सकेको छैन।’ 

‘विद्युत नआउँदा गाडिएका पोल ढल्न थालेका छन्, तार चुँडिएका छन्,’उनले भने। पटक पटक समितिले जानकारी दिँदा पनि काममा लापरवाही गरेको समितिका एक सदस्यले बताए। ‘हामीले पटक पटक ठेकेदारलाई ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘तर पनि ठेकेदारले ढिलाई गरिरहेकोछ, विद्युत प्राधिकरणका कर्मचारीहरुले  पनि चासो दिएका छैनन्।’ 

यता ठेकेदार कम्पनीका विजय अर्याल भने विद्युत प्राधिकरणका कारण विद्युत प्रसारण गर्न नसकिएको बताउँछन्। ‘हामीले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेका छौँ, विद्युत प्राधिकरणको ढिलाईका कारण विद्युत प्रसारण गर्न नसकिएको हो,’ उनले भने, ‘विद्युत प्राधिकरणले समयमै विद्युत ट्रान्सफर्मरमा जडान गर्ने मिटरहरु उपलब्ध नगराउँदा ढिलाइ भएको हो।’ 

उनले थपे, ‘हामीले १५ वटा विद्युत ट्रान्सफर्मरमा बत्ती बालेर देखाएका छौँ, प्रसारण रोकेर राखेका छौं, विद्युत प्राधिकरणका कर्मचारीहरुले  चासो नदिँदा प्रसारण सुरु गर्न सकेका छैनौँ।’ 

विद्युत प्रसारणका लागि विद्युतको तार छोइएका सडक किनारका रुखहरु काट्ने काम सुरु गर्न गाउँपालिकालाई आग्रह गरेको उनले बताए। ‘हामी छिट्टै गाउँमा विद्युत पुर्‍याउँछौँ,’ उनले भने।

गजुरी गाउँपालिका वडा ८ का अध्यक्ष राजकुमार ढुंगाना ठेकदारकै लापरवाहीका कारण परियोजना अलपत्र गरेको बताउँछन्। 'हामीले पटकपटक ताकेता गर्‍यौं। तर, ठेकेदारले समयमै काम गर्न आलटाल गरिरहेको छ,' वडाध्यक्ष ढुंगानाले भने, 'विद्युत प्राधिकरणले विद्युत जडान गर्न तयारी गरिरहदाँ ठेकेदारहरु अहिले सम्पर्कमा छैनन्।'

धादिङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell