PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुचुक्क कोठामा कोचेको कारण 'श्रीदेवी' नामको भालुको मृत्यु

कुचुक्क कोठामा कोचेको कारण 'श्रीदेवी' नामको भालुको मृत्यु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फोहोर र साँघुरो ठाउँमा राखेका कारण श्रीदेवी नामको एक भालुको मृत्यु भएको छ। राम्रो नाच्ने भालुको रूपमा चिनिने 'श्रीदेवी'को सदर चिडियाखाना जाउलाखेलमा कुचुक्क परेको ठाउँमा राखिएको कारण मृत्यु भएको पशु अधिकारवादीले जनाएका छन्।

मनोरञ्जनमा प्रयोग गरिरहेको अवस्थामा गत वर्षको डिसेम्बरमा तराईबाट उद्धार गरिएको दुई भालुमध्ये एकको मृत्यु भएको हो। १९ वर्षको भाले भालु रंगिला र १७ वर्षको पोथी भालु श्रीदेवीलाई उद्धार गरी चिडियाघरमा ल्याएकोमा केही हप्तामै श्रीदेवीको मृत्यु भएको हो।

कलेजोमा समस्या देखिएको र जन्डिसका कारण श्रीदेवीको मृत्यु भएको जेन गुडअल इन्स्टिच्युटका निरज गौतमले जानकारी दिएका छन्। साँघुरो ठाउँ र सरसफाइको कमीले रोगको आक्रमणमा परी श्रीदेवीको मृत्यु भएको उनले बताएका छन्।

'यसले देखाउँछ हाम्रा कामहरू व्यर्थ भएका छन्,' गौतमले भने। जेन गुडअल र विश्व पशु संरक्षण अधिकार समूहले नेपालमा रहेका भालुहरूलाई भारतमा स्थान्तरण गर्न लबिङ गर्दै आएको छ।

पशुअधिकारवादीहरुले उद्धार गरिएपछि ती भालुलाई भारतको आग्रामा राख्न सुझाव दिएका थिए। आग्राको हावापानी उपयुक्त हुने उनीहरूको सुझाव थियो। सरकारले भने चिडियाघरमा सम्पूर्ण सुविधा भएको र पशुअधिकारवादीको आरोप निराधार भएको बताएका छन्।

पशु स्थान्तरणबारे कानुनी बाधाहरू भएकाले भन्ने बित्तिकै स्थान्तरण गर्न नसकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका डेपुटी डाइरेक्ट गोपाल प्रसाद भट्टराईले बताए। चिडियाखानामा राम्रो हेरविचार भएको उनले दाबी गरेका छन्।

स्लोथ बियर प्रजातिका यी भालुहरू क्रिटिकल्ली इन्डेन्जर्ड स्पेसिजमा पर्छन्। यी प्रजातिका भालुहरू भारत, नेपाल, श्रीलंका र भुटानमामात्र पाइन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell