PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीमा अर्को सुन कान्डको तरङ्ग : साढे ३३ किलो सुन तस्करीमा प्रहरीकै थियो संलग्नता?



सविन ढकाल

प्रहरीमा अर्को सुन कान्डको तरङ्ग : साढे ३३ किलो सुन तस्करीमा प्रहरीकै थियो संलग्नता?
फाइल फोटो

काठमाडौं : दुवईबाट गैर कानुनीरुपमा भित्रिएको ३३ किलो सुन प्रकरणले नेपाल प्रहरी नै 'बदनाम' भएको वर्ष दिन पुगेलगत्तै अर्को सुन काण्डमा पनि प्रहरी संगठन मुछिएको छ।

२०७३ पुस २१ गते दुवईबाट तस्करी गरेर ल्याएको ३३ केजी सुन बरामद हुँदा प्रहरी नराम्ररी मुछिएको थियो। सुन तस्करीमा प्रहरी नै संलग्न रहेको भन्दै विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्री अनुसन्धानमा तानिएका थिए। यद्यपि, काठमाडौं जिल्ला अदालतले खत्रीलाई सफाई दियो। 


उस्तै अर्को प्रकरण

केही महिना अगाडि फेरि यस्तै घटना दोहरिएको छ। दुवईबाटै तस्करी भएर सुन भित्रिएको प्रहरीले त्यतिखेर चाल पायो जब एक जना व्यवसायीको हत्या भयो। ३३ केजी ५ सय ग्राम सुन तस्करीको यो काण्डमा फेरि प्रहरी नै संशयको घेरामा परेको छ।
 
मोरङ उर्लावारीका ३५ वर्षीय सनम शाक्यको हत्या भएपछिमात्रै सुन भित्रिएको खुलासा भयो। यो हत्यासँग जोडिएको सुन तस्करीको प्रकरणमा पनि प्रहरीको संलग्नता त छैन? नभए कसरी सहजै भित्रियो सुन? अनुत्तरित प्रश्नको उत्तर खोज्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ।

तस्करी कहिले भएकोसमेत खुल्न नसकेको यो घटनाको विषयमा छानविन गर्न नेपाल प्रहरीले समिति नै गठन गरेको छ। प्रहरी हेडक्वाटरले डिआइजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। 

पहिलोपोस्टसँगको कुराकानीमा न्यौपानेले भने, 'घटनाको थप गम्भीरता हेरेर छानविन समिति गठन गरिएको हो।'

डिआइजी रेग्मी नेतृत्वको गठित समितिमा एसएसपी वसन्त लामा, डिएसपी सुदीप पाठक र इन्सपेक्टर भीष्म हुँमागाई पनि छन्। 

डिआइजी न्यौपानेले भने, 'घटनामा कस्को संलग्नता छ त्यो अनुसन्धानपछि नै खुल्छ। अहिले नै केही भन्ने अवस्था छैन।'


सुनसँग जोडिएको हत्या

मोरङको उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव गत फागुन २१ गते भेटियो। 

शक्यलाई उर्लाबारीस्थित सोल्टी खोलासँगैको जंगलमा यातना दिएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो। 

शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न भारत लैजाँदै थिए। प्रहरीले विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शाक्यको शव फेला पार्‍यो। प्रहरीले ३० वर्षीय गाडी चालक ३० टेकराज मल्ललाई समात्यो। मल्ल काभ्रेका हुन्।

त्यस्तै बा १ च ५३९५ नम्बरको अर्को गाडीलाई नियन्त्रणमा लियो जसमा थिए उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की। दुवै पक्राउ परे। 

गाडीभित्र प्रहरीले १२ भोल्टका दुईवटा ब्याट्री, डीसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड लगायतका सामाग्री बरामद गरेको थियो। 

उनीहरुले शाक्यलाई करेन्ट लगाउँदै मारेको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्‍यो।
 
प्रहरीको अनुसन्धानले तस्करी भइसकेको सुन काठमाडौंबाट हराएपछि हत्यासम्मको घटना भएको देखायो। त्यसैको विवादले शाक्यको हत्या भएको अनुसन्धानमा खुलेको हो। सँगै, घटना प्रहरीसँगको मिलेमतोभन्दा बाहिर हुन नसक्ने देखिएपछि हेर्डक्वार्टर नै सक्रिय भएर अनुसन्धान थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell