PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

धमाधम चोख्खिँदै गुन्डा नाइकेहरु, पर्शुराम बस्नेतले पनि चार वर्षपछि पाए सम्पति शुद्धिकरणमा सफाई


धमाधम चोख्खिँदै गुन्डा नाइकेहरु, पर्शुराम बस्नेतले पनि चार वर्षपछि पाए सम्पति शुद्धिकरणमा सफाई
काठमाडौं: गुन्डा नाइके पर्शुराम बस्नेतले चार वर्षपछि सम्पति शुद्धिकरणको मुद्दामा सफाई पाएका छन्। 

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय न्यायाधीश रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको हो। 

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। बस्नेतलाई विभागले ११.४१ करोड रुपैयाँ अवैध सम्पति रहेको दावी गरेको थियो। 

यसअघि दीपक मनाङे र चक्रे मिलनले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाई पाइसकेका छन्। अब गणेश लामा र अभिषेक गिरीको मात्र फैसला हुन बाँकी छ। 

पर्शुराम बस्नेत एमाले कार्यकर्ता हुन्। मुद्दा दायर हुँदा उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा थिए।

मुद्दा दायर गरिएका पाँच गुन्डा नाइकेमध्ये गणेश लामापछि सबैभन्दा धनी देखिएका थिए बस्नेत। 

उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा खुलेको थियो। मोरङमा उनकी श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा भए पनि ती सबै बिक्री गरिसकेको देखिएको थियो। 

उनका नाममा तीन वटा गाडी र तीन वाट मोटरसाइकल खुलेको थियो। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा छ। 

पर्शुरामका नाममा नेपाल बजार इन्टरनेसनलमा २१ हजार कित्ता सेयर फेला परेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट