PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रङसँग खेल्दै ज्वाला : कला बेचेर अनाथका लागि कम्प्युटर



स्वेच्छा राउत

रङसँग खेल्दै ज्वाला : कला बेचेर अनाथका लागि कम्प्युटर

काठमाडौं: हातमा रङहरू लत्पतिएका छन्। लुगामा रङका छिटाहरू। भुइँमा सानासाना क्यानभास छरपस्ट। छरिएका रङका डिब्बा र ब्रसहरु। कोठाको भित्ता वरपर सजाइएका पेन्टिङहरु। 

गएको शनिवार देखिएको ज्वाला ढकालको कोठाको दृश्य हो यो। मैतीदेवीबाट केहीभित्र पर्छ उनको कोठा। अरू दिन पनि सायद योभन्दा फरक नहोला। देख्दा र उनको कुरा सुन्दा अस्तव्यस्तता प्रतीत हुन्छ। तर, यसैबीच ज्वाला एउटा सपनालाई रङ्गिन बनाउन लागि परेकी छिन्। यो सपना उनले आफ्ना लागि भने देखेको होइन।

मस्ती, घुमघाम, पढाइबाट ब्रेक वा ब्रिजकोर्ससहित प्लस टुको तयारी, एसइइ सकेर बसेका प्राय विद्यार्थीको हतारो हो यो। ज्वाला भने एसइइ परीक्षा सक्किएलगत्तै दिन रात यसरी नै रङहरु खेल्दै छिन्।



०००

ज्वाला ढकाल २०७४ मा सेन्ट मेरिज स्कुलबाट कक्षा १० को परीक्षा दिएर बसेकी विद्यार्थी हुन्। चित्रकला उनको रहर। आफ्नो चित्रहरूको प्रदर्शनी आयोजना गर्न चाहन्थिन्। ‘मलाई लागेको थियो एग्जिबिसन सजिलो हुन्छ। बनाएका चित्रहरू प्रदर्शनमा राख्ने न हो। तर, यति गाह्रो काम रहेछ बल्ल बुझ्दै छु,’ रहर पूरा हुँदैगर्दाको व्यस्तताबारे सुनाउँछिन् उनी। साथै, एकल चित्रकला प्रदर्शनीको तयारीले उनमा रोमाञ्चकता पनि थपेको छ।

वैशाख २२ गतेदेखि २८ गतेसम्म ज्वाला ढकालका सय चित्रहरू बबरमहल आर्ट काउन्सिलका भित्ताहरूमा राखिनेछन्। ७ दिनसम्मका लागि हल बुकिङ, बनाएको चित्रहरू फ्रेमिङ, बनाइरहेको चित्र सक्काउने मेलो। सबैभन्दा महत्त्वपूर्ण काम त करिब ४० चित्रहरू तयार गर्न बाँकी छन्। ‘अहिले दिनमा चारदेखि पाँचवटासम्म बनाउन मिहेनत गर्दैछु’, यति भनिराख्दा पनि ज्वाला बनाइरहेको ताज महलको चित्रमा रङ भर्दै थिइन्। कल्पना गर्दै चित्र कोर्दै गर्न तीनदेखि चार घण्टासम्म लाग्छ उनलाई। हेरेर बनाउन भने केही थप समय। 



ज्वालाको चित्रकलासँगको लगाव र लगावसँग जोडिएको सपना सानो भने पक्कै छैन। ननिदाई देखेको सपना र त्यही सपना पूरा गर्न माया मारेको निद्रा। प्रदर्शनीबाट २० देखि ३० लाखसम्म नगद सङ्कलन गर्ने योजना छ उनको। भन्छिन्,‘थाहा छैन सकिन्छ कि सकिँदैन।' 

आफ्नो कला बेचेर लाखौँ जम्मा गर्ने योजना। त्यो पैसा केमा खर्च गर्ने होला त? घर, गाडी, घुमघाम, महङ्गो कलेज वा अन्य केही?

‘म अभाव र अप्ठ्यारा बीच हुर्किएकी हुँ। त्यसैले आजभोलि त्यो अवस्था कसैले भोग्न नपरोस् भन्ने चाहन्छु। अभावमा रहेकाहरुको आवश्यकता पूरा गर्न चाहन्छु,’ १६ वर्षीया बालिका अठोटसहित बोलेको सुन्दा पहिलोपटक भेट्नेलाई अस्वभाविक लाग्न सक्छ। तर, ज्वालाको आत्मविश्वास र प्रतिभा साँच्चै प्रशंसनीय छ। भित्ता र दराजहरूमा सजाइएका प्रमाणपत्र, प्रशंसापत्र, ट्रफी र मेडलहरूले  त्यो कुराको पुष्टि गर्छ। छोरीसँगको कुराकानी सुनेर बसेकी आमा होमकुमारी भट्टराई बोल्छिन्, ‘बाहिर देखाएका केही हुन्। लाज लाग्छ भनेर सबै लुकाएर राखेकी छ,’ यति भनिसक्दा उनले नजिकै पत्रिकाले छोपेर राखेको प्रशंसा र प्रमाण पत्रहरूको खात देखाउँछिन्। 

आमा र आफूभन्दा तीन वर्ष ठूली दिदीसँग हुर्किएकी उनी आफूले झेलेको पारिवारिक समस्या, अभाव र दु:खका कथाहरु सुनाउन भने चाहन्नन्। 'सुन्नु र भोग्नुमा धेरै फरक हुन्छ। जति पनि अप्ठ्याराहरु आए मेरी आमाले जुध्नुपर्‍यो। उहाँको साहसको कथा सुनाएर सकिँदैन।' उनी आमाले देखाएको आत्मविश्वासकै कारण आफू दह्रो हुन सकेको  तर्क राख्छिन्। नजिकै बसिरहेकी आमा होमकुमारी बोल्छिन्,'यसको आँसु नै झर्दैन। जस्तोसुकै अवस्थामा पनि हाँसिरहन्छे।' सबैसँग नम्र हुनु र हाँसेर बोल्नुकै कारणले कक्षा ९ मा उनले 'लिडरसिप' गुमाइन्। स्कूलकी शिक्षिकाले भनेकी थिइन‍्- यु आर टू फ्रेन्ड्ली विथ अदर्स। तिमीले लिडरसिप सम्हाल्न सक्दैनौ।

०००
स्कुलमा रहँदाको एउटा समय। प्रोजेक्टका लागि कम्प्युटरको प्रयोग अनिवार्य थियो। तर, ज्वालाको घरमा कम्प्युटर थिएन। उनी स्कुलको प्रोजेक्ट सकाउनको लागि साइबरमा घण्टौं पालो कुर्थिन्। साइबर धाउनु वा स्कुलको ल्याबमा समय बिताउनुको विकल्प उनीसँग थिएन। ’घरमा कम्प्युटर छैन भन्न अप्ठ्यारो लाग्थ्यो। तर, अभाव महसुस त हुन्थ्यो नि,’ केही वर्ष अघिको कुरा सम्झन्छिन्। अभावको त्यो अनुभूतिकै कारण उनको चित्रकला प्रदर्शनीको योजना खाका फराकिलो भयो। उनले आफ्नो चित्र प्रदर्शन गरेर अनाथ बालबालिकाका लागि कम्प्युटर ल्याब स्थापना गर्ने भइन्। उनको लक्ष्य छ कम्तीमा पाँचवटा कम्प्युटर प्रयास नेपाल नामक संस्थालाई दिने।



‘पहिले त प्रदर्शनी गर्छु र त्यसबाट उठेको रकम अनाथ आश्रमलाई दिन्छु भन्ने लागेको थियो। तर, ती बालबालिकाले अभावका कारण विज्ञान र प्रविधिको संसारबाट टाढा हुन नपरोस् भन्ने लाग्यो,’ आफ्नो महत्वकांक्षी योजनाको सुरुवातबारे प्रष्ट्याइन्।

बालुवाटारस्थित प्रयास नेपाल गैर सरकारी संस्था हो। जुन संस्थाका बालबालिकालाई उनी सहयोग गर्न चाहन्छिन्। ३२ अनाथ बालबालिकाले आश्रय पाएको आश्रममा स्कूले दिनदेखि समय बिताउन रमाइलो लाग्थ्यो ज्वालालाई।

’आफ्नो बिदाको दिन उनीहरूको टिचर बन्न जान्थें’, आफूले सिकाएको चित्रकला र हस्तकला आश्रमको कोठाहरूमा सजाएको सुनाउँदा दङ्ग देखिन्छिन्। र थप्छिन्, ’त्यहाँका भाइ बहिनीको सिक्ने र गर्ने इच्छाशक्ति देखेर लाग्यो उनीहरूले सिक्नको लागि अझ बलियो माध्यम पाउनु पर्छ र त्यो माध्यम कम्प्युटर र इन्टरनेट हुन सक्छ।’ यसरी उनको चित्रकला प्रदर्शनीको सोच र प्रयास नेपालका बालबालिकामा कम्प्युटरको पहुँच पुर्‍याउने सोच संयुक्त रूपमा एउटा अभियान बन्यो।

०००
ज्वाला ढकालको सपनाको क्यान्भास कलमको धर्सा र रङहरुमा मात्र सीमित भने छैन। उनी अक्षरहरू पनि उसैगरी श्रृङ्गार्छिन्। कक्षा एकदेखि विभिन्न पत्रपत्रिकामा विचार र लेखहरू प्रकाशन गराएकी उनले कक्षा ४ मा पढ्दै 'नेचर' नामको किताब प्रकाशित गराइन्। ज्वालाले 'घोस्ट स्टोरिज' र 'द लास्ट स्लिप' नामक दुई पुस्तक अनुवादसमेत गरिसकिन्। 'नेचर २' र 'एड्भेन्चर अफ अ वन्डर गर्ला' उनको प्रकाशन हुन तयार गरिएका दुई पुस्तक हुन्।



'कलात्मक ढङ्गबाट भनिने कुराहरूले मान्छेलाई चाँडै क्लिक गर्छ जस्तो लाग्छ। त्यसैले पनि चित्र र लेखहरूमार्फत मेसेज कन्भे गर्न कहिले पनि गाह्रो लाग्दैन,' उनी आफ्नो कुरा राख्छिन्।    
                           
कक्षा १ मा पढ्दादेखि नै रेडियो नेपाल, गोर्खा एफएममा बाल कार्यक्रम सञ्चालन गरेकी थिइन् उनले। उपलब्ध अवसर र हौसलाहरूले आफूलाई आत्मविश्वासी बनाएको विश्वास राख्ने ज्वाला चाहन्छिन् कुनै बालबालिका अवसर र माध्यमको अभावबाट नगुज्रिउन्। त्यसैले त प्लसटुको लागि ब्रिजकोर्स छोडेर पेन्टिङ ब्रस समातेकी छिन्।

'डाक्टर बन्ने लक्ष्य छ। त्यसैले अबको दुई वर्ष आफ्नो बेस बलियो बनाउनमा लगाउनु पर्छ। एग्जिबिसन सकिएपछि पढाइको लागि समय छुट्याउँछु,' उनी आगामी योजना सुनाउँछिन्। थपिन्, 'डाक्टर भएन भने आर्मी वा सेक्सन अफिसर बन्ने सपना छ। चित्रकला त प्यासन हो जता जे गरे पनि छोड्दिन।' 


०००
'मलाई पेन्टिङमा एकदम धेरै रहर छ तर मेरो आमाले मलाई आजसम्म सिक्न पाठाउनु भएन,'- ज्वालाले स्टेजमा गएर यति बोलिन्। दर्शकको रूपमा उपस्थित आमा होमकुमारीलाई निकै अप्ठ्यारो लाग्यो। उनले पहिलोपटक छोरीलाई पेन्टिङ सिक्न पठाउनेबारे सोचिन्। होमकुमारी भन्छिन्, 'त्यो बेलामा मेरी अबोध छोरीले त्यति नबोलेको भए सायद आज मैले उसले कोरेको चित्र हेरेर गर्व गर्ने ठाउँ हुन्नथ्यो।' 



दीपक कुँवरसँग १५ दिनको तालिम लिइन् ज्वालाले। तालिम, कल्पनशीलता र मिहेनतको रङ गाढा हुँदै गयो। र आज उनी १६ वर्षको उमेरमै १०० चित्रहरू प्रदर्शनमा गर्ने सामर्थ्य राख्ने भइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell