PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शिवानी सिंह थारुको 'काठमाडौंमा एक दिन' सार्वजनिक, आफू एक्लैले गरिन् लोकार्पण

शिवानी सिंह थारुको 'काठमाडौंमा एक दिन' सार्वजनिक, आफू एक्लैले गरिन् लोकार्पण


काठमाडौं : सामान्यतया पुस्तक विमोचन लेखकसहित केही अग्रज लेखकहरुबाट गराइन्छ। तर सञ्चारकर्मी शिवानी सिंह थारुको पहिलो उपन्यास 'काठमाडौंमा एकदिन' उनी एक्लैले लोकार्पण गरिन्।

मङ्गलबार काठमाडौंमा पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा थारु र साहित्यकार अमर न्यौपानेले किताबबारे अन्तर्क्रियासमेत गरे। न्यौपानेले पुस्तक, विषय उठान, पात्रहरुको चयन, भाषिकाको प्रयोग लगायत विषय सम्बन्धित प्रश्नहरु राखेका थिए।

शिवानीले ९ वर्षको अध्ययन र उपन्यास लेखनको अनुभवसहित ती प्रश्नहरुको जवाफ दिइन्। उपन्यास बारे शिवानीले भनिन्,'यो किताब मैले लेखें र यो किताबले मलाई र म आफैलाई चिनायो। त्यसैले यहाँ लिने र दिने दुबै प्रक्रिया संलग्न छ।'

उनले आफू प्रत्यक्ष, अप्रत्यक्ष रुपमा राजनीतिक घटनाक्रमहरुसँग जोडिएको कारण आफूले सोही विषयमा लेख्नु उपयुक्त हुन्छ भन्ने महसुस गरेको सुनाइन्। 'मैले अरु कुनै विषयमा लेखेको भए सायदै यति निरपक्ष भएर लेख्न सक्थें।' 

केही समयको प्रचारप्रसारसहित पुस्तक ९ वर्ष अघि सुरु लेख्न सुरु गरेको शिवानीको कथन छ। सशस्त्र प्रहरी पात्र केन्द्रित उपन्यासका लागि उनले लामो समय नेपालगञ्जमा बिताइन्। पेशाले सञ्चारकर्मी उनले आफूले सोही सेटिङमा अर्को पुस्तक पनि लेख्न सक्ने जानकारी दिइन्। 

'काठमाडौंमा एक दिन' प्रकाशनले आफूमा पनि उत्साह थपेको प्रकाशक अजित बरालले सुनाए। भने,'सधैं प्रकाशकलाई उत्साहित बनाउने पुस्तक आउँदैनन्। तर योपटक धेरैपछि त्यस्तो भयो।'  पुस्तकले पठन संस्कृतिमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास उनले व्यक्त गरे।

फाइन प्रिन्टले प्रकाशन गरेको ३४६ पेजको पुस्तकको बजार मूल्य ४५८ रुपैयाँ तोकिएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell