PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारत बदलिएको छ, प्रदेश २ सरकारमा वाम गठबन्धनलाई पनि सहभागी गराउन सक्छौं : शरतसिंह भण्डारी



भारत बदलिएको छ, प्रदेश २ सरकारमा वाम गठबन्धनलाई पनि सहभागी गराउन सक्छौं : शरतसिंह भण्डारी

शरतसिंह भण्डारी मधेसकेन्द्रित दलहरु एकीकृत भएर बनेको पार्टी राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भारत भ्रमणमा नेपाली प्रतिनिधि मण्डलका सदस्य भएर दिल्ली गएका भण्डारीले भारत बदलिएको महसूस गरे। पहिलोपोस्टका वीपी साहले भण्डारीसित भारत भ्रमण, संविधान संशोधन र मधेसकेन्द्रित राजनीतिका बारेमा गरेको कुराकानीको सम्पादित अंश।  

० प्रधानमन्त्री ओलीसँगै भारत भ्रमणमा जानुभयो। के उपलब्धि भयो?
यस पटक भारतीय पक्ष पनि ज्यादै गम्भीर भएको देखियो। उनीहरुले पनि नेपालको नयाँ आयामलाई मित्रताको नयाँ तरिकाबाट सोच्न थाले। सानोतिनो कुरा बिर्सेर अगाडि बढ्ने देखिएको छ। जनस्तरमा आएको उतारचढावलाई पनि कम गरेको छ। समग्रमा भारत बदलिएको छ।

० नेपालमा कम्युनिष्ट सरकार आउँदा दक्षिण तर्सिँदै आएको भनिन्छ। यस पटकको भ्रमणमा कस्तो देखियो?
त्यो साइकोलोजी त्यहाँ व्याप्त थियो। नेपालको सरकार उत्तरतिर ढल्केको हो कि भन्ने आंशका थियो। यो कुरा मिडियामा पनि देखियो। तर यसलाई प्रधानमन्त्री ओलीले कडा रुपमा प्रतिवाद गर्नुभयो। यो सरकार संघीय लोकतान्त्रिक संविधान र प्रक्रिया अनुसार बनेको प्रष्ट पार्नुभयो। जुनसुकै सरकार आए पनि जाने त्यही बाटोबाट हो। यस विषयलाई नै विशेष रुपमा प्रधानमन्त्री ओलीले उठाउनु भयो। त्यसपछि उहाँहरु आश्वस्त देखिनु भयो। 

० संविधान निर्माणका क्रममा प्रधानमन्त्री ओलीको कटु शब्द र व्यवहारबाट उत्पन्न भएको तिक्तता भ्रमणका क्रममा कहीँ कतै बाहिर त आएन?
त्यही तिक्ततालाई कम गर्न यो भ्रमण भएको थियो। त्यो परिस्थितिका बारेमा स्पष्ट पार्न यो भ्रमण सफल भएको हो। 

० मुख्य तीनवटा विषयमा सहमति भएको सुनियो जसमा जलमार्गको विषयलाई प्रधानमन्त्री ओलीले बढी जोड दिएको देखियो। वास्तविकता चैँ के हो?
कृषि, रेल र जलभन्दा पनि चौथो कुरो महत्वपूर्ण थियो। त्यो थियो यसअघिका सम्झौताहरुलाई अगाडि बढाउने अथवा नयाँ ढंगबाट सोच्ने। त्यस विषयमा महत्वपूर्ण उपलब्धि भयो। पुराना सबै सम्झौताहरुलाई एकमुष्ट गम्भिरतापूर्वक अगाडि बढाउने कुरा भयो। भारतीय पक्षबाट भएको पुराना सम्झौताहरु कार्यान्वयन नभएकोले पनि भारतप्रतिको दृष्टिकोणमा नकारात्मक असर परेको भन्ने रियलाइजेसन भयो।

जलमार्ग भनेको नयाँ विषय होइन। जतिबेला भारतीय प्रधानमन्त्री आइके गुजराल आएका थिए, त्यति बेला नै यो विषयले प्रवेश पाएको थियो। जलमार्ग भनेको एप्रोचको सम्भावनामा आधारित विषय हो। हाम्रा ठूला नदीहरुमा पनि कोशीको सम्भावना देखिएको हो। यस विषयमा व्यापक अध्ययन पनि भएको छ। टेक्निकल कुरो त मलाई थाहा छैन तर यसको सम्भाव्यता छ भन्ने कुराहरु आएको हुनाले सहमति भएको हो। 

भारतले जलमार्ग दिनु भनेकै ठूलो कुरा हो। यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्छ। यसका लागि कति समय लाग्छ त्यो बेग्लै कुरा हो। तर नेपाललाई वाटर लिंक्ड बनाउनु नै ठूलो कुरा हो। राइट टु द सीको आधारमा यो दिइएको हो।

० तर यहाँबाट तयारी गरेर गएको हवाई बिन्दू र हाइड्रो पावरमा लगानीका विषयमा त्यहाँ कुरा उठेन नि?
नेपाल र भारतबीच द्विदेशीय धेरै कमिटीहरु छन्। त्यो समितिको सक्रियतालाई डिटेलमा लिएर जाने हो। त्यसकारण समग्रमा कुरा भएको हो। विषयगत समितिले यस कुराहरुलाई अगाडि बढाउने कुरा भएको हो। अव विषयगत समितिमा सहमति हुन्छ । 

नेपालमा हवाई बिन्दूको जुन कुरा छ त्यो म मन्त्री भएको बेला पनि फ्लाइटको संख्या बढाइएको थियो। त्यसअघि लिमिटेड उडान थियो। अहिले अनलिमिटेड छ।

यस विषयमा प्रधानमन्त्री लेभलमा कुरा मात्र भएको हो। विषयगत समितिले छलफल गर्नेछ।

० नेपालका हरेक विशिष्ट व्यक्तिको भ्रमणमा भारतले आफ्नो सुरक्षाका विषय उठाउने गरेको छ। यस पटक कुरा बाहिर आएन त?
नेपालको आन्तरिक मामिलामा यस पटक भारतले चासो देखएको देखिएन। हामी हाम्रो रोटी सक्न भारतलाई दोष दिने गरेका थियौं। पहिले एउटा भनाई थियो रुसमा पानी पर्यो भने यहाँ छाता ओढ्ने। अहिले क्लियर भयो। हामीले आन्तरिक विषयमा कुरा उठाएनौं। भारतले पनि उठाएन।
सुरक्षाका विषयमा प्रधानमन्त्रीले वक्तव्यमै भन्नु भएको छ कि हामी हाम्रो भूमि कसैको विरुद्ध प्रयोग हुन दिदैनौं। त्यसैले थप कुरा उठेन।

० तपाईले आन्तरिक मामिला भनेर संविधान संशोधनतिर इंगित गर्नुभयो। भारत भ्रमणअघि नै प्रधानमन्त्री ओलीले संशोधनको वाचा गर्नुभएको थियो, हैन ?
हिजो संविधान निर्माणको बेलामा सबैले आफ्नो कुरा राख्ने प्रयास गरेकै थिए। सुनिदा राम्रै भाषामा, नसुनिदा आन्दोलन गरेर भएपनि राख्यौं। त्यसकै परिणाम नाकाबन्दीसम्म भयो। त्यो आफ्नो कुरा राख्ने बेलामा थियो।

संविधानका केही बुँदामा अहिले पनि असहमति छ । त्यही संविधान संशोधन हुने आशामा हामीले सरकारलाई समर्थन गरेका छौं। यो सरकारसँग सम्भावना पनि छ किनभने यो सरकारसँग दुई तिहाईछ हाम्रो सहयोगले । यसअघिका सरकारसँग लिखित प्रतिबद्धता गरेपनि तिनीहरुसँग संशोधन गराउने समर्थ थिएन।

अहिलेको बनोटमा यो सम्भावना देखियो । वाम गठबन्धनले चाहेको खण्डमा संशोधन हुन सक्छ । हामीले विश्वासका आधारमा विश्वासको मत दिएका छौं । यसको अर्थ के हो भने सरकारले पनि हाम्रो विश्वास कायम राखुन्।

० तपाईहरुले विश्वास गरिराख्ने तर सरकारले प्रगति नदिने कुरा चै के हो ?
हाम्रो तर्फबाट जिम्मेवारी निर्वाह गरेका छौं ।अहिले बल पनि सरकारकै कोटमा छ। यस बीचमा सरकार निर्माणको प्रक्रियामा थियो। अन्य कामहरु थिए। त्यसकारण हुन सकेन। अहिले पनि कुराकानी बन्द भएको छैन। हामी सरकारको कदमको प्रतिक्षामा छौं।

० तपाईँहरुले विश्वासको मत दिने, तपाईहरुलाई सरकारमा सहभागी हुन आग्रह पनि गर्ने तर अहिलेसम्म उपलब्धि चैँ शून्य?
हैन। पहिला वाम गठबन्धनले हामीलाई विश्वासको मत दिएको हो। दुई नम्बर प्रदेशमा जहाँ राजपा र फोरमको सरकार बन्ने ठ्याकै बहुमत थियो। त्यहाँ वाम गठबन्धनले समर्थन गर्यो। विश्वासको वातावरणको हात त्यहाँबाट बढेको हो। त्यही विश्वासलाई अगाडि बढाउन हामीले पनि विश्वासको मत दिएका हौं। दोहोरो विश्वासको वातावरण बनेको छ।

सरकारले संविधान संशोधन गर्ला भन्ने विश्वास छ। हामीले सरकारसँग प्रतिवद्धता मागेका छौं। हामीले लिखित प्रतिवद्धता पनि मागेका छैनौं। मैले लिखित प्रतिबद्धता किन भनेको छु भने जसले दिन सक्दैन उससँग लिखित प्रतिबद्धता गरेर के गर्नु? अहिले जोसँग दुई तिहाई छ यसले भनेपछि किन चाहीँ लिखित प्रतिबद्धता? हामीलाई प्रतिबद्धता चाहिएको छ कि हामी संविधान संशोधन गर्न तयार छौं। यो प्रतिबद्धता आयो भने लिखित प्रतिबद्धता भन्दा पनि बलियो हुनेछ। तर हामीले समय सीमा मागेका छौं। कति दिनभित्र गर्ने भन्ने समय सीमा हामीलाई चाहिएको छ। सरकारले त्यो कुरो लेखेरै दिनु पर्ने आवश्यक छैन। सरकारले यति दिनभित्र हामी प्रतिबद्धता पूरा गर्छौ भन्यो भने हामी विश्वास गर्न तयार छौं । अनि हामीसँग विश्वास गर्नु बाहेकको अरु विकल्प नै छैन।

० त्यसो भए सरकारमा सहभागिताको विषय?
सरकारमा सहभागितको विषय र संविधान संशोधनको विषय एकअर्कामा जोडिएको छ। संविधान संशोधनमा प्रतिबद्धता आएको खण्डमा सरकारमा सहभागिताको ढोका खुल्छ। र, स्वभाविक हो।

० त्यसो भए उहाँहरुले दुई नम्बरमा तपाईहरुले समर्थन गर्दा उहाँहरुलाई सरकारमा सहभागी गराउनु पर्थ्यो नि ?
सहभागी गराउने स्थिति आउन सक्छ। भोलि आवश्यकता पर्यो भने सहभागी पनि गराउन सक्छौं। उहाँहरुले पनि माग गर्नु भएको छैन । हामीले पनि आवश्यकता महसुस गरेका छैनौं।
    
० अब तपाईको पार्टीको कुरा गरौं । पार्टी महाधिवेशन गर्ने कुरा कहाँ पुग्यो ?
हामीले तोकिएको समयमा निर्वाचन गर्न सक्ने अवस्था भएन। हामी विभिन्न निर्वाचनमा लागेका थियौं। अहिले तयारीमा छौं। बैशाख ८ गतेको राजनीतिक समितिको बैठकबाट निर्णय हुन्छ।

०अनि संसदीय दलको निर्वाचन ?
त्यो ठूलो कुरो होइन। संसदीय दलको विधान थिएन। अहिले विधान बन्दैछ त्यसपछि संसदीय दलको चुनाव हुन्छ। अध्यक्ष मण्डलले त्यस विषयमा पनि छलफल गर्दैछ।

० तपाईहरुको पार्टीमा अध्यक्ष मण्डल नै अटोक्रेटिक भयो भन्ने आउँदैछ। अध्यक्ष मण्डल बाहेकका नेताहरुले नै विरोध गर्दैछन् त।
अध्यक्ष मण्डल अटोक्रेटिक कसरी भयो? त्यहाँ त छ जनाबीच सहमति गरेर निर्णय हुन्छ। अनि अन्य नेताहरु मध्ये काम गर्नेले गर्दैछ, विरोध गर्नेले पनि गर्दैछ। नेताहरुले काम नगरेको भए हामी चौथो ठूलो दल कसरी बन्न सक्थ्यौं। दुई नम्बर प्रदेशमा कसरी सरकार बनाउन सक्थ्यौं? सबैले काम गर्दैछ।

० फरक प्रसंगमा, मधेश राजनीतिले बाटो फेरेकै हो त निर्वाचन पछि ?
मधेश राजनीतिले बाटो फेरेको होइन। मधेश राजनीति मधेश मै मात्रै हो भन्ने होइन। मधेशको भूमिबाट उठेको राजनीति हो जसले राष्ट्रिय एजेण्डा बोकेको छ। राष्ट्रिय एजेण्डा भनेको तीनवटा कुरा - संघीयता, समानुपातिक समावेशीता र समावेशी लोकतन्त्र। यो तीनवटै चीज मधेश राजनीतिले उठाएको हो। 

त्यसकारण मधेशी दल राष्ट्रिय मुद्दा बोकेको पार्टी हो। यसको उदगम स्थल मधेश हो तर यसले राष्ट्रको मुद्दा बोकेर हिँड्छ। दुईटै मधेशवादी पार्टी अहिले राष्ट्रिय पार्टी बनेको छ। त्यसकारण मधेशवादी पार्टी पनि राष्ट्रिय चरित्रको बन्नु पर्छ।

० अर्को प्रसंग, वाम गठबन्धनको एकतालाई राजपाले कसरी लिएको छ ?
हामीले एकदमै सकारात्मक रुपमा लिएका छौं। वाम गठबन्धनको एकताबाट हामीले पनि पाठ सिक्नु पर्छ। मधेशी दलहरुको जुन गठबन्धन छ त्यसलाई पनि एकताको बाटोमा लग्नु पर्छ।

वाम गठबन्धन एकता हुनुपर्छ। राजनीतिक दल जति कसिएर जान्छ लोकतन्त्र त्यति बलियो भएर जान्छ। संविधान सभामा धेरै दल ठीक थियो। तर राज्य संचालनमा जति कम भयो, त्यति राम्रो। एउटा सत्ता पक्ष हुनु पर्छ र अर्को बलियो प्रतिपक्ष हुनु पर्छ। अहिले एउटा कांग्रेस र अर्को वाम प्रष्ट देखिएको छ।

० त्यसो भए मधेशी दल चैँ को निकट?
हामी डेमोक्रेटिक हौं तर अग्रगमनको पक्षमा छौं। हामी निकट भनेको मुद्दाका आधारमा हुने हो। थ्यौरीको आधारमा हामी डेमोक्रेटिक हौं। अग्रगामी पार्टी हौं, यथास्थितिमा होइनौं।

० भन्नुको अर्थ कांग्रेस यथास्थितिमा फँसेर यस्तो अवस्थामा आएको हो त?
कांग्रेस यथास्थितिमा नभएको भए हामीले छोड्ने थिएनौं । हामीले कांग्रेसमा परिवर्तन महसुस नै गरेनौं। जसले कांग्रेसलाई कांग्रेस बनायो त्यो मधेशी, आदिवासी जनजातिलाई उसले स्थान दिन सकेन। उनीहरुको सम्मान पनि भएन। हामीले बाध्य भएर पार्टी छोड्यौं। जुन कुरा मधेशीहरुले कांग्रेसलाई दियो त्यो कांग्रेसले मधेशलाई दिन सकेन। मधेशीको आत्मसम्मान र पहिचान दिन सकेन। त्यही भएर हामी यो बाटोबाट हिँडेका हौँ।

० त्यसो भए कांग्रेस अझै खस्किन्छ ?
कांग्रेस खस्केपछि हाती दुब्लाएर मुसा हुन सक्दैन। र मुसा मोटाएर हाती हुँदैन। कांग्रेसको लामो इतिहास छ । हामी चाहन्छौं कि कांग्रेसले सबै कुरा अध्ययन गरेर आफूलाई मजबुत बनाओस् जसले मुलुकलाई शक्ति सन्तुलनको अवस्थामा पुराउँछ।

० त्यसो भए विजय गच्छदारको बाटोमा राजपाका नेताहरु हिँड्ने सम्भावना कतिको छ त ?
त्यो समय नै गइसक्यो नि। गच्छदारको शैलीमा जाने समय नै गइसक्यो। किनभने हिजो पाँच वर्षसम्म राजपाका कुनै घटक सरकारमा भएन। मौका नपाएको त होइन नि। जुन बेला पनि जान सक्थ्यो नि। गच्छदारजीको बाटोमा विमति आजदेखि  होइन अस्तिदेखि नै हो। धुमधाम अवसर पाएको बेलामा कोही अवसरवादी बनेन। अहिले त सम्भावना नै छैन। राजपा स्वयम एउटा बलियो पार्टी बनिसकेको छ। राष्ट्रको चौथो पार्टी बनिसकेको छ। वाम गठबन्धनको एकीकरण भएपछि तेस्रो पार्टी बन्दैछ। राजपा कांग्रेसमा होइन, जनतामा जान्छ र बलियो पार्टी बन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell