PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा?


पहिलोपोस्ट /पहिलोपोस्ट

रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा?
फाइल फोटो
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज्(नारा)ले "साहसिक जलयात्रा पर्यटन : वर्तमान र भविष्य" विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सांसद गगन थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। थापाले गरेको भाषणको आधारमा हामीले हिजो समाचार तयार पारेका थियौँ- प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने? 

थापाले टिआरपी केन्द्रित 'असल' पत्रकारिताको उत्कृष्ट नमूना भन्दै त्यस समाचारमा आपत्ति जनाए। 
 
त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि बेतुकको विषयमा समयको व्यर्थ नाश नगर्न सुझाउँदै ट्विट गरे। 
  भाषण र समाचारमा फरक हुन्छ भन्ने तथ्य कांग्रेसका दुवै प्रभावशाली युवा नेताले बुझ्दैनन् भन्नु कमजोरी हुनेछ। हिजो प्रकाशित समाचार थापाको भाषणमै आधारित तथ्य हो। भाषणको भिडियोको ७ औँ मिनेटमा थापाले 'पानीजहाज, रेल जस्ता पूर्वाधारहरु उद्देश्यविहीन भयो भने, के का लागि गर्ने' भन्ने कुरा उठाएका छन्। त्यसैगरी उनले 'भारत र चीनलाई सामान बेच्नका लागि नेपालमा बाटो बनाउनु पर्दैन। यो भ्रममा नबस्नुस्।  हन्ड्रेड विलियन युएस डलरको टार्गेट राखेर उनीहरूको बीचमा व्यापार चलिरहेको बेलामा चाहिँदैन' पनि भनेका छन्।  रेल र पानीजहाजको कुरा कुरा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले उठाइरहेका छन्। त्यही सन्दर्भलाई जोडेर समाचार शीर्षक र समाचार तयार पारिएको हो। कांग्रेसका दुई युवा नेताले पहिलोपोस्टमा प्रकाशित सामग्रीमाथि गरेको टिप्पणीपछि हामीले गगन थापाको भाषणको पूर्ण पाठ र भिडियो पनि राखेका छौं। 
 

कार्यक्रममा थापाले गरेको सम्बोधन जस्ताको तस्तै:

विभिन्न मन्त्रीहरूले दिएको अभिव्यक्तिलाई जोडेर हामीले हेर्‍यौँ भने त्यसले हामीलाई चिन्तित बनाउँछ। अर्थमन्त्रीज्यूले एउटा धारणा अगाडि प्रस्तुत गर्नुभयो, जसको आधारमा हामीले हेर्‍यौँ भने वा त्यसको अलिकति विश्लेषण गर्‍यौं भने नेपालको प्राइभेट सेक्टर, नेपालको पब्लिक सेक्टर सबै ठाउँमा स्ट्रक्चरल समस्या छ। वर्षौँदेखि छ।

नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरीकन थला परेको छ भन्ने त्यसको एउटा इम्प्रेसन आउँछ। गृहमन्त्रीजीले अझै एक स्टेप अगाडि आएर भन्नुभयो। नेपाल तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्ट हो। नेपालमा एक प्रकारले कानुनको शासन छैन भनेर भन्नुभयो। कानुनमन्त्रीजीले अझै एक स्टेप अगाडि आएर भन्नुभयो नेपालको न्यायालयमा यतिधेरै भ्रष्टाचार छ कि करप्सन जोड्यो भने बजेटको साइज भन्दा ठूलो हुन्छ। 

सामान्य प्रशासनमन्त्रीले अझै एक कदम अगाडि आएर भन्नुभयो, नेपालका कर्मचारीहरू काम नलाग्ने छन्। कामचोर छन्। यसलाई एक ठाउँमा राखेर जोडेर हेर्‍यो भने बडो निराशाजनक चित्र बन्छ। 

तर प्रधानमन्त्रीजीले फेरि एक प्रकारले सबैलाई उत्साही बनाइराख्नु भएको छ। र, यो बेलामा हामीले सरकारलाई हाम्रो ठाउँबाट के नै भन्नुपर्छ जस्तो लाग्छ भने यो स्प्रिटका हिसाबले पनि म प्रमुख अतिथि (प्रचण्ड, जो कार्यक्रमका प्रमुख अतिथि थिए, कार्यक्रममा सम्बोधन गरी फर्किसकेका थिए।) हुनु भएको भए उहाँलाई भन्थेँ, उहाँको प्रधानमन्त्रीत्वमा छोटो समय काम गर्ने मौका मैले पाएँ । त्यो स्पिरिट रहनुपर्छ ।

त्यो स्पिरिट रहनुपर्छ भन्छु म प्राइममिनिस्टरसँग। कि रिजल्ट दिनुपर्छ भन्ने कुरा रहनुपर्छ। एज अ टिम काम गरेर एउटा स्पिरिट पनि रहनुपर्छ। र स्पष्टता पनि चाहिन्छ। 

नेपालको डेभलप्मेन्टको सेन्टरमा मान्छे नै हो। प्रत्येक नेपालीको ह्युमन डिग्निटी हाम्रो डेभलप्मेन्टको उद्देश्य रहनुपर्छ। हामीले त्यो डिग्निटीको सन्दर्भमा, के भयो भने, डिग्निटी प्राप्त हुन्छ भनेर भन्दै गर्दा हामीले भन्यौँ मान्छेलाई कम्तीमा पनि बेसिक कुराहरू हुन्छ।

एजुकेसन, हेल्थ, उसको सोसियल प्रोटेक्सनको कुराहरू चाहियो। त्यसपछि हामीले भन्यौँ नि मान्छेलाई कम्तीमा रोजगारी दिन सक्नुपर्‍यो। मान्छेले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्‍यो भन्ने कुरामा त्यसको अर्को पाटो पनि छ। मान्छेको धर्म भाषा आफ्नो पहिचानका कुराहरू छन्। त्योसँगै यो पाटो पनि हामीले हाम्रो संविधानमा लेखेर राख्यौँ। नेपालमा जब हामी रोजगारीको कुरा गर्छाैँ, रोजगारी नेपालमा केले सिर्जना गर्न सक्छ भन्ने कुराको सन्दर्भमा हामीहरू अलमलमा रहनुहुन्न। 

हाम्रो पूर्वाधारका सन्दर्भमा एउटा अबसेसन देखिन्छ। हामीलाई रेल, पानी जाहा..ज.., ठूलठूला हवाई अड्डा, सबै कुराले हामी अबसेस्ड छौँ, हुन पनि हो। पूर्वाधारमा असाध्यै पछाडि परेको देशमा यी कुराहरू हामीलाई चाँडो बनोस् भनेर लाग्ने कुरा स्वाभाविक हो। तर यो उद्देश्यविहीन भयो भने, के का लागि गर्ने भन्ने कुरा यदि...... भयो भने चाहीँ यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन। 

धेरै पहिला ३३ सालमा म त जन्मेको सालमा रहेछ, त्यो बेलाको पूर्वप्रधानमन्त्री वीपी कोइरालाले एउटा युनिभर्सिटीको  स्टुडेन्टलाई राखेर एउटा कुरा भन्नुभएको रहेछ कि तपाईँहरू गाउँमा बाटो आयो भनेर विकास आयो नभन्ठान्नु होला। गाउँमा बाटो आउँदै गर्दा पारिबाट मालवाहक ट्रकले सामान लिएर आउँछ।  फर्कँदै गर्दा ट्रक भरी गयो भने विकास आयो भन्ठान्नु होला। तर ट्रक खाली गयो भने विकास आयो नभन्ठान्नुहोला भनेर भन्नुभएको रहेछ।

हाम्रो सन्दर्भ पनि त्यही हो। हामी सबै कुरा केको लागि गर्दैछौँ त? हामी जो कनेक्टिभिटीको कुरा गर्छाैँ, ठूलठूला हामी सबै हेर्छाैँ के, हेर्दै गर्दा हामी एउटा कुरा हेर्न सक्छौँ। 


नेपालको एग्रिकल्चर, हाम्रो माइग्रेसन हाम्रो एक प्रकारको नेशनल क्यारेक्टर रहेछ। हामी सबै पहाडबाट झर्ने रहेछौँ, मधेसबाट काठमाडौँ आउने रहेछौँ । हामी दुबई जाने रहेछौँ । काठमाडौँमा पनि अलिकति सम्पन्न भएको मान्छे मौका पर्‍यो भने डिभी पर्‍यो भने अमेरिका जाने रहेछ। असल खराब नभनौँ । हाम्रो यो, हामी हाम्रो एउटा, हाम्रो एउटा, एउटा हामी सबैले हेर्न सक्छौँ। 

चन्द्रमामा पनि खुल्यो भने त्यहाँ सबैभन्दा पहिला जाने मध्ये नेपाली नै पर्छ। हाम्रो माइग्रेसन हाम्रो रहेछ। हामीहरू घुमिराख्ने मान्छे रहेछौँ । जब एउटा एउटा सोसाइटीको त्यो क्यारेक्टर हुन्छ। त्यहाँनिर एग्रिकल्चरसँग एउटा कन्ट्राडिक्सन हुन्छ। हाम्रो एग्रिकल्चर गर्ने ठाउँ कहाँ छ? पहाडमा छ। मधेसमा केही ठाउँहरूमा छ। 

तर हामी यति घुमिराख्छौँ भनी सकेपछाडि हाम्रो प्रोडक्टिभिटी हामीले हेर्‍यौ भने अब हाम्रो सन्दर्भमा एग्रिकल्चर खाद्य सुरक्षाको हिसाबले असाध्यै महत्वपूर्ण भयो। किन हामी २५ अरबको धान भारतबाट किनेर चामल भारतबाट किनेर लिएर आउँछौँ। भारतबाट चामल किनेर ल्याउनुपर्नेको परनिर्भरताले हामीलाई यो कुरा बताउँछ। 

त एग्रिकल्चरबाट नेपालमा लाखौँ रोजगारी सिर्जना गर्छु भन्ने कसैले ठान्छ भने हामी त्यहाँ गलत ठाउँमा छौँ। दोस्रो थुप्रै देशहरूले गरेको जस्तो म्यानुफ्याक्चर। म्यानुफ्याक्चर नेपालको ठुलो पोटेन्सियल छ। यसको बारेमा छुट्टै छलफल गर्नुपर्ने हुन्छ। यद्पि यसका सीमितताहरू छन्। 

त्यसो भए नेपालको सन्दर्भमा हामीले खोज्ने ट्रान्सफर्मेसनको। सबैभन्दा महत्त्वपूर्ण कुरा केमा रहेछ भने, नेपालको टुरिजम। हामी अहिले यत्रो डेप्रिसियटको कुरा गर्छाैँ । नेपालको ट्रेड डेप्रिसियट। मन्त्रीजीले भन्नु भयो २५ वर्ष होइन, २५० वर्षको हिस्ट्री हेरौँ, पाँच सय वर्षको हिस्ट्री हेरौँ, सात सय वर्षको हिस्ट्री हेरौँ। 

नेपाल चाहिँ बस यो सन्दर्भमा नेपालको खास गरी प्रोडक्सनको सरप्लसमा नेपाल कहिल्यै पनि थिएन। हुँदा पनि हुँदैन्। नेपाल हामी फरेन करेन्सी अर्न गर्ने कुरा गरम। अथवा नेपालको डेप्रिसियट घटाउने कुरा गरौँ । यो सबै कुरामा गेम चेन्जर केही बन्न सक्छ भने नेपालको टुरिजम मात्र हुन सक्छ। 

त्यसकारणले गर्दा हामीले रेलवे बनाउने, हामीले पानी जहाज ल्याउने, हामीले हवाई अड्डा बनाउने, बनाउने भनेर भन्दै गर्दा के का लागि भन्दै गर्दा यो भारत र चीनलाई सामान बेच्छौँ, भारत र चीनलाई सामान बेच्नका लागि नेपालमा बाटो बनाउनु पर्दैन। यो भ्रममा नबस्नुस्। यति धेरै प्वाइन्टहरू छन् उहाँहरूको आफ्नै वान.. उहाँ हन्ड्रेड विलियन युएस डलरको टार्गेट राखेर उनीहरूको बीचमा व्यापार चलिरहेको बेलामा चाहिँदैन। 

अघि चाहिँ उहाँ (मञ्चमा बसेका एक विदेशी नागरिक जसलाई नेपालले अन्तर्राष्ट्रिय  टुरिजम एम्बेस्डरको उपाधि दिएको छ।)ले  भन्नुभयो महत्त्वपूर्ण कुरा, हाम्रो सबभन्दा महत्त्वपूर्ण कुरा भनेको इट्स नट एबाउट डिसिजन, इट्स नट एवाउट च्वाइस, इट्स अबाउट राइट डिसिन एण्ड इट्स अबाउट राइट च्वाइस। नेपालले......यो निर्णय....। 

उहाँले एउटा महत्त्वपूर्ण कुराहरू उठाउनु भएको छ। मेघ (मेघ लामा) दाई लामो समय देखि भोटेकोशीको बारेमा छलफल गर्दै आउँदै गर्दा खेरि हामी ऊर्जा मन्त्रालयको मानिसहरूसँग बस्यौँ भने बिजुली निकाल्नुपर्छ भन्छौँ। दाइहरूसँग आएर बस्यौँ भने होइन त्यहाँ भित्र र्‍याफ्टिङ गर्नुपर्ने अवस्था छ। ठिकै कुरा हो भनेर भन्छौँ। यो सबै केले गर्दा भएको हो भने हाम्रो अस्पष्टताको कारणले गर्दा खेरि भएको हो। 

नेपालको त्यो पेस्टिन रिसोर्सेजहरू नै नेपालको टुरिजमको सबैभन्दा ठुलो आधार हो। उहाँ (तीनै अमेरिकी नागरिक) ले भनेको जस्तो नेपालमा खाना खान पनि मान्छे आउने होइन। सपिङ गर्न पनि मान्छे आउने होइन। त्यही रिसोर्सेजले गर्दा मान्छे आउने हो। त्यो रिसोर्सेज रह्यो भने नेपालको टुरिजम रहन्छ। 

नेपालको टुरिजम मात्रै नेपालको ट्रान्सफर्मेसनको गेम चेन्जर हुनसक्छ भन्ने कुरा हामी माथि बसेर नेपालको अब हामी नेपाललाई समृद्धि दिन्छौँ भनेको ठाउँमा सोचमा स्पष्टता आयो भने, बल्ल तलका निर्णयहरू तलका गतिविधिहरू एक अर्कासँग जोडेर ठिक ठाउँमा जान्छन् भन्ने मलाई लाग्छ। केही महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। यहाँ माननीय अग्नि सापकोटा यहाँ हुनुहुन्छ। अहिलेको डाइनामिक यङ मिनिस्टर पर्यटन मन्त्रालयमा आउनु भएको छ। उहाँबाट हाम्रा पनि अपेक्षाहरू छन्। 

एउटा स्थिर सरकार बनेको छ। वातावरण बनेको छ। हामी यो बेलामा सबै सानातिना हाम्रो राजनीतिक कुराहरूलाई आफ्नो ठाउँमा गर्दै, आफ्नो ठाउँमा गर्दै गरौँला । तर यस्ता कुराहरू हामी एक ठाउँमा आएर कतिपय तपाईँहरूले भन्दै आउनु भएको, अघि एउटा कुरा आयो कर्णालीको फ्री फलो एउटा रिभर राखौँ। उहाँले लामो समय देखि यो ठाउँमा उठाउँदै आउनु भएको छ। अरू बाँकी रहेका । त्रिशुलीकै कुरा आयो।त्रिशुलीलाई एउटा एउटा नेशनल रिसोर्सेसको रूपमा यलाई एउटा खालको घोषणा गरेर जाँउ भन्ने कुरा आएको छ। यी यस्ता कुराहरूमा हामी अब काम गर्ने बेला आयो। हामीहरू काम गर्न तयार छौँ । सबै जना सँगै बसेर काम गर्न तयार छौँ । 

तर खाली के हो भने, यो कतातिर जाने के गर्ने भन्ने कुरामा स्पष्टता भएन भने तल हाम्रो न्यूजहरू एक अर्कासँग बाझिन्छन्। त्यो स्पष्टता माथि खोजौँ। तल हामीले गर्ने निर्णयहरूबाट तपाईँको यो क्षेत्रलाई कति सहयोग पुग्न सक्छ। पुराउन सकिन्छ। यसको बारेमा पनि अझै। आजत एउटा खुला छलफल भयो। तपाईँहरू सँग केही सीमित मान्छेहरूसँग बसेर यसरी नजाउँ अब यो निर्णय यहाँ गरौँ, यहाँ गरौँ, यहाँ गरौँ भनेर यसरी काम गर्न हामीहरू तयार छोँ। 

आज यो ठाउँमा जाऊँ प्रधानमन्त्रीसँग बसौँ छलफल गरौँ, आज पर्यटन मन्त्रीसँग छलफल गरौँ। आज उहाँसँग छलफल गरौँ। एकै ठाउँ बसेर छलफल गरौँ। साझा छलफल गरौँ। एउटा निर्णयमा जाँउ भन्ने कुराहरूमा पनि हामी तपाईँहरूको जनप्रतिनिधि हौँ। यी विषयहरूमा हामीहरू काम गर्न चाहन्छौँ। हामी यो सन्दर्भमा इभन इफ यु गेट एग्जस्टेड, वी विल फिल भेरी प्राउड। यो कुराको सन्दर्भमा चाहिँ तपाईँहरूले हाम्रो उपयोग गर्नुहोला। यही कुराको लागि आग्रह गर्दै मौका दिनुभयो। यसको लागि धन्यवाद दिँदै यो अन्तरक्रियाको पनि सम्पूर्ण सफलताको पनि कामना गर्न चाहन्छु। धन्यवाद नमस्कार जय नेपाल।

 


रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट