PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

वाम गठबन्धन एकता संयोजन समितिको बैठकमा 'ब्रेक': कहिले ओलीको कारण, कहिले प्रचण्डको


पहिलोपोस्ट /पहिलोपोस्ट

वाम गठबन्धन एकता संयोजन समितिको बैठकमा 'ब्रेक': कहिले ओलीको कारण, कहिले प्रचण्डको
काठमाडौं: चैत २० मा पार्टी एकताका लागि गठन भएका दुई कार्यदलले पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाए। सोही दिनको बैठकले २२ गते बैठक बसी एकताको मिति तथा कार्यक्रम घोषणा गर्ने गरी २२ गतेलाई बैठक बोलाइयो। 

दुई कार्यदलले तयार गरेका प्रतिवेदनमा जनयुद्ध, चुनाव चिन्ह र प्रतिनिधित्वको विषयमा कुरा मिल्न सकेन। यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसबिच भएका केही कार्यक्रममा जनयुद्धको विषयमा कुरा मिलिसकेको बताउँदै आएका छन्। चुनाव चिन्हमा पनि त्यति समस्या देखिँदैन्। तर प्रतिनिधित्वको विषयमा भने गाँठो कसिलो बनेको छ। 

२२ गतेको बैठकले टुंगो पुर्‍याउने भनिए पनि त्यो बैठकमा विषय नै प्रवेश गरिएन। एमाले अध्यक्ष तथा प्रधानमन्त्रीको केपी शर्मा ओलीको भारत भ्रमणपछि संयोजन समितिको बैठक बस्ने भनिएको थियो। तर यस विषयमा बस्ने भनिएको बैठक भने बस्न सकेको छैन। 

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओली त्यसयता विभिन्न कार्यक्रममा व्यस्त भए। बुधवार साँझ बैठक बस्ने तालिका थियो। सोही अनुरूप सदस्यहरू बालुवाटारमा पनि पुगे। तर बैठक ठोस निर्णय बिना उठ्यो। प्रचण्ड बिरामी भएका कारण बैठक धेरै बेर बस्न नसकेको बालुवाटार स्रोतले जनायो। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिन यता बिरामी परेका कारण छलफलले निरन्तरता पाउन नसकेको बताइएको छ। बुधवार सार्वजनिक रूपमा एक कार्यक्रममा उपस्थित भएका प्रचण्डले बिरामी भएको भन्दै छोटो मन्तव्यमा कार्यक्रमको सफलताको शुभकामना दिएर फर्किए। 

उनी यसबिच आज चितवन पुगेका छन्। सालो (सीता दाहालका माइला भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित श्रद्धाञ्जली सभामा भाग लिन चितवन पुगेका हुन् प्रचण्ड। 

उनी शुक्रवार मात्र चितवनबाट काठमाडौँ फर्किने छन्। उनी फर्किएपछि मात्र संयोजन समितिको बैठक बस्ने बताइएको छ। यद्पी वैशाख १ गते कर्णाली प्रदेशमा अायोजना हुने कर्णाली पर्यटन वर्षको उद्घाटनमा रारा जाने कार्यक्रम रहेको छ। त्यस कारण पनि संयोजन समितिको बैठक वैशाख २ गते सम्मका लागि धकेलिएको छ।

चितवन पुगेका प्रचण्डले त्यहाँ आयोजित कार्यक्रममा आफू काठमाडौँ फर्किएपछि संयोजन समितिको बैठक बस्ने र सोही बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन्। 

बैठकले पार्टी एकता घोषणाको अन्तिम रूप दिने उनले दाबी गरे। अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आधार तयार गर्न गठन भएका दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए। विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने उनको भनाइ थियो। 

’पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट