PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

मेलम्ची 'ब्रेक थ्रु' मा पुगेनन् प्रधानमन्त्री: उपराष्ट्रपति पुन बने साक्षी


पहिलोपोस्ट /पहिलोपोस्ट

मेलम्ची 'ब्रेक थ्रु' मा पुगेनन् प्रधानमन्त्री: उपराष्ट्रपति पुन बने साक्षी
मेलम्ची: बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७.४ किमी सुरुङखण्डको मध्यभागको आज ब्रेक थ्रु भएको छ।
 
सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागको सुरुङ छिचोल्ने कार्यक्रममा आज उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पुगेका थिए। म‌ंगलबार मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर ब्रेक थ्रु गर्ने बताएकी थिइन्।

उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने बताए। 

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताए। 

देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ। 

सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ। 

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट