PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

डीपीएल : डिफेण्डिङ च्याम्पियन चौराहलाई काठमाडौंको चुनौती, कसले जित्ला २५ लाख नगद?


पहिलोपोस्ट /पहिलोपोस्ट

डीपीएल : डिफेण्डिङ च्याम्पियन चौराहलाई काठमाडौंको चुनौती, कसले जित्ला २५ लाख नगद?

काठमाडौं : दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधिका लागि टिम चारह धनगढी र काठमाडौं गोल्डेन्सबीच आज प्रतिस्पर्धा हुँदैछ।

फास्ट बलर सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह साविक विजेता समेत हो। लिग चरणमा दोस्रो भएको चौराहले पहिलो क्वालिफायरमा काठमाडौँलाई नै पराजित गरेको थियो।

उता लिग चरणमा अपराजित रहेको काठमाडौंले क्वालिफायरमा चौराहसँग हारेपनि दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै फाइनल भेट पक्का गरेको हो।

नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद २५ लाख र ट्रफी हात पार्नेछन्। यस्तै उपविजेताले १० लाख प्राप्त गर्नेछ।

चौराह र काठमाडौंले यस सिजन एक आपसमा दुई खेल खेलिसकेका छन्। दुवैले एक खेलमा जित हात पारेका थिए।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंका लागि दुई भारतीय खेलाडी सन्नी पटेल र सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

सर्वाधिक रन बनाउनेमा ज्ञानेन्द्र आफै शीर्ष स्थानमा छन् भने १२ विकेट लिएका सन्नी पटेल सर्वाधिक विकेट लिनेमा अगाडी छन्।

यस्तै चौराहका लागि युएईका राष्ट्रिय टोलीको कप्तान समेत रहेका रोहन मुस्ताफाले बल र ब्याट दुवैमा राम्रो गरिरहेका छन् भने नेपाली खेलाडी सुनिल धमलाले पनि राम्रो प्रदर्शन गरेका छन्। यस्तै बलिङमा चारहका ललित भण्डारीले ११ विकेट लिएका छन्।

फाइनल खेलअघि दुवै टोलीका कप्तानले राम्रो खेल्दै उपाधि जित्ने प्रतिक्रिया दिएका छन्।

फाइनल खेल धनगढीस्थित एसएसपी मैदानमामा दिउँसो साढे १२ बजे सुरु हुनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट