PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष


नेत्र तामाङ

देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष

वर्षको सुरुवातमा नेपाली कांग्रेस देशकै ठुलो दल थियो। २०७० मंसिर ४ मा सुशील कोइरालाको नेतृत्वमा भएको संविधानसभाको दोस्रो निर्वाचनको फल थियो यो। यही शक्तिका आडमा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा राखेर २०७३ साउन १९ गते बालुवाटार लग्यो।

त्यहाँ केही महिना राखेर पूर्व सहमतिअनुसार सभापति शेरबहादुर देउवाले उनलाई पाखा लगाए। स्थानीय चुनाव अझै सकिँदै थियो। २०७४ जेठ २३ मा प्रचण्डकै सहयोगमा प्रधानमन्त्रीको ताज पहिरेर देउवा बालुवाटार छिरे। 

रुख र हँसिया हथौडाको तालमेलमा मतको ढ्वाङ थापिरहेको थियो कांग्रेस माओवादी। कति ठाउँमा हँसिया हथौडाले रुख ढाल्यो, त्यो पत्तो भएन देउवालाई। तर, धेरै ठाउँका रुखहरू ढालेर भए पनि हँसिया हथौडाको बिँड बनाइयो। थमाइयो।

यही मेसोमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आयो। सत्ता साझेदारलाई नै लात्ती हानेर गए हँसिया हथौडाका सेनाध्यक्ष प्रचण्ड। अनि मिल्यो नेकपा एमालेको सूर्यसँग। त्यसपछि मात्रै तिलमिलाए प्रधानमन्त्रीको कुर्सीमा विराजमान देउवा।

उनी जहाँ जान्थे एउटै कुरा भन्थे - कम्युनिस्टले जिते रुन पनि पाइँदैन। देउवा वाणी सही ठहरियो। २०७४ कांग्रेसजनका लागि त्यस्तै भइदियो। निर्वाचनमा नराम्रारी हारेर पनि रुनै पाइएको छैनन् उनीहरूले। 

देशकै ठुलो दलको सावा ब्याज डुब्यो। लगभग जहाजै पल्टियो कांग्रेसका लागि। निर्वाचन परिणामले विल्लीबाठको स्थिति सिर्जना भयो। छक्का हान्न बालुवाटारबाट ब्याटिङ गरेका देउवाको बल वाम गठबन्धनका महारथी केपी शर्मा ओलीले बाउन्ड्रीभित्रै समाइदिए। पहिलो इनिङ्स (स्थानीय निर्वाचन)मै रनरेट बढाउन नसकेका देउवाको छक्का प्रयास सफल हुन सकेन। उनी आउट भए। फागुन ३ गते दिउँसो मैदानबाट बाहिरिन नपाउँदै सत्ता कब्जा गर्न पुगे ओली। देउवा मुकदर्शक बने र सुटुक्क बुढानिलकण्ठको पभेलियन सरे।

बुढानिलकण्ठ नपुग्दै निर्वाचनमा हारेका नेताहरु देउवामाथि कुचो लिएर जम्मा भएसकेका थिए- यिनलाई बढार्नुपर्छ भनेर। कोही केन्द्रीय समिति माग्दै थिए। कोही महासमिति। केही चाहिँ 'अर्ली महाधिवेशन'। नाम जेसुकै भए पनि देउवाविरुद्ध शङ्खघोष त भएकै हो। 

बालुवाटार हुँदै सात भाइ जमेर पूर्व पश्चिम कुद्न थालिसकेका थिए। हारको सुस्केरा सुसेल्न नपाउँदै देउवाले आफूमाथि आइलागेकाहरुको सूक्ष्म निरीक्षण गरे। सात भाइमध्ये एकजनालाई प्रवक्ताको जिम्मेवारी दिए।

एक जना प्रखरवक्ता, युवा नेता विश्वप्रकाश शर्मा, जो झापाबाट चुनावमा हारेका थिए, प्रवक्ता भए। त्यसपछि पूर्व पश्चिम लाग्छु भनेर जुटेकाहरु पूर्व पश्चिम मात्र हैन उत्तर दक्षिण पनि पुगे। तितरवितर नै पारिदिए देउवाले।

देउवाले गनगन गर्नेहरुलाई साइजमा ल्याए। अझै पनि सभापतिबाट देउवाको राजीनामा माग्दै थिए केही। केही विशेष महाधिवेशन माग्दै थिए। हारको झोकमा नेताहरूले देउवालाई मिल्ने नमिल्ने सबै भन्दै थिए।

कुनै जमानामा छात्तिसे र चौहत्तरे गुटमा विभाजित कांग्रेसजनको अवस्था २०७४ सालमा चौहत्तरेका लागि अफापसिद्ध भइदियो। चन्द्र भण्डारीहरूको आवाज त्यसै बिलाउँदै गए। अहिले चौहत्तरेहरु कुनाकुना पसी गोप्य भेला गर्नुपर्ने अवस्था आएको छ। देउवालाई यसो गर्नुपर्यो, उसो गर्नुपर्यो भन्दै। सामाजिक सञ्जालमा लाइभ दिइने ती गोप्य भेलाका छलफल र नेताका भनाइ अनलाइन मिडियाका लागि मसला नै बन्छन्। प्रकाशित भएपछि मिडियाले जथाभाबी लेखेका हुन् भन्नसम्म पछि पर्दैनन् लाइभ आएकाहरु।

यही बिचमा कांग्रेस जिल्ला सभापतिहरूको छटपटाहट देखियो। रामचन्द्र पौडेल समूहका भनिने जिल्ला सभापतिहरू खोटाङको हलेसी पुगेर अर्को पटक कांग्रेसलाई ठुलो पार्टी बनाइदेऊ भन्दै आशिष मागेर फर्के। यता देउवालाई जिल्ला सभापतिहरूको भेला डाक्न माग गरे। तीर्थाटानका लागि पुगेका सभापतिहरूको यस्ता भेला देश दर्शनका लागि राम्रो भए पनि उनीहरूको राजनीतिका लागि लाभदायक रहेन।

हारको पीडा कहाँ पोखाउने? सुनाउने एउटै केन्द्र - देउवा क्वाटर बुढानिलकण्ठ। तर, देउवा अहिले यो क्वाटरमा भेट दिइरहेका छैनन् गुनासो गर्न आउनेलाई। आफैले टाउकोको मूल्य तोकेर आतंककारी घोषणा गरेका दलका नेताले दिएको धोकाबाट गजबैले तिलमिलाएकाले देउवा बोल्ने 'मुड'मा पनि छैनन्। स्थानीय निर्वाचनमा माओवादीसँग मिल्दा कांग्रेसको परिणाम र प्रदेश र प्रतिनिधिसभामा एमालेसँग मरिमेटेर लागेपछि आएको वाम गठबन्धनको परिणाम नै दाँजेर हेर्दा नै ठ्याक्कै थाहा हुन्छ कहाँ धोका भयो भनेर।

कांग्रेसजन कहाँ रुने? कहाँ कराउने? देउवा क्वाटर प्रवेश नपाएपछि एउटै ठाउँ हो सानेपा चौतारी। त्यही हो देउवालाई सराप्ने। खुट्टा बजार्ने। धुरुधुरु रुने। दु:खको पोको फुकाउने। देउवाकै कारण हारेको हो भन्दै हिड्नेलाई सभापतिको उल्टै प्रश्न हुन्छ - आफू हारेर आउने अनि जित्न नसक्ने अनि दोष मलाई देखाउने? 

त्यसबाहेक अरू बोलेका छैनन्। अहिले सभापति देउवा सबैका कुरा सुनिरहेका छन्। केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूको हमला चुपचाप सुनिरहेका छन्। सबैले सभापतिमाथि दोष थोपरिरहेको बेला पनि केही बोल्नपर्यो भन्दा देउवा भन्छन् - समय आएपछि बोलौंला।

चुनावमा किन हार्‍यो त? यसको मुख्य दोष धेरैले नेतृत्वलाई नै दिइरहेका छन्। कांग्रेसका सेनापति देउवालाई बालुवाटारमा बहाल छँदै यही कुराले घोचिरह्यो। राष्ट्रिय सभाको निर्वाचन गराउन लागेका देउवाका लागि चुनावमा हारको कारण खोज्नै कर लाग्यो। उनले बालुवाटारमै केन्द्रीय समिति बोलाए।

हारको कारण पत्ता लगाउन जिल्लादेखि गाउँनगर कमिटीलाई विवरण बुझाउन भनियो। एक महिनाको म्याद थपियो। सबै ठाउँबाट हारको रिपोर्ट आइपुगेन। पुन: म्याद थपियो। म्याद सकिने बेला चैत ९ बाट निर्वाचन समीक्षाका लागि बैठक डाकियो। बैठकमा त्यही हारकै कुरा उठ्यो। हारको छालले हिर्काएको कांग्रेस अझै होसमा आउन सकेको छैन। 

कारबाहीमा परिने डरले हुन सक्छ धेरै ठाउँबाट अझैसम्ममा पनि हारको रिपोर्ट केन्द्रसम्म आइपुगेको छैन। छानबिन कहिले हुन्छ? कांग्रेसको ढिलासुस्ती सबैले बुझेकै छन्। यता वाम गठबन्धन तालमेलको संघारमा छ। यस्तै ताल हेर्ने हो भने कांग्रेसको केन्द्रीय समिति अर्को चुनावसम्मै हारको कारण खोज्दै बस्ने सम्भावना छ। 

विशेष र अर्ली महाधिवेशन माग्दै गर्दा देउवाले थप दुई तीन वर्ष टेकओभर गरे हलेसी महादेवसँग मागेको आशिष पनि खेर जाने देखिन्छ।

२०७४ किन फापेन? २०७२ फागुनमा भएको १३ औं महाधिवेशनबाटै कांग्रेसको अधोगति सुरु भइसकेको थियो। पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु, विधानअनुसार पार्टी नचल्नु, सत्ताको स्वाद लिन कुनै कसर बाँकी नराख्नु, माओवादीसँग सत्ता साझेदारी गर्नु र चुनावी तालमेल गर्न, गुटउपगुटमा लागेर पार्टीलाई कमजोर बनाउनेहरु सक्रिय हुनु, बागीहरूलाई कारबाही गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी थियो।

यो वर्ष पार्टीबाट बाहिरिएका विजयकुमार गच्छदार माउ पार्टीमा फर्केर सन्तोषको सानो सास फेर्नेबाहेक सभापति देउवाले खासै केही काम गर्न सकेका छैनन्।

देश संघीयतामा प्रवेश गरिसकेको अवस्थामा पार्टी संघीय संरचनामा जान नसक्नु, लोकतान्त्रिक छवि भएको पार्टीको कुनै पनि विषयमा स्पष्ट अडान नहुनु जनताका लागि रुचीपूर्ण भएन। पार्टीका नेताबिच नै आरोप-प्रत्यारोपका दोहोरीबाहेक पार्टीमा खासै अरू विषयमा बहस हुन सकेन। महाधिवेशन सकिएको दुई वर्ष पूरा भइसक्यो अब दुई वर्षमात्र बाँकी छ। पार्टीले न त उप-सभापति पाएको छ न महामन्त्री र सह-महामन्त्री।

विशेष र अर्ली महाधिवेशन माग्दै गर्दा पदाधिकारी पुरा नगर्नु पदावधि सकेर पनि दुई तीन वर्ष टेकओभर गरी नेतृत्व सम्हाल्ने देउवाको चाल हुनसक्छ।

यसैले गर्दा केन्द्रीय सदस्यहरूले पनि विधानमै नभएको अर्ली महाधिवेशन माग्नुभन्दा विधानसम्मत अबको दुई वर्षमै महाधिवेशन गर्ने तयारीमा लाग्दा बेस होला कि?



देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट