PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

३३ किलो सुनसँग जेलिएको नसा, एक अपराधले लिइसक्यो दुईको ज्यान


सविन ढकाल/पहिलोपोस्ट

३३ किलो सुनसँग जेलिएको नसा, एक अपराधले लिइसक्यो दुईको ज्यान
काठमाडौं : शुक्रवार बिहान करिब ३ बजेर ४० मिनेट जाँदा शौचालय छिरेका प्रेमलाल चौधरी बाहिरिएनन्। महानगरीय प्रहरी बृत्त सिंहदरबारको बाथरुमबाट नबाहिरिएपछि खोज्दै जाँदा उनी मृत्युको मुखैमा पुग्दा भेटिए। तत्काल उनलाई वीर अस्पताल लगियो तर चिकित्सकले बचाउन सकेनन्।

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका उनी बिहीवारमात्रै पक्राउ परेका थिए। प्रहरीदेखि सुन व्यापारीसम्म जोडिएको तस्करीको यो प्रकरणमा भरपर्दो सूचना दिनसक्ने चौधरीको फिल्मी शैलीमा मृत्यु भयो। 

३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रुपमा कार्यरत उनलाई '३३ केजी सुन तस्करी'मा सहयोग गरेको अभियोग थियो। अभियोगजस्तै उनको मृत्यु पनि संदेशको घेराभित्र रह्यो। किनकि उनको मृत्यु – आफ्नै सुरुवालको 'इजाँरमा झुन्डिएर' भएको थियो। इजाँरमा झुन्डेर मृत्यु भएकोमा अनौठो मान्न पर्दैन किनकि हिरासतभित्रै जुत्ताको तुनामा झुन्डेर मृत्यु भएको अभियुक्तको रेकर्ड पनि नेपाल प्रहरीसँग छ। 

सुन तस्करीको अभियोगमा अनुसन्धानको लागि नियन्त्रणमा लिइएका चौधरीले 'आत्महत्या' गरेको रिपोर्ट प्रहरीले सार्वजनिक गर्नेमा दुईमत नहोला। त्यसबाहेक अनुसन्धानबाट अरु केही नयाँ खुलासा हुन पनि सक्छ। 

३३ किलो सुन कान्डले लिएको यो दोस्रो ज्यान हो। चौधरीको 'मृत्यु' भन्दा अघि सनम शाक्यको पनि हत्या भइसकेको छ जसको यही काण्डसँग नसा जोडिएको छ। 

मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्य मारिएका छन् सुनकै कारण।

केही महिना अगाडि दुवईबाट विमानस्थल हुँदै भित्रिएको ३३ केजी सुन एकाएक हरायो। सनम शंकाको घेरमा परे। तस्कर समूहले सनमलाई सुन गायव पार्ने व्यक्ति ठहर्यायो। प्रहरीको अनुसन्धानले पनि सनमको तस्करहरुसँग मिलोमतो रहेको देखाएको छ।

३३ केजी सुन हराएपछि तस्करहरुले नै समूह बनाएर छानबिन थाले। सनम त्यही अनुसन्धानको शिकारमा परे। उनले नै सुन लुकाएको भन्दै तस्करहरुले यातना दिन थाले। उनको शरीरमा करेन्ट लगाइयो। यातनाकै क्रममा सनमको मृत्यु भयो। यो मृत्युको प्लट पनि कुनै थ्रिलर मुभीभन्दा फरक खालको छैन।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सुन विमानस्थलबाट बाहिरिएको सुइको पायो। डिएसपी प्रजित केसीको नेतृत्वमा अनुसन्धान गर्ने टोली विराटनगर पुग्यो। टोली पनि शाक्यलाई फलो गर्दै थियो जसलाई तस्करहरुले मारिसकेका थिए।

फागुन १९ गते प्रहरीले ३३ त हात पारेनन्, शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न हिँडेको गाडी जफत गरे। भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोर्पिओमा शाक्यको शव फेला पार्योा। प्रहरीले ३० वर्षीय गाडी चालक ३० टेकराज मल्ललाई समात्यो।

बा १ च ५३९५ नम्बरको अर्को गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लियो। उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की पनि समातिए। 

गाडीभित्र प्रहरीले १२ भोल्टका दुई ब्याट्री, डीसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड लगायतका सामाग्री बरामद गरेको थियो। 

घटना त्यसपछि सामसुम भएको थियो। मृतकका परिवारले हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीदेखि प्रहरी प्रधान कार्यालय नक्सालसम्म निवेदन गरे। 

एकाएक घटना ट्विस्ट आयो, फिल्मी शैलीमा नै। ३३ केजी सुन प्रकरणमा केही प्रहरी नै शंकाको घेरामा परे। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइयो। गृह मन्त्रालयबाट सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानविन समितिले अझै घटनाको अनुसन्धान गरिरहेको छ।
 

व्यापारी, नेतासम्म, कर्मचारी र पाइलट हिरासतमा

गृह मन्त्रालयबाट गठित छानविन समितिले अहिलेसम्म २० जनाभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरुमा विमानस्थलमा कार्यरत कर्मचारीदेखि सुन व्यापारीसम्म रहेका छन्।

समातिनेमा न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवालसमेत रहेका छन्। शाक्यलाई महानगरीय प्रहरी बृत्त सिंहदरबार र अग्रवाललाई बानेश्वर बृत्तमा राखेर अनुसन्धान भइरहेको छ। समितिले नियन्त्रणमा लिएकामध्ये थाइ एयरका कर्मचारीसमेत् छन्। मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत छन्। समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन्।


प्रहरीको नजरमा 'गोरे' 

मोरङको उर्लावारी घर भएका चुडामणि गौतम 'गोरे' प्रहरीको अनुसन्धानको घेरमा रहेका छन्। प्रहरी स्रोतका अनुसार गोरेले नै ३३ केजी सुन मगाएको दावी छ। गोरेको उर्लावारीसहित काठमाडौंको पुरानो बानेश्वरमा सुनको पसल छ। महाशाखाबाट खटिएका सई बालकृष्ण सञ्जेल र गोरेको चिनजान रहेको पनि पुष्टि भएको छ। गोरे समय समयमा दुवई आउजाउ गरिरहन्छन्। गोरे नेपाली सेनाका भगौडा जवान रहेको समेत खुलेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट