PahiloPost

Dec 11, 2018 | २५ मंसिर २०७५


क्रिकेटले सम्झाइरहने वर्ष २०७४


गोविन्दराज नेपाल

क्रिकेटले सम्झाइरहने वर्ष २०७४

वर्ष २०७४ को इनिङ समाप्त भएको छ। यो इनिङमा क्रिकेट हावी हुँदा अन्य खेल छायाँमा परे। मैदान भित्रदेखि मैदान बाहिर अनि खेलाडी विशेषमा पनि चर्चा क्रिकेटकै रह्यो। २०७४ मा क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्‍यो - ओडीआई स्ट्याटस। 

रोचक त के रह्यो भने नेपालमा जुन खेलको संघ क्यान (क्रिकेट एसोसिएसन अफ नेपाल) अन्तर्राष्ट्रिय रुपमा निलम्बित रह्यो त्यही खेलले ऐतिहासिक सफलता हात पार्‍यो।

क्यान विवाद कायमै रहँदा खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाए। 

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपमा सातौँ भएपछि डिभिजन टू मा झरेको नेपाल डिभिजन टू को शीर्ष दुईमा रहँदै वर्ल्डकप क्वालिफायरका लागि छनोट भयो। सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने  वान डे वर्ल्डकपका लागि छनोट हुन नसके पनि क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट ३ मा पर्न सफल हुँदै पहिलो पटक ओडिआई स्ट्याटस पायो।

चार टेष्ट नेशनसहित कूल १० टिमले प्रतिस्पर्धा गरेको क्वालिफायरमा नेपाल सातौँ भयो।

यसैगरी मलेसियामा भएको एसीसी यू-१९ इस्टर्न रिजनको च्याम्पियन बन्दै यू-१९ एसिया कपमा छनोट भएको नेपालले समूह चरणमा भारतमाथि ऐतिहासिक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। 

२०७३ वैशाखमा आइसीसीको निलम्वनमा परेको क्यान निलम्वन २०७४ मा पनि फुकुवा हुन सकेन। आन्तरिक विवादमै रुमलिँदा क्यानको विवाद कायमै रह्यो। यस बीचमा आइसीसीका पदाधिकारीले नेपाल भ्रमण गर्दै क्रिकेटका सरोकारवाला निकायसँग छलफल गरे पनि ठोस निर्णय निस्कन सकेन। आइसीसी आगामी जुनमा हुने बैठकबाट क्यान निलम्बनबारे औपचारिक निर्णय लिने जनाएको छ। त्यसअघि क्यानको विशेष साधारणसभा गर्दै संशोधित विधान पास गर्नुपर्ने चुनौती निर्वाचित क्यानसामु छ।


इपीएल र डीपीएलको रौनक

क्यान नभए पनि निजी क्षेत्रबाट आयोजना हुने एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग डीपीएलले टी-२० क्रिकेटमा रौनक थपे यस वर्ष।
दुवै लिगलाई आइसीसीले मान्यता पनि दियो। यस्तै, दुवै लिगमा विदेशी खेलाडीको आगमनले प्रतियोगिता अझै रोमाञ्चक बन्यो। 

इपीएलमा प्रत्येक टिमले ३ तथा डीपीएलमा २ खेलाडी राख्नैपर्ने प्रावधान आयोजकले तोकेको छ। यसले गर्दा नेपाली खेलाडीले घरेलु लिगमै विदेशी खेलाडीहरुसँगै खेल्ने अवसर पाए। नयाँ खेलाडीले पनि आफूलाई यसै प्रतियोगितामार्फत् प्रमाणित गर्दै राष्ट्रिय टिमसम्म स्थान बनाए।

इपीएल र डीपीएल जस्तै स्थानीयस्तर र कलेजस्तरमा विभिन्न खाले टी-२० प्रतियोगिता भए। खुकुरी टी - २० च्यालेन्जर्स र युनिभर्सिटी कप जस्ता प्रतियोगितामा युवा खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए।

सन्दीप लामिछानेको दिल्ली टुर
खेलमा क्रिकेटले चर्चा पाएजस्तै खेलाडीमा यस वर्ष क्रिकेटकै सन्दीप लामिछाने चर्चित रहे। राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म उनी छाए। १७ वर्षीय युवा लेग स्पीनर सन्दीप इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बने। जनवरीमा भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई बेस प्राइज २० लाख भारुमा अनुबन्ध गरेको हो।

अक्सनका लागि सार्वजनिक प्रारम्भिक सूचीमा सन्दीपको नाम नरहेपछि अन्तिम चरणको सूचीमा सन्दीपको नाम आएको थियो जसले उनलाई एकाएक चर्चामा ल्यायो। दिल्लीले अक्सनमा सन्दीपलाई किनेपछि त्यसको रहस्य दिल्लीका सिइओले खोले। २०१६ को यू-१६ वर्ल्डकप देखि नै दिल्लीले सन्दीपलाई 'फलो' गरिरहेको र खुसक्क बोलएर दिल्लीमा ट्रायल लिएको सिइओ हेम्न दुअले बताएका थिए।

आइपीएलमा दिल्लीले दुई खेल खेल्दासम्म सन्दीपले खेल्ने अवसर भने पाएका छैनन्। 


निराशाको बाटोमै फुटबल

फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव पटक पटक तोकियो तर हुन सकेन। पुसमा हुनुपर्ने चुनाव पछिल्लो पटक चैत १४ मा गर्ने भनियो। तर, त्यो पनि हुन सकेन।

राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन गर्ने लिग पनि आयोजना हुन सकेन। ए डिभिजन लिगको मिति पनि पटक-पटक तोकिएको थियो तर एन्फाले आयोजना नै गर्न सकेन। 

एन्फाको असफलता झै यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीले कुनै सफलता हात पार्न सकेन। एएफसी एसियन कपको क्वालिफायर खेलेको नेपाल समूह चरणको पुछारमा रह्यो। कूल ६ खेल खेल्दा नेपालले २ बराबरी मात्र गर्न सक्यो भने बाँकी खेलमा पराजित भयो। २०७३ सालमा नेपाल पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा पराजित भएको थियो। २०७४ मा नेपालले बाँकी ५ खेल खेल्दा २ घरेलु मैदानमा यमन र फिलिपिन्ससँग बराबरी गर्न सक्यो। ताजिकिस्तान विरुद्धको दुवै खेल तथा यमनसँगको रिटर्न लिग खेल नेपालले गुमायो।

असोजमा भुटानमा भएको साफ यू-१८ च्याम्पियनसीपको उपाधि जित्नु नै नेपालको उपलब्धी बन्यो।

एन्फाले २०७४ साल वैसाखदेखि नै लिग गर्ने भनेर बारम्वर आश्वासन देखाए पनि वर्ष सकिँदासम्म त्यसको कुनै अत्तोपत्तो भएन।

नेपालमा लिग नभए पनि नेपाली राष्ट्रिय टोलीका केही खेलाडी भने विदेशी लिगमा खेल्ने मौका पाए। रोहित चन्दले इन्डोनेसियाको पर्सिजा जाकार्तामा निरन्तरता पाए। उनको क्लबको त्यहाँ एउटा उपाधि समेत जित्यो। अहिले रोहित पर्सिजाबाट एएफसी कप खेलिरहेका छन्।

यस्तै नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङले भारतीय आइ लिग जित्ने पहिलो नेपाली खेलाडी बने। लिगको मध्यतिर मिनेर्भा पञ्जावसँग आबद्ध भएका किरणले ८ खेल खेल्ने अवसर पाए। यस्तै विमल घर्ती मगर पनि लिगको मध्यतिर मोहन बगानमा आवद्भ भएका थिए। तर, उनले नियमित खेल्न अवसर भने पाएनन्। किरण अहिले पनि मिनेर्भाकै टिममा छन् तर विमलको सम्झौता भने आपसी समझदारीमा टुङ्गिसकेको छ। किरणले भारतमा खेल्नुअघि माल्दिभ्सको टीसी स्पर्ट्सका लागि खेलेका थिए।

केही समय अघिमात्र यू-१९ टोलीका कप्तान अर्पण कार्की माल्दिभ्सको दोस्रो डिभिजन क्लब जेजे स्पोर्ट्समा आवद्भ भएका छन्।

एन्फाले लिग आयोजना गर्न सके पनि मोफसलमा नकआउट टुर्नामेन्ट वर्षैभरी चलिरह्यो। झण्डै दुई दर्जन गोल्डकप फुटबल आयोजना भए। त्यसमा पुरस्कार रकम वृद्धि गर्नेको पनि होडबाजी चल्लो। केही वर्षअघिसम्म मोफसलका विजेताले ५ लाख पाउँथे। अब त्यो रकम बढेर १० लाख हुँदै १५ लाखसम्म पुगिसकेको छ। सुदूर पश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणको विजेतालाई त २१ लाख दिने घोषणा आयोजकले गरिसकेको छ।

आफ्नै नेतृत्वको चुनाव गर्न असफल भइरहेको एन्फाले मोफसलको प्रतियोगिताको व्वयस्थापन गर्न सकिरहेको छैन। नियम विपरित नै मोफसलका प्रतियोगिताहरु भइरहेका छन्। असफलताको ओरालोतिर झरिरहेको एन्फासँग स्वस्फूर्त रुपमा मोफसलमा भएका प्रतियोगितामाथि प्रश्न गर्ने हैसियत पनि रहेन। 

प्रतियोगितातर्फ हेर्ने हो भने २०७४ सालमा त्रिभुवन आर्मीले सर्वाधिक ७ उपाधि जित्यो। यस्तै १४ महिनापछि फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले पनि ५ उपाधि जित्न सफल भयो। यस्तै मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, संकटा, हिमालयन शेर्पा क्लबले पनि नकआउट प्रतियोगिताको उपाधि जिते। 


भलिबलको भविष्यको सुरुवात 

२०७३ सालको चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेपछि २०७४ सालको सुरुवातदेखि नै यस खेलले चर्चा पायो। जेठ ८ गते सरकारले नै भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दियो। त्यसपछि देश नै भलिबलमय बन्यो।

र, भलिबल राष्ट्रिय खेल बनेसँगै यसमा प्रायोजक गर्नेहरु बढे। राष्ट्रिय वाणिज्य बैंक, नेपाल स्याटेलाइट कम्युनिकेसन र नेपाल उद्योग वाणिज्य महासंघले भलिबलमा लाखौँ रकम प्रायोजन गरे। त्यसैको सहयोगमा नेपाल भलिबल संघले राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्‍यो।

२०७४ कै चैतमा सम्पन्न गर्ने गरी संघले एफएनसीसीआईसँग वार्षिक १ करोड २० लाख बराबरको रकम प्रायोजन गरेको थियो। सात प्रदेश सम्मिलित राष्ट्रिय प्रतियोगिता गर्ने भनिए पनि प्रतियोगिता अहिलेसम्म भएको छैन।

भलिबल संघले गर्ने राष्ट्रिय क्लब भलिबल च्याम्पियनसीप लगायत अन्य क्षेत्रबाट हुने राष्ट्रिय स्तरका प्रतियोगिताहरुले यो वर्ष पनि निरन्तरता पायो। ढोरपाटन महिला डबल लिग भलिबल सँगै न्यू डायमण्ड कप पनि पहिलो पटक आयोजना भयो।

संघले पहिलो पटक एनभिए अवार्ड गर्दै भलिबल खेलाडीलाई सम्मान समेत गर्‍यो।

यसै वर्ष नेपालले ३४ वर्षपछि हङकङमा गएर दुई मैत्रीपूर्ण खेल खेल्दै दुवै खेल जित्यो। मकाउसँग पनि नेपाल मैत्रीपूर्ण खेलमा विजयी भयो।
नयाँ वर्ष सुरु हुने बित्तिकै नेपाली पुरुष भलिबल टोली चौथो एभिसी सेन्ट्रल जोनका लागि बंगलादेश जाँदैछ।


चलमलाएको बास्केटबल

नेपाली बास्केटबलको इतिहासमा पहिलो पटक होम एण्ड अवे लिग आयोजना भयो। जसमा ८ टोलीले होम एण्ड अवे कोर्टमा प्रतिस्पर्धा गरेका थिए। प्ले अफ हुँदै फाइनल खेलाइएको प्रतियोगितामा गोल्डेनगेटले आर्मीलाई हराएर उपाधि जित्यो।

डेढ महिनासम्म चलेको लिगमा पुराना खेलाडीदेखि नयाँ खेलाडीसम्मले आफ्नो प्रतिभा देखाउने अवसर पाए। यसले नेपाली बास्केटबलमा पनि यस प्रकारका प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

यसबाहेक एथ्लेटिक्स, पौडी, मार्सल आर्ट्स लगायत अन्य खेलको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीले सहभागिता जनाए।

नेपालले २०७४ मा एसियाली युथ तथा जुनियर भारोत्तलन प्रतियोगिताको आयोजना गर्‍यो। प्रतियोगितामा नेपाल पदकविहीन भए पनि सफल आयोजना गर्दै भविष्यमा पनि अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्नका लागि बाटो खोलेको छ।

अन्त्यमा, क्रिकेटबाहेक यस वर्ष नेपाली खेलकूद क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य उपलब्धी निकाल्न सकेन। भलिबल खेल राष्ट्रिय खेलमा सूचीकृत हुनुलाई नै सफलताको आधारमा मान्न सकिन्न। खेलकूद क्षेत्रमा स्पोन्सरहरु बढ्नुले खेलकूदको क्षेत्र – अर्थतन्त्रसँग जोड्ने सम्भावना बढायो। कर्पोरेट हाउसहरु खेलमा आकर्षित हुन थाल्नु पक्कै पनि यस क्षेत्रको उल्लेखनीय उपलब्धी हो। तर, खेलकूदमा राजनीतिको छायाँ कायमै रहनुले संगठित रुपमा नेपालको खेलकूद क्षेत्रले आशा गरिहाल्नुपर्ने अवस्था आउन दिएन। 

केही आशा र निराशाका बीच नयाँ वर्ष २०७५ ले खेलकूद क्षेत्रलाई प्रभावित पार्नेछ। खेलकूदलाई राजनीतिको छायाँबाट मुक्त पार्न तथा २०७४ मा हासिल गरेका उपलब्धीलाई प्रस्थान विन्दु मानेर अगाडि बढ्न सक्ने हो भने पक्कै पनि नेपाली खेलकूलका लागि नयाँ वर्ष २०७५ ले नयाँ रक्तसंचार नै गर्नेछ। 
 



क्रिकेटले सम्झाइरहने वर्ष २०७४ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट