PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

आमाबिनाको मदर्स डे!


पहिलोपोस्ट /पहिलोपोस्ट

आमाबिनाको मदर्स डे!
फाइल फोटो
  • दीपज्योति श्रेष्ठ -
एकाबिहानै आमा भेटिन्छन् कि भनेर मातातीर्थ धाएँ। आजकल म कुनै पनि बहाना छुटाउदिन् जसले मलाई मेरो आमाको नजिक पुर्‍याओस् - पशुपतिमा रातभर बसेर बत्ती बाल्नेदेखि भिडभाड छिचोल्दै तीर्थ धाउनेसम्म पनि। तर, विरक्त लाग्छ खै कहीँ कतै भेट्दिन उनलाई। उनलाई अझ धेरै दिनसम्म बचाउन नसकेकोमा र जीवनभर उनको सेवा गर्न नपाएकोमा एकखालको पछुतो छ। खोई कसलाई दोष दिने? आफैँलाई, क्यान्सरलाई, अस्पताललाई, डाक्टरलाई, भगवानलाई कि कसलाई? भक्कानो फुटेर आउँछ जब यस्ता कुराहरुले दिमागलाई अनायासै घरिघरि पिरोल्ने गर्छ। झन् अझ भक्कानो फुटेर आउँछ जब वर्षैपिच्छे यस्ता 'डे'हरु घुमेर आउँछन्।

हुन त औशीहरु प्राय: काला नै हुन्छन्। सायद् त्यही भएर मजस्ताका लागि पनि कालै रह्यो र अब सधैं रहनेछ। कालो यस अर्थमा कि आज जसमा समर्पित दिन हो, उनी नै छैनन् यस संसारमा। अब यो दिन मनाउनका लागि कसको मुख हेर्ने? कसका लागि खुशी हुने? जता गयो लाग्छ सबै खुशी छन्। सबै आफ्ना आमा भेट्न जाँदैछन्, आमाको मुख हेर्ने चटारो छ। चारैतिर खुशियाली छ। अरु 'डे'हरु प्राय: त्यति वास्ता हुँदैन रहेछ। मनाए पनि नमनाए पनि। कोही भए पनि नभए पनि। तर, आज चाहिँ किन हो मन सार्है खल्लो हुँदो रहेछ। सायद आमा शब्द नै यति महान् भएर होला। यो सम्बन्ध नै यति मीठो भएर होला।

अझै याद छ मलाई ती दिनहरु जब स्कूलको 'पकेट मनी' बचाउँदै उनका लागि चुरा, पोते, टीका गिफ्ट किन्दिथ्यौं। त्यतिबेला कति नै हुन्थ्यो र? १०० रुपियाँ बचाएर गिफ्ट किन्दिँदा पनि ठूलो लाग्थ्यो। बाल मस्तिष्कमा आमाका लागि केही गर्न पाउँदाको खुशी थामिनसक्नुको हुन्थ्यो। तर, अहिले संसारका सबै खुशी अगाडि राखिदिन सक्छु भनेर आँट भएको उमेरमा मन खिन्न छ, उदास छ। किनभने भने उनी नै छैनन्। यो समय पनि कति निष्ठुरी छ, कति वियोगान्त छ।

पहिलेपहिले उनीसँगै यो दिन मनाउँदा कहिल्यै महसुस गरिएन, आमा नभएकालाई कति खल्लो लागिरहेको होला भनेर। आज बल्ल महसुस हुँदैछ वर्षैपिच्छे घुमेर आइरहने यो दिनले आमा नहुनेहरुलाई कति चिमोट्दो रहेछ। कति आमा हुनेहरुलाई त अझै यो दिन सामान्य लाग्न सक्छ। सत्य यही रहेछ - आफूसँग भएको कुराको महत्त्व सायदै हुन्छ। नहुँदा मात्र सम्झना र वियोगले साह्रो पिरोल्ने रहेछ।

हुन त आमाको योगदानलाई सम्झन यो दिन मात्र काफी छैन। तर, पनि यो एउटा विशेष दिन हो। दैनिक कुराहरुमा अल्मलिएर अनायासै हामी जीवनलाई यति व्यस्त बनाइदिँदा रहेछौं कि घरमा सधैं आफ्नो चिन्ता गर्ने, माया गर्ने आमा बुबालाई नै नचाहँदा नचाहँदै बिर्से जस्तो भान हुँदो रहेछ। त्यो दुरीलाई कम गर्न यस्ता दिनहरु, यस्ता अवसरहरु चाहिने रहेछ। त्यही भएर पनि यस्ता विशेष दिनहरु आवश्यक परेको होला। तर, के गर्नु अब त वर्षैभरि समय दिन्छु भन्दा पनि सम्भव नहुँदो रहेछ! कति कहालीलाग्दा छन् यी कुराहरु सम्झिँदा पनि। कति अनायासै भक्कानिन मन लाग्छ उनको त्यो ममतामयी अनुहार सम्झँदा पनि। कति निराश हुन्छु आफ्नै अगाडि नदेखेर समवेदनाका फोटोहरुमा उनलाई हेर्नुपर्दा।

सायद् अन्तिम पटक दुई वर्ष अघिको आमाको मुख हेर्ने दिनपछि नै हुनुपर्छ हामीले बिस्तारै उनलाई सदाको लागि बिदाई गर्ने तरखर गर्दै गरेको। मान्छेका बाध्यता पनि केके हुन्छ! त्यसपछि कहिल्यै हामीले उनको मुख हेर्न पाएनौं। न अरु दिन, न आमाको मुख हेर्ने दिन। मृत्यु शैय्याको अन्तिम घडीमा पनि नआत्तिनु, नडराउनु भनेर मेरो हात मुसारिरहँदाको उनको त्यो 'किमोले थलिएको अनुहार' सम्झन्छु। त्यो पल पनि सन्तानको चिन्तामा चिन्तित उनको मनले बयान गर्छ - कति महान् हुन्छन् आमाका मनहरु। कति निस्वार्थ हुन्छ आमाको माया। आमाबिनाको घर अझै पनि शून्य छ। उनीबिना आजको दिनमात्र होइन, अझै पनि हर दिन अधुरो छ। उनीबिनाको मन अझै अशान्त छ। मातृ वियोग मानव जीवनले भोग्नुपर्ने सबैभन्दा ठूलो वियोग हुनुपर्छ।

मेरो जीवनमा जस्तो आमाको वियोगमा आमाको मुख हेर्ने दिन कहिल्यै कसैको नआओस्!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट