PahiloPost

May 24, 2018 | १० जेठ २०७५

दरबारमार्गमा दफनाइएकी 'महक परी'

दरबारमार्गमा दफनाइएकी 'महक परी'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : दरबारमार्गबाट बागबजार जाने बाटोतिरको रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीराङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीरनिद्राका लागि आफ्नै जमिनसमेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरैसमयसम्म अनजान र अलपत्र रह्यो।
 
आज भने यो ठाउँलाई सफा पारिएको थियो। बिहान साढे १० बजे यहाँ भारतीय राजदूत मञ्जीव सिंह पुरी आए र पुष्पगुच्छा चढाए। चार वर्षअघि रन्जीत राय भारतीय राजदूत हुँदा पहिलो पटक भारतले औपचारिक रुपमा भारत सरकारका तर्फबाट पुष्पगुच्छा चढाई उनको योगदानको स्मरण गरेका थिए। 

जंगबहादुर राणाले शरण दिएपछि काठमाडौँमा बस्न थालेकी बेगम हजरत महलको मृत्यु काठमाडौँमा ७ अप्रिल, १८७९ मा भएको थियो। चार वर्षअघिदेखि हरेक ७ अप्रिलमा भारतीय राजदूतले यहाँ पुष्पगुच्छा चढाउने कार्यक्रम हुन्थ्यो। यसपालि भने भएन। 

कारण?

७ अप्रिलका दिन भारतीय राजदूत नयाँ दिल्लीमा थिए। प्रसंग प्रधानमन्त्री केपी ओलीको भ्रमण। दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भइरहेको थियो र विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  भारतीय विदेश सचिवका साथ राजदूत पुरी पनि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै थिए। ११ दिनपछि भारतीय राजदूतले हिजै मिडियालाई खबर गरी आज यो कार्यक्रमको आयोजना गरेको हो। 

जंगबहादुर राणाको कुटनीति

श्री ३ जंगबहादुर राणाको बेलायती शासकहरुसितको सम्बन्ध राम्रो थियो। यस्तो अवस्थामा बेलायतीहरुसित विद्रोह गर्दै टिक्न नसकेपछि भागेकी बेगम हजरत महललाई शरण दिनु जोखिमपूर्ण हुनसक्थ्यो। त्यसैले सुरुमा शरण दिन आनाकानी भएको थियो। तर पछि शरणमा आउनेलाई मरण गर्नुहुन्न भन्दै जंगबहादुरले उनलाई छोरासहित काठमाडौँ आउन दिए।
 
उनलाई थापाथलीमा रहेको हालको नेपाल राष्ट्र बैंक रहेको भवन बरफबागमा बसोबास र सुरक्षाको प्रबन्ध मिलाइएको थियो। तर यसका लागि उनीसित भएको गहना र जवाहारात जंगबहादुरले लिएका थिए। आफ्ना छोरा र केही विश्वासपात्रसहित उनी लखनउबाट सीधै काठमाडौँ पुगेकी थिइन्। यहीँ उनले आफ्नो जीवनको अन्तिम २० वर्ष बिताएकी थिइन्। 
 

संघर्षपूर्ण जीवन

बेगम हजरत महलको जीवनको उतारचढाव अचम्ममा पार्ने खालको छ। उनको जन्म सन् १८२० मा फैजावादको एउटा गाउँमा सामान्य परिवारमा भयो। तर उनी बन्न पुगिन् अवधकी शान बेगम हजरत महल। क्रान्तिकारी, रणनीतिकार र कुशल संगठक। १८५७ को अंग्रेजविरुद्धको क्रान्तिको उनले नेतृत्व गर्छिन् तर मृत्यु भने नेपालको राजधानीमा हुन्छ। 

उनको बाल्यकालको नाम मुहम्मदी खातुन थियो। गरिब आमाबाबुको हैसियत छोरी पाल्न सक्ने थिएन। त्यसैले उनीहरुले एक दलालको हातमा छोरी बेचिदिन्छन्। नर्तकीका रुपमा शाही दलालले खरिद गरिएकी यिनी 'महक परी'का रुपमा परिचित हुन्छिन्। अवधका एक नबाबको नजर उनमा परेपछि उनको भाग्य चम्किन्छ र उनी खातूनबाट बेगम बन्न पुग्छिन। नवाब वाजिद अली शाहकी पत्नी र उनका पुत्र बिरजिस कादरको जन्मपछि उनले हजरत महलको उपाधि पाउँछिन्। 

यता ब्रिटिश इस्ट इन्डिया कम्पनीले अवध राज्यलाई हडपेर बेगमका पति नवाब वाजिद अली शाहलाई कोलकाता पठाइदिन्छन्। तर बेगमले ७ जुलाई १८५७ मा अवधको नेतृत्व आफ्नै हातमा लिन्छिन्। कुशल संगठनको फलस्वरुप आफ्नो नेतृत्वमा उनी लखनउ कब्जा गर्न सक्षम हुन्छिन्। आफ्ना नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा राखेर उनले अंग्रेज सेनासँग युद्ध लड्छिन्। आफ्ना सैनिकहरुको हौसला बढाउन उनी स्वयं युद्धको मैदानमा जान्थिन्। आलमबागको लडाइँमा हात्तीमा चढेर उनले आफ्ना सैनिकहरुसित दिनरात युद्ध गरेकी थिइन्।
 
तर जब १८५८ को मार्च २१ मा बेलायती फौज पुनः लखनउ कब्जा गर्न सफल हुन्छ, तरबेगम हजरत महल आत्मसमर्पण गर्दिनन्, उनी त्यसअघि नै महल छाडेर गइसकेकी हुन्छिन्। त्यही वर्षको नोभेम्बरमा बेलायती महारानी भिक्टोरियाले भारतमा इस्ट इन्डियाको शासन समाप्त गर्दै आफ्नो हातमा लिएको घोषणा गर्छिन्। घोषणामा सबैलाई उचित सम्मान दिने भनिए पनि बेगमले घोषणाको विरोध गर्दै जनचेतना फैलाउने काम गरिरहिन्। बाटो फराकिलो पार्न मस्जिद र मन्दिर भत्काउने बेलायती सरकारको विरोध गर्दै रहिन्। लखनउ पतन भइसकेपछि पनि उनले अवधका देहातमा गएर क्रान्तिको आगो फुकिरहिन्।
 
तर अंग्रेज शासकको लगातारको निगरानी र आत्मसमर्पण नगर्ने आफ्नो अडानका कारण अन्ततः हतियार छाडेर उनलाई छिमेकी देशमा शरण लिन बाध्य बनायो। आफ्ना छोरा र केही विश्वासपात्रसहित उनी नेपाल आउँछिन्। 


गुमनाम समाधि

मृत्युपछि उनलाई उनकै इच्छा अनुसार हिन्दूस्तानी मस्जिद नजिकै दफनाइएको थियो। पछि त्यो मस्जिदलाई भत्काई जामे मस्जिद बनाइयो। १५ अगस्त १९६२ मा बेगम हजरत महलको सम्मानमा लखनउस्थित हजरतगंजको ओल्ड भिक्टोरिया पार्कको नाम परिवर्तन गरेर बेगम हरजत महल पार्क राखियो। त्यहाँ मार्बलको एउटा स्मारक पनि राखियो। सन् १९८४ मा भारत सरकारले उनको सम्मानमा हुलाक टिकट पनि जारी गर्‍यो। 

तर नेपालमा उनको समाधिस्थल भने लामो समयसम्म गुमनाम नै रह्यो। इन्डियन एक्सप्रेसको लखनउ संस्करणमा सन् २००२ मा यसबारे एउटा लेख छापिएको थियो जसमा चिहानको दयनीय स्थितिबारे रिपोर्टिङ थियो। नेपालको पर्यटन अधिकारीहरुलाई मात्र हैन, भारतीय दूतावासको पुस्तकालयका अधिकारीलाई समेत यसबारे केही थाहा थिएन। 

थाहा होस् पनि कसरी, बेगमले बनाउन लगाएको लखनवी शैलीको इमामबारा भत्काएर तीन तले नयाँ जामे मस्जिद बनाइसकिएको थियो। अवधका अन्तिम शासक तथा बेगमका छोरा नवाब बिर्जिस कादरलाई १८८७ मा बेलायती महारानीले माफी दिएर घर फर्कन दिएपछि उनी कोलकाता गएर नेपाल कहिल्यै फर्केनन्। त्यही भएर समाधिस्थल पनि अलपत्र नै रह्यो। 

चार वर्षअघि भारतले राज्यस्तरमा नै यहाँ कार्यक्रम गर्न थालेपछि भने यसको अलि चर्चा हुन थालेको छ। समाधिस्थल सफा हुन थालेको छ। यहाँ सानो बोर्ड पनि राखिएको छ। यसको प्रचार हुन सके र छोटो परिचय राख्न सके काठमाडौँ घुम्न आउने भारतीय पर्यटकहरुका लागि यो एउटा हेर्नुपर्ने स्थानका रुपमा परिचित हुनसक्छ। 


ट्रेन्डिङ पोस्ट