PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

७ हजार ८ सय २४ जनालाई ठग्ने के हो आइबोस?



सविन ढकाल

७ हजार ८ सय २४ जनालाई ठग्ने के हो आइबोस?

काठमाडौं : आइबोस ग्लोबल मार्केटिङ कम्पनी यतिखेर झन्डै ८ हजार सेवाग्रहीको लागि गलपासो बनेको छ। कमिसनको लोभ देखाउँदै सदस्य बनेका ७ हजार ८ सय २४ जनाको लगानी यतिखेर बालुवामा पानी झैं भएको छ।

पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरिरहेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोले मंगलवार काठमाडौंको चुच्चेपाटीमा रहेको कम्पनीबाट संचालकसहित ६६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ५९ जनालाई भने सामान्य सदस्यमात्र रहेकाले छोडिएको छ। बाँकी सात जनालाई भने काठमाडौं जिल्ला अदालतबाट ठगीमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताए।

पक्राउ पर्नेमा कम्पनीका संचालक राजकुमार दंगाल, नारायण सिवाकोटी, भक्तबहादुर नेपाली, रविन नेपाली, प्रदिप राई, तिर्सना सुनुवार, पूर्णबहादुर श्रेष्ठ रहेका छन्। उनीहरुले विगत ढेड वर्षदेखि ठगी गर्दै आएका थिए। 
 

कसरी हुन्छ ठगी ? 

यो पिरामिड शैलीमा हुने ठगी हो। उनीहरुले शुरुमा प्रलोभन र कमिसनको आश्वासन देखाउँदै सदस्य बनाउँछन्। शुरुमा सदस्य बन्नका लागि १५ हजार ९ सयदेखि ८० हजारसम्मको सामान किन्नुपर्ने हुन्छ। एसपी श्रेष्ठ भन्छन्, 'उनीहरुले तिरेको मूल्यभन्दा आधा बरावरको मात्र सामान दिन्छन्। त्यसपछि उनीहरुलाई थप सदस्य बनाएर कमिसन आउने लोभ देखाइन्छ।' 

संचालक दंगालले अहिलेसम्म ५ हजार ८ सय ८९ जनालाई सदस्य बनाएको अनुसन्धानमा देखिएको छ।

माथिल्लो तहका व्यक्तिले फाइदा गरे पनि तल्लो तहका सदस्यहरु भने ठगिने गर्छन् जसको संख्या सबैभन्दा धेरै हुन्छ। त्यसैले प्रहरीकोमा उजुरी परेको हो। अहिलेसम्म पाँच जनाले ठगिएको भन्दै उजुरी गरेका छन्। कम्पनीले काठमाडौंबाहेक सुनसरी, कास्की, रुपन्देही लगायतका जिल्लामा समेत शाखा खोलेको र सदस्य बनाएको देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell