PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यातायातमा सिन्डिकेट बचाउन कांग्रेसी व्यवसायीको नेतृत्व, वामपन्थी व्यवसायी उनीहरुका पछिपछि



दिनेश खड्का

यातायातमा सिन्डिकेट बचाउन कांग्रेसी व्यवसायीको नेतृत्व, वामपन्थी व्यवसायी उनीहरुका पछिपछि

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा सार्वजनिक यातायात नै ठप्प पार्ने आन्दोलन गर्ने विषयमा व्यवसायी विभाजित बनेका छन्। यातायात व्यवसायीका विभिन्न संस्थाका उच्च तहमा नेपाली कांग्रेस र वामपन्थीको दुर्इवटा खेमा छ जुन यतिखेर सिन्डिकेटविरुद्ध सरकारको अडानविरुद्ध कसरी प्रस्तुत हुने भन्नेमा विभाजित छ।

यही दुर्इवटा खेमाबीच आन्दोलनका बारेमा दुर्इवटा धार देखिएको हो। महासंघकै एक पदाधिकारीका अनुसार कांग्रेस पक्षका यातायात व्यवसायी जुनसुकै हालतमा आन्दोलनमा गएर सरकारलार्इ झुकाउने पक्षमा छ। वामपन्थी पक्षका व्यवसायी 'सफ्ट' आन्दोलन गरेर सरकारसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छ।

वामपन्थी धार तत्काल यातायात नै ठप्प पारेर आन्दोलनमा जान नहुने पक्षमा छ। तर, कांग्रेस जुनसुकै हालतमा आन्दोलन गरेर सरकारलार्इ घुँडा टेकाउने पक्ष। ती व्यवसायीका अनुसार आन्दोलनको निर्णय गर्न देशभरिका यातायात सम्बन्धी संस्थाका पदाधिकारी बोलाएर भएको भेलामा आन्दोलनको म्यान्डेट दिएका थिए। आन्दोलनको म्यान्डेट दिएको एक सातापछि मात्रै चक्काजाम गर्ने निर्णय भएको हो।

'विगतमा सरकारले एउटा रुटमा बस चलाउन दिँदा समेत आन्दोलनको निर्णय हुन्थ्यो। तर, अहिले यातायात कार्यविधि निर्देशिका ल्याउँदा पनि आन्दोलन गर्न धेरै समय लाग्नुमा कांग्रेस र वामपन्थी विभाजित भएरनै हो,’ ती व्यवसायीले भने, 'वामपन्थी समर्थित व्यवसायीलार्इ हड्ताल रोक्न सरकारमा सहभागी मन्त्रीहरुले समेत आग्रह गरेका छन्। तर, कांग्रेस समर्थित व्यवसायीका अगाडि उनीहरुको केही सीप चलेन।‘

अहिले महासंघको नेतृत्व गरिररहेको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेपाली कांग्रेससँग जोडिएका छन्। काभ्रेको बनेपा नगरपालिकाको मेयर पदका आकांक्षी पनि थिए उनी। २०५४ सालमा कांग्रेसबाट उपमेयरका उम्मेदवार रहिसकेका कर्माचार्य कांग्रेसको 'प्रजातन्त्रिक यातायात व्यवसायी संघ'का अध्यक्ष छन्। महासंघमा अध्यक्ष हुनु अगावै उनले यो संस्था खोलेका थिए।

उनले केही महिना अघि वामपन्थी नेतृत्वका डोलनाथ खनाललार्इ हराएर महासंघको अध्यक्ष बनेका थिए। खनाल नेकपा एमाले बाँके जिल्ला सचिव भइसकेका छन्। महासंघकै महासचिव सरोज सिटौला माओवादी समर्थित व्यवसायी हुन्। महासंघसँग ऐक्यवद्धता गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। महासमिति सदस्य खगेश्वर बोहोरा भीमदत्त नगरपालिकामा मेयरका आकांक्षी थिए।

संघ र प्रदेश निर्वाचनमा समेत बोहोरा टिकटका लागि धाएका थिए। पेट्रोलियम ढुवानी व्यवसायी महासंघकै महासचिव विश्व अर्याल धादिङबाट कांग्रेसका प्रतिनिधि सभाको उम्मेदवार थिए। उनी एमालेका भूमि त्रिपाठीसँग पराजित भएका हुन्। 

बोहोराले यातायात व्यवसायीको मुद्दामा कांग्रेस र कम्युनिष्ट भनेर विभाजित नभएको दाबी गर्दै सरकारले वर्षौदेखि व्यवसाय गर्दै आएकालार्इ विस्थापित गर्न खोजेकाले आन्दोलन गर्नुपरेको बताए। 

‘म कांग्रेसको महासमिति सदस्य हुँ। तर, अहिलेको आन्दोलन भनेको विशुद्ध व्यवसायिक मुद्दासँग जोडिएको छ। यसलार्इ राजनीतिकरण गर्न आवश्यक छैन,’ उनले भने, ‘म कांग्रेसमा आस्था राख्ने व्यक्ति हुँ। कांग्रेस नै भएर चुनाब जितेको हुँ। तर हामीले उठाएको मुद्दा व्यवसायिक हो। हामीले राजनीतिक लाभका लागि आन्दोलन गरेका होइनौं। सरकारका विरुद्धमा आन्दोलन गर्नेबारे पक्ष/विपक्ष छैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell