PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संरक्षणकर्मी राजु आचार्य र रेन्जर लक्ष्मण रायलाई राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार 



संरक्षणकर्मी राजु आचार्य र रेन्जर लक्ष्मण रायलाई राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार 

काठमाडौँ :  दुई दशकभन्दा लामो समय वन्यजन्तुको अनुसन्धान र संरक्षणमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले पोखराका अनुसन्धानकर्मी/संरक्षणकर्मी राजु आचार्य तथा चितवन राष्ट्रिय निकुन्जका रेन्जरलक्ष्मण रायलाई सरकारले एक लाख एक हजार एक सय पाँच नगद राशीको 'राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार' प्रदान गरेको छ। 

२३ औँ 'राष्ट्रिय वन्यजन्तु सप्ताह' को अवसर पारेर शुक्रबार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुई जनालाई पुरस्कार प्रदान गरे। 

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो पटक स्थापना गरेको अर्को ५१ हजार एक सय पाँच नगद राशीको 'वन्यजन्तु संरक्षण पुरस्कार' पनि संयुक्त रुपमा पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्रीपदम तितुंग र पत्रकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो। 

२७ वर्षदेखि यस क्षेत्रमा कार्यरत आचार्यलाई चार दिनअघि मात्रै पोखरामा 'स्व. चन्द्रमाया ढेवाजू जैविक विविधता संरक्षण पुरस्कार'ले समेत सम्मान गरिएको थियो। प्राणीशास्त्र समाज पोखरा र प्राणीशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसले यसै वर्षदेखि यो पुरस्कार स्थापना गरेको हो। 

लाटोकोसेरो संरक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त आचार्यलाई सन् २०११ मा अमेरिकामा 'स्पेशल एचिभमेन्ट अवार्ड'बाट समेत सम्मान गरिएको थियो। लाटोकोसेरो संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेकाले यिनलाई सञ्चारमाध्यम र संरक्षणकर्मीहरुले‘उल्लु सर’ को उपमा पनि दिएका छन्। हाल उनी 'प्रकृतिका साथीहरु' नामक संस्थाका कार्यकारी निर्देशक छन्। 

आचार्यले पहिलोपोस्टमा पनि विभिन्न लेख लेखेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell