PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरेन्द्र बियरप्रति राप्रपा विद्यार्थीको विरोध, बन्द नगरिए कडा संघर्षमा उत्रने चेतावनी



वीरेन्द्र बियरप्रति राप्रपा विद्यार्थीको विरोध, बन्द नगरिए कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौँ : नेपालका स्वर्गीय राजा वीरेन्द्रको मदिरा पिउन लागेको फोटोसहित 'वीरेन्द्र' नाममा बियर उत्पादन गरी बिक्री वितरण गरेको समाचार प्रकाशन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनले संघर्षमा उत्रने चेतावनी दिएको छ। 

टर्बाइनब्रु नामको स्विस कम्पनीले उत्पादन गरिरहेको नेपाली टिमुर राखिएको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो। नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।

'यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कार हो', अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं।'

'यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ। 

उता वीरेन्द्र बियर उत्पादन गर्ने कम्पनीले भने पहिलोपोस्टसित इमेल कुराकानीमा 'लिमिटेड ट्रिब्युट इडिसन'का रुपमा यो बियर उत्पादन गरिएको र यो बियर अहिले आउट अफ स्टक भइसकेको  बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell