PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेइजिङबाट के सन्देश बोकेर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली?



विधुर ढकाल

बेइजिङबाट के सन्देश बोकेर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली?

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण सकेर शनिवार बिहान स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सोमवार चीन गएका उनी शनिवार बिहान स्वदेश फर्किएका हुन्। 

बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार चीनका उपराष्ट्रपति वाङ छिशाङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय भेट गरेका थिए। 

भेटका दौरानमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत सहभागी मुलुकहरूबिच सहयोग बढाउने चीनको प्रयत्नलाई नेपालको तर्फबाट समर्थन जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘मित्रता र असल छिमेकीपनमा आधारित नेपाल र चीनबिचको सम्बन्धमा प्राचीनकालदेखि उत्कृष्ट रहिआएको उल्लेख गर्दै चिनियाँ उपराष्ट्रपतिले दुईपक्षीय सम्बन्धको सम्भावनालाई पूर्णरुपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो।’
बेइजिङ भ्रमण सफल भएको भन्दै उनले चिनियाँ विदेशमन्त्रीसँग दुईपक्षीय छलफलका नेपाल-चीन सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउने विषयमा सहमति भएको जानकारी दिए। 

उनले दुईपक्षीय वार्ताका क्रममा नेपालले ‘क्रस बोर्डर’ रेलमार्ग निर्माणमा चिनियाँ सहयोगका लागि प्रस्ताव राखिएको समेत बताए। ‘बीआरआई अन्तर्गतका परियोजनाका विषयमा छलफल भयो, विशेष गरी सीमा आरापार रेलमार्ग विस्तारका लागि हामीले चिनियाँ सरकारको सहयोग होस भनेर प्रस्ताव राखेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘परियोजना निर्माणमा लगानीको मोडालिटीको विषयमा छलफल खुला छ। हामीले रेलमार्ग चिनियाँ लगानीमै हुनुपर्छ भन्ने हाम्रो कुरा राखेका छौँ।’ 

विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत छलफल भएको उनले बताए। 

‘सन् २०१६ मा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओली र सन् २०१७ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अवसरमा भएका सम्झौताहरू लगायत दुई देशबिच विगतमा भएका सबै सम्झौता तथा समझदारीहरूको शीघ्र कार्यान्वयन गर्न सहमति भएको छ,’ उनले भने, ‘हामी दुवै पक्षको कनेक्टिभिटी र साझा समृद्धिको लागि बन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत् र सञ्चार क्षेत्रहरू समेट्ने गरी दीर्घकालीन रूपमा हिमालय वारपार बहुआयामिक यातायात सञ्जाल गर्ने विषयमा समाधान धारणा तयार गरेका छौँ।’ 

भेटवार्तामा चिनियाँ सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा दुईपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्न समेत सहमति भएको उनले जानकारी दिए। 

परराष्ट्रमन्त्री ज्ञवालीको बेइजिङ भ्रमणको क्रममा बीआरआई अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विकासमा अझ धेरै दुईपक्षीय सम्बन्ध बढाउन र सो अन्तर्गत सहयोग परियोजना पहिचान गरी समयतालिका बनाई कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको छ। 

केरुङवाट काठमाडौ, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्गको संभाब्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारीका विषयमा समेत छलफल भएको उनले जानकारी दिए। 

दुई देशबिच भएका सम्झौताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्रहरूको बैठक यथा शीघ्र गर्ने सम्झौताहरूलाई यथाशीघ्र टुङ्याउन छलफललाई तीव्र पार्ने सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। 

भ्रमणका क्रममा दुई देशबिच मित्रतालाई थप उचाइमा पुर्‍याउनका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए। ‘आपसी विश्वास र मित्रतामा आधारित दुईपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन हामी सहमत भयौ,’ उनले भने। 

तातोपानीको विषयमा छलफल

यसैबिच परराष्ट्रमन्त्री ज्ञवालीले भूकम्पछि बन्द रहेको तातोपानी नाका खोल्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए। ‘सीमा नाकाको सञ्चालन तथा स्तरोन्नतिका विषयमा छलफल भएको छ,’ उनले भने, ‘दुईपक्षीय वार्ताकै क्रममा रसुवागढी-केरुङ र तातोपानी-झाङमु नाकाहरूको स्तरोन्नति गर्न आग्रह गरेको छु,’ उनले भने, ‘आगामी दिनमा थप नाकाहरू खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सुचारु गर्न हामीले आग्रह गरेका छौँ।’

त्यस्तै भ्रमणका क्रममा नेपालको व्यापार घाटाको विषयमा समेत छलफल भएको जानकारी दिए। त्यसका लागि चिनियाँ पक्षसँग नेपाली उत्पादनको निर्यात बढाउने विषयमा जोड दिएको बताए। 

यस विषयमा चिनियाँ विदेशमन्त्री यी सकारात्मक भएको भन्दै नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पहुँचको सुविधा प्रदान गर्ने आश्वासन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। 

चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवाली शुक्रवार सिचुवान प्रान्त पुगेका थिए। त्यहाँ उनले प्रान्तका गर्भनर डा. यीन लिसँग भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell