PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

चितवनमा ध्रुवेको आतंक फेरि शुरु: पाँच घर भत्काएपछि स्थानीयको विरोध



पहिलोपोस्ट

चितवनमा ध्रुवेको आतंक फेरि शुरु: पाँच घर भत्काएपछि स्थानीयको विरोध

चितवन: मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्। 

स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए। उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो। धुर्वे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो। 

अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो। धुर्वे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो। 

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो। दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो। 

सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि घाइते भएका हुन्। घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

जंगली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिबापत रु ५० हजार दिइएको बताए। समाजले हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेका छन्। 

प्रहरी उपरीक्षक दीपक थापाले सोमबार छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell