PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पार्टी एकताको सन्देश : चार घण्टा ढिलो सुरुवात, दुई घण्टाको भाषणमा पुरानै कुरा

पार्टी एकताको सन्देश : चार घण्टा ढिलो सुरुवात, दुई घण्टाको भाषणमा पुरानै कुरा

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज राजधानीमा संयुक्त कार्यक्रम गर्दै एकता हुने सन्देश दिएका छन्। यद्यपि, कार्यक्रममा एकता कहिले हुने भन्ने सन्देश भने दिन सकेनन्। 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति सार्वजनिक नगर्दै एकैपटक एकता गरिने बताए। 

‘हामीले जुन मितिमा घोषणा गर्छौं भन्छौं, त्यो मितिमा हुँदैन। तर, एक दिन मिति घोषणा नै नगरी ठ्याम्मै एकताको घोषणा हुन्छ,’ उनले भने। एकताको मिति घोषणा गर्दा एकतालाई रोक्ने शक्ति सक्रिय हुने संकेत गर्दै उनले एकता एकै पटक हुने बताए।

एकताका लागि पार्टी एकता संयोजन समितिको बैठकले आजैकै दिन पार्टी एकता गर्न सुझाब सहितको प्रतिवेदन बुझाएका थिए। तर, पार्टी एकताका लागि प्रतिवेदनमा ‘जनयुद्ध’, चुनाव चिन्ह, तथा पार्टी एकताको मोडालिटीका विषयमा कुरा नमिले पछि आज एकता हुन सकेन।

रोचक त के रह्यो भने आजको सम्बोधनमा प्रचण्डले 'जनयुद्ध'को विषय उठान गरे। तर, नेपालमा कम्युनिष्ट पार्टीको इतिहासबारे प्रवचन दिन भ्याएका एमाले अध्यक्ष ओलीले 'जनयुद्ध' शब्द नै बोलेनन्।

आज पार्टी एकता हुन नसकेपछि दुवै दलले संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तिमा कार्यक्रम गरी एकताको सन्देश दिने प्रयास गरेका हुन्। 

यद्यपि, यी विषयमा भने दुवै नेताको सम्बोधनमा ठोस उच्चारण गरेनन्। माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता सम्मानजनक हुने भन्दै एउटै स्वरमा एकतालाई कुनै पनि तागतले रोक्न नसक्ने उद्घोष गरे। 

तर, कहिले एकता हुने भन्ने ठोस मिति भने घोषणा हुन सकेन। 

बरु कार्यक्रमको सुरुवात हुनु अगाडि नै विवादमा आयो। कार्यक्रमको ब्यानरमा मार्क्स र लेनिनको फोटो नाराखेको भन्दै कार्यकर्ताहरु विरोधमा उत्रिए। पार्टीको नाम नेकपा (माओवादी केन्द्र) स्थानमा नेकपा माके लेखिएको भन्दै विवाद भयो। 

विवाद साम्य गर्न दुई पार्टीका अध्यक्ष सभागृह भित्रै गोप्य कक्षमा छलफल गरे। बाहिर माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यकर्ताहरुलाई फकाउनमा व्यस्त देखिए। 

एकता हुने सन्देश पाउने ठूला आशाका साथ उपस्थित नेता कार्यकर्ताहरु दुई अध्यक्षको पुरानो भाषण सुनेर फर्किए। प्रधानमन्त्री ओलीले कार्यक्रममा एक घण्टा सम्बोधनका क्रममा यसअघि विभिन्न स्थानमा बोलेका कुराहरुलाई नै जोड। पार्टी एकता भन्दा बढी समय सरकारको चर्चा र व्याख्यामै खर्चिए। 

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, सरकारको परराष्ट्र नीति, लगायतका विषयमा बढी समय खर्चिए। त्यस्तै उनले नेपाल कम्युनिष्ट पार्टीको इतिहास समेत नेता कार्यकर्तालाई पढाए। 

उनले अहिले देखिएका विवादहरु सामान्य भएको भन्दै एकता पछि सबै ठीक हुने समेत बताए। ‘यो विवाद बिहे नगर्दासम्म हो। बिहे नगर्दासम्म दुई वटा घर हुन्छन्, तेरो मेरो भन्ने हुन्छ,’उनले ठट्यौली पारामा भने, ‘बिहेपछि सबै एक हुन्छ। घरको कुकुर विरालोको नि माया लाग्छ। पार्टी एकतापछि पनि त्यस्तै हुन्छ। तेरो मेरो भन्ने हुन्न सबै हाम्रो भन्ने हुन्छ।’


ट्रेन्डिङ पोस्ट

Ncell