PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेसको एक महिने निर्वाचन समीक्षाः विशेष महाधिवेशनदेखि, महासमितिसम्मका माग, देउवाको जवाफ पर्खँदै नेता



पहिलोपोस्ट

कांग्रेसको एक महिने निर्वाचन समीक्षाः विशेष महाधिवेशनदेखि, महासमितिसम्मका माग, देउवाको जवाफ पर्खँदै नेता

काठमाडौँः चैत ९ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनमा हारको कारणबारे छलफल जारी छ। 

आठौँ दिन पनि केन्द्रीय सदस्यहरूले निर्वाचनमा हारका कारण केन्द्रीय समितिमा प्रस्तुत गरिँदैछ। 

पार्टी मुख्यालय सानेपामा सुरु केन्द्रीय समितिमा अधिकांश सदस्यले पार्टी नेतृत्वकै कमजोरीका कारण निर्वाचनमा नराम्रारी हारेको तर्क पेस गरेका छन्।

आइतबार केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीको केन्द्रीय समिति भंग गरी तदर्थ कमिटी बनाएर ६ महिनाभित्र महाधिवेशन गर्न माग गरेका छन्।

उनको मागले नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतको मागलाई बल मिलेको छ।

हारको समीक्षामा केन्द्रित बैठकमा अन्तर्घातीलाई कारबाही गर्नुपर्नेदेखि महासमितिदेखि विशेष महाधिवेशनसम्मका माग र टिकट वितरणमा अन्याय भएको सम्मका कुरा उठेका छन्।

जिल्ला-जिल्लाबाट प्राप्त हारको रिपोर्टमा छानबिन हुन सकेको छैन।  पदाधिकारी मनोनयन हुन नसक्दा पनि केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका छन्।

अधिकांश केन्द्रीय सदस्य सभापति देउवामाथि खनिएका छन्।

सभापति देउवाले सबै दोष आफ्नो टाउकोमा थोपारिएको गुनासो गर्दै छानबिन गर्ने बताएका छन्। केन्द्रीय समितिमा लामो छलफल केही एकदुइ दिनमै सकिँदैछ। केन्द्रीय समितिमै सभापतिको जवाफ दिने कार्यसूची बाँकी नै छ।

केन्द्रीय समितिमा अहिलेसम्म ककसले राखे धारणा?

पहिलो दिन-चैत ९
चुनावी समीक्षाका लागि डाकिएको केन्द्रीय समितिमा पहिलो दिन पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले धारणा राखेका थिए। बैठकमा सिंह र सिटौलाले सभापति असक्षम भइसकेको बताएका थिए भने खड्काले देउवाको बचाउ गरेका थिए।

दोस्रो दिन- चैत १०
दोस्रो दिन नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले धारणा राखेका थिए। 

तेस्रो दिन- चैत १२
तेस्रो दिन बलबहादुर के.सी., डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, रमेश लेखक, सरिता प्रसाईँ, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राखेका थिए।

चौथो दिन- चैत १३
केन्द्रीय समितिको चौथो दिन डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, अतहर कमाल मुसलमान र आमन्त्रित सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा ईयूको निर्वाचन प्रतिवेदनमाथिसमेत चर्चा भएको थियो।

पाँचौँ दिन-चैत १५
पाँचौँ दिनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता प्रकट गरेका थिए।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार ओरालो लाग्नु सुखद् नभएको बताएका थिए। निर्वाचन समीक्षा बैठकमा कांग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा पाँचौँ दिन ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, र महेन्द्र यादवले पनि आफ्ना धारणा राखेका थिए।

छैटौँ दिन- चैत १६
केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी जारी छैठौं दिनको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., एन.पी.साउद, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ र राधेचन्द्र यादवले आ–आफ्नो धारणा राखे।

सातौँ दिन-वैशाख ९
चेत्र १८ गते बस्ने भनिएको सातौँ केन्द्रीय समिति खुमबहादुर खड्काको निधनले स्थगित भयो। त्यसपछि वैशाख ७ मा डाकिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित भयो। आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, प्रदीप पौडेल,  देवेन्द्रराज कँडेल र बहादुर सिंह (लामा) तामाङले आ–आफ्नो धारणा राखेका थिए।

आठौँ दिनको बैठक आज ८: ३० बाट सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell