PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

डिजिएमटी क्रिकेट : शहाब आलमको ५ विकेट र सागर पुनको अर्धशतकमा आर्मीको जित



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : शहाब आलमको ५ विकेट र सागर पुनको अर्धशतकमा आर्मीको जित

काठमाडौं : दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) टी-२० क्रिकेटमा त्रिभुवन आर्मी क्बलले विभागीय भिडन्तमा एपीएफमाथि जित हात पारेको छ। बलिङ सहाब आलम तथा ब्याटिङमा सागर पुनले उत्कष्ट प्रदर्शन गरेपछि आर्मीले एपीएफलाई ९ विकेटले पराजित गरेको हो।

बलिङमा आलमले ५ विकेट लिए भने सागर पुनले अर्धशतक बनाए। रंगभूमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ १९.५ ओभरमा ७६ रनमा अलआउट भयो। एपीएफका लागि प्रनित थापा मगरले १३, कप्तान भुवन कार्कीले १२ तथा रोहित पौडेलले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो हंक समेत छुन सकेनन्। एपीएफलाई अलआउट गर्न बर्मीका शहाब आलमले ४ ओभरमा १२ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै जितेन्द्र मुखिया र सुसन भारीले २-२ विकेट लिए।

ओपनर सागर पुनले अर्धशतक प्रहार गरेपछि ७७ रनको सामान्य लक्ष्य आर्मीले ११ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। सागरले ३४ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। अर्का ओपनर नरेश बुढाएरले नटआउट १५ रन जोडे।

समूह बी मा पहिलो जितपछि आर्मी २ अंकका साथ शीर्ष स्थानमा छ।

यस्तै समूह ए अन्तर्गत फोनिक्स क्रिकेट क्लबले युनाइटेड क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको फोनिक्सले कप्तान रजिन्दर लालको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो। लालले ५५ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै मुजिवर अलीले ३० रन जोडे। बलिङमा युनाइटेडका रसिद खान, राजा सिंह र हासिम अन्सारीले १-१ विकेट लिए।

१४२ रनको लक्ष्य पछ्याएको युनाइटेड क्लबले पुरा २० ओभर खेल्दा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। युनाइटेडका लागि इशान पाण्डेले २८, राजा सिंहले २४ तथा अंशु कन्डोईले २३ रन बनाएपनि जितका लागि पर्याप्त भएन। बलिङमा फोनिक्सका विकास क्षेत्रीले २ विकेट लिए।

दोस्रो जितपछि ४ अंकका साथ फोनिक्स समूह ए को दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell