PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अदालतलाई देखाएर रोकियो उपत्यकाको सडक विस्तार, ठेकेदारले पैसा बुझे काम गरेनन्



दिनेश खड्का

अदालतलाई देखाएर रोकियो उपत्यकाको सडक विस्तार, ठेकेदारले पैसा बुझे काम गरेनन्

काठमाडौँः सरकारले उपत्यकामा सडक विस्तारका लागि अर्बौ रुपैयाँ खर्च गरे पनि त्यसको प्रगति भने सन्तोषजनक छैन। उपत्यका सडक विस्तार आयोजनाका अनुसार विस्तार थालिएका १० वटा सडकमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले सडक विस्तारका लागि दुर्इ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए। श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा ६५ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ।

करिब ३ वर्षअघि देखि उपत्यकामा सडक विस्तार आयोजना अन्तर्गत १० वटा सडक विस्तार थालिएको भए पनि अहिले अधिकांश सडक आयोजनाको काम ठप्प जस्तै छन्। केही सडक आयोजनामा काम भइरहे पनि प्रगति सुस्त छ।

उपत्यका सडक विस्तार आयोजनाका अनुसार स्थानीयको अवरोध र मुआब्जा विवादका कारण सडक विस्तारले गति लिन नसकेको हो। तीन वर्षअघि देखि नै सडक विस्तार सुरु भएको भए पनि कुनै सडकको काम सकिनु त कता हो कता कुनै आयोजनाको आधा काम पनि हुन सकेको छैन। सडक विस्तारका नाममा भत्काएर अस्तव्यस्त छाड्दा आम सर्वसाधारणले त्यसको सास्ती खेप्नुपरेको छ। राजधानीवासीको घरघरमा मेलम्चीको पानी पुर्यापउने भन्दै थप भत्काइएका सडकले झन् दैनिकी अस्तब्यस्त हुने गरी धुलो र हिलोको सास्ती भोग्नुपरेको छ।

सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठका अनुसार सर्वोच्च अदालतले गत असोजमै अन्तरिम आदेश दिए पनि त्यसको पूर्णपाठ नआउँदा बाँकी काम अघि बढाउन सकिएको छैन।

अदालतले पूर्णपाठ नदिँदा स्थानीय अदालतले घर जग्गा दुबैको क्षतिपूर्ति दिन भनेको छ भन्दै अवरोध गरेका कारण थप समस्या आएको छ। उनले अदालतबाट पूर्णपाठ आएपछि कामले गति लिने दाबी गरेका छन्।

आयोजनाले ठेकेदारलार्इ कामै नगरी १६ करोडभन्दा बढी  भुक्तानी दिएको छ। श्रेष्ठले ठेक्का लागेपछि मोबिलाइजेसन बापत १० प्रतिशत रकम दिने नियम भएकाले भुक्तानी दिएको बताए।

सडक विभागका एक अधिकारीका अनुसार अग्रिम भुक्तानी दिने नियमकै कारण विभिन्न बहानामा ठेकेदारले काम नगर्ने प्रवृत्ति बढेको छ। ती अधिकारीले अग्रिम भुक्तानीमा सरकारी निकायको पनि हात हुने गरेका कारण विकास निर्माणले गति लिन नसकेको बताए।

साइट क्लियर भएर मात्रै ठेक्का लगाउनुपर्ने भए पनि साइट समस्या हुँदै ठेक्का दिने गरिएको छ। काम गर्ने वातावरण नभएकै कारण प्रगति शून्य भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार राजधानी प्रवेश गर्ने मुख्य नाका त्रिपुरेश्वर-कलंकी-नागढुङ्गा सडक विस्तार गत पुसमा नै पूरा हुनु पर्ने भए पनि बल्ल ४० प्रतिशत काम सकिएको छ।

गत पुसमा नै सक्ने लक्ष्य भए पनि मुआब्जा विवाद, अदालतबाट स्टेअर्डर, स्थानीयले सडक संरचनामा पर्ने घरजग्गा दुबैको मुआब्जा मागेको, विद्युत टेलिफोन लगायतका युटिलिटिजका केही मात्रामा स्थानान्तरण भए पनि अझै धेरै नै ठाउँमा काम बाँकी रहेका कारण समस्या कामले गति लिन सकेको छैन। कालोपत्रे गर्ने काम पनि पटक-पटक रोकिएको छ। 

चावहिल-जोरपाटी-साँखु करिब १२ किमी लामो सडकमा पनि अवस्था उस्तै छ। तीन वर्षअघि देखि नै काम थालिएको भए पनि करिब २५ प्रतिशत मात्रै पूरा भएको छ।

लगनखेल-सातदोबाटो करिब ८ सय मिटरको बाटो विस्तार बल्ल २० प्रतिशत सकिएको छ। इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार करिव ७ किमी सडकको पनि बल्ल १५ प्रतिशत सकिएको छ।

ढोलाहिटी-सुनाकोठी-तिलेश्वर-सरस्वतीकुण्ड सडकको पनि हालत उस्तै छ। करिब १३ किलोमिटको यो सडकलार्इ चार खण्डमा विभाजन गरेर काम थालिएको भए पनि दोस्रो खण्डको २० प्रतिशत मात्रै काम भएको छ। कामै नभए पनि पहिलो खण्डमा कामै नगरी आयोजनाले दिवा शैलुङ जेभीलार्इ २ करोड ५ लाख १० हजार रुपैयाँ दिएको छ।

तेस्रो खण्डमा ३ करोड ९ लाख ७५ हजार रुपैयाँ, चौथो खण्डमा ३ करोड २९ लाख ४० हजार रुपैयाँ दिएको आयोजनाले जनाएको छ।
कर्मनाशा खोला-हरिसिद्धी –गोदावरी साढे सात किमी सडकको बल्ल १० प्रतिशत काम सकिएको छ। चार खण्डमध्ये चौथो मा समानान्तर जेभीलार्इ ६ करोड ५१ लाख ९३ हजार रुपैयाँ दिएको छ।

जोरपाटी-सुन्दरीजल ७ किमीको सडकमा कुनै काम अघि बढ्न सकेको छैन। तर ठेकेदार कम्पनी आशीष सिएम जेभीले ४ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिएको छ।

नक्खु खोला भैँसेपाटी बुङ्मती ५ किमी सडकको पनि बल्ल १५ प्रतिशत काम सकिएको छ। दुर्इ खण्डमध्ये दोस्रो करिब साढे १ किमीको ठेक्का पाएको पप्पु र महालक्ष्मी वर्ल्डवाइड जेभीले २ करोड ८ लाख २८ हजार रुपैयाँ भुक्तानी पाएको छ। यस्तै चक्रपथ –ज्ञानज्योती गणेश-विद्धतमार्ग ७ सय ४२ मिटर सडकको ६५ प्रतिशत काम सकिएको छ भने पेप्सीकोला-सल्लाघारी सडकमा साढे चार किमी सडक करिब ८ प्रतिशत सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell