PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

३३ किलो सुन प्रकरण :  यी हुन् अहिलेसम्म खुलेका १० तथ्य र अनुत्तरित पाँच प्रश्न 



सविन ढकाल

३३ किलो सुन प्रकरण :  यी हुन् अहिलेसम्म खुलेका १० तथ्य र अनुत्तरित पाँच प्रश्न 

काठमाडौँ : माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको छानबिन अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ। धेरै विषय अझै स्पष्ट भइनसकेको यो प्रकरणमा अहिलेसम्म खुलेका पाटाहरु यी हुन् -

घटना नम्बर १ : सेटिङको सुन

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिन्छ। सेटिङ मिलाएर विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब हुन्छ। त्यसपछि सुरु हुन्छ यो प्रकरण। 

घटना नम्बर २ :  सानु बने पहिलो शिकार

माघ २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा ज्यानमारा दुर्घटना हुन्छ। थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको  गुड्दै गरेको ट्याङकरमा ठोक्किएर मृत्यु हुन्छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिसिटिभी फुटेजमा बन ट्याङ्करमा ठोक्किन गएको देखिएको छ। अहिले छानबिन समितिले गरिरहेको अनुसन्धानमा बनले नै ३३ केजी सुन विमानस्थलबाट बाहिर निकालेको हुनसक्ने देखिएको छ। सुन हराएपछि तस्करहरुकोको निशानामा बन पर्छन्। लगातारको टर्चरपछि बनले आत्महत्या गरेको हो कि हत्या हो, खुलेको छैन। 

घटना नम्बर ३ :  दोस्रो शिकार सनम

घटनाको एक महिनापछि फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पार्छ। सनम सुन तस्करी समूहका एकाउन्टेन्टका रूपमा काम गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न हिँडेको गाडी प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिन्छ। भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोर्पिओमा शाक्यको शव फेला पारेको हुन्छ। प्रहरीले ३० वर्षीय गाडी चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्छ। उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की पनि समातिन्छन।  गाडीभित्र प्रहरीले १२ भोल्टका दुई ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड लगायतका सामाग्री बरामद गरेको थियो। सनमले सुन गायब बनाएको आशङ्कामा तस्करहरूले करेन्ट लगाई यातना दिँदा हत्या भएको खुलेको छ।

घटना नम्बर ४ : अनुसन्धान गरिरहेका नै शंकाको घेरामा

३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी नै शंकाको घेरामा पर्छन्। तस्करसँग मिलेमत्तोको आशङ्कामा गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते जिम्मेवारीबाट मुक्त भएको पत्र थमाउँछ। उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त हुन्छन्। लोहनी उनी मातहतका जुनियरका कारण फँसेका हुन् कि उनी आफै यो प्रकरणमा जोडिएका छन्, त्यो अनुसन्धान सकिएपछि मात्रै थाहा हुनेछ। 

घटना नम्बर ५ : हिरासतमै रहेका व्यक्ति तेस्रो शिकार

चैत ३० गते बिहान ३३ केजी सुन काण्डको अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका काठमाडौँको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीको रहस्यमय हत्या हुन्छ। अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरुवालमा लगाएको इजार प्रयोग गरी बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको अवस्थामा प्रहरीले फेला पार्छ। चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रूपमा कार्यरत थिए। 

घटना नम्बर ६ : यसरी आयो ट्विस्ट

घटना लगभग साम्य भइसकेको हुन्छ। तर मृतक सनम शाक्यका आफन्तले हत्यामा उच्च पदस्थ संलग्न रहेको भन्दै सत्यतथ्य छानबिन गरी पाऊँ भन्ने उजुरी प्रधानमन्त्री कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिन्छन्।

त्यसपछि चैत २० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गर्छ। समितिमा एसपी वसन्त लामा समेत रहेका छन्। छानबिन समितिले पूर्वी नेपालको झापा, मोरङ र काठमाडौँको विमानस्थलदेखि छानबिन सुरु गर्छ। गृह मन्त्रालयले विशेष छानबिन टोली गठन गरी अनुसन्धान थालेको भनेर विभिन्न मिडियामा समाचार आए पनि वास्तवमा गृह मन्त्रालयले नभई सरकारले विशेष अनुसन्धान टोली गठन गरेको हो।  

पहिलोपोस्टसँगको कुराकानीमा पौडेलले  घटनाको तल्लोतहमा पुगेर लाल लालसम्म अनुसन्धान जारी राखेको बताए। सुनको सबैभन्दा सानो इकाईलाई लाल भनिन्छ। उनले भने, 'निर्दोषहरु कोही पर्दैनन्। तर घटनामा संलग्न अपराधी कोही छुट्दैनन्। हामी गहिरो रुपमा अनुसन्धान गरिरहेका छौं, निरपराधीलाई दुःख दिन्नौं।' 

घटना नम्बर ७ : नेता, व्यापारीदेखि प्रहरी अधिकारीसम्म पक्राउ

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सुन प्रकरणमा अनुसन्धानको लागि राजनीतिक नेता, सुन व्यापारी, विमानका कर्मचारीदेखि पूर्व डिआइजी र बहालवाल एसपीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्छ। न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवालसमेत पक्राउ पर्छन्। अनुसन्धान टोलीले नियन्त्रणमा लिएकामध्ये थाई एयरका कर्मचारीसमेत छन्। 

मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत छन्। समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन्। छानबिन समितिले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

घटनामा संलग्न रहेको आशङ्कामा केहीको बैँक खाता समेत रोक्का गरेको छ। नियन्त्रणमा लिइएकाहरुलाई मोरङ जिल्ला प्रहरी कार्यालय अन्तर्गत राखेर अनुसन्धान भइरहेको छ। 

संगठित अपराधको अनुसन्धानको लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटक पटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिने ऐनको प्रावधान छ। पक्राउ परेकाहरुलाई लागेको आरोप प्रमाणित हुन्छ कि हुँदैन, त्यो विशेष अनुसन्धान टोलीको प्रतिवेदनको आधारमा प्रहरीले मुद्दाको अनुसन्धान गरी अदालतमा लगेपछि बल्ल थाहा हुनेछ। 

घटना नम्बर ८ : पूर्व डिआइजी पक्राउ

३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले वैशाख ९ गते पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गर्छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरण र सनमा शाक्यको हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो। चैत २८ मा अवकाश पाएका निरौलालाई विराटनगर लगेर अनुसन्धान गरिरहेको छ। गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रूपमा कार्यरत निरौलालाई तस्करीमा सघाएको खुलेपछि त्यहाँबाट हटाइएको थियो।

घटना नम्बर ९ : मकवानपुर जिल्ला प्रहरी प्रमुख बहालवाला एसपी पक्राउ

पूर्वडिआइजी मात्र होइन बहालवाला एसपीसमेत  वैशाख ११ गते मङ्गलवार पक्राउ पर्छन्। विशेष अनुसन्धान टोलीले एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको हो। मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रूपमा कार्यरत खनाललको मुख्य तस्करसँग सम्पर्क रहेकाले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। खनालसँग छानबिन समितिले मंगलबार बयान लिएको थियो। डिएसपी सञ्जय राउतलाई पनि छानबिन समितिले मङ्गलबार बयान लिएको थियो।

घटना नम्बर १० : गोरे ‘मोस्ट वान्टेड’

३३ केजी सुन तस्करीका मुख्य नाइके भएको आरोपमा प्रहरीले मोरङको उर्लावारी घर भएका चुडामणि उप्रेती 'गोरे'  यति खेर विशेष अनुसन्धान टोलीको खोजी सूचीमा छन्। लामो समयदेखि सुन व्यापार गरिरहेका गोरेको पूर्वडिआइजीदेखि बहालवाला एसपीसम्म पटक-पटक सम्पर्क भएको अनुसन्धानमा देखिएको छ। महाशाखाबाट खटिएका सई बालकृष्ण सञ्जेल र गोरेको चिनजान रहेको पनि देखिएको छ। गोरे समय-समयमा दुबई आउजाउ गरिरहन्छन्। गोरे नेपाली सेनाका भगौडा जवान रहेको समेत खुलेको छ। गोरेको धेरैसँग मामा-भान्जाको सम्बन्ध रहेको छ।

तर, अहिलेसम्म नखुलेका प्रश्न

•    यत्रो प्रकरण मच्चिएको ३३ किलो सुन आखिर छ कहाँ?
•    मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’  कहाँ छन्?
•    हिरासतभित्र भएको हत्या हो कि आत्महत्या? 
•    विमानस्थलभित्रको दुर्घटना हत्या कि आत्महत्या?
•    छानबिनका लागि हाल ठूलो संख्यामा पक्राउ परेका उच्च पदस्थसहितका व्यक्तिहरुको अभियोग प्रमाणित गर्न सक्ने प्रमाणहरु अनुसन्धान टोलीले जुटाउन सक्ला? अदालतबाट दोषी ठहर भई उनीहरुले सजाय पाउलान्?

यो पनि पढ्नुहोस

तस्करको ताकमा सुन नै किन? नाफा बढी कि तस्करी सजिलो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell