सोलः उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच शुक्रबार भेटवार्ता हुँदैछ। शुक्रबार हुने अन्तर कोरियाली शिखर सम्मेलन अगावै दुई देशबीच मिलिटरी डिमार्केशन लाइनमा भेट हुने एएफपीले जनाएको छ।
कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक दुई नेताबीच भेट हुने भएको हो।
मुनले आफ्ना पाहुनालाई निःशस्त्रीकरण क्षेत्रमा स्वागत गर्ने उनका प्रमुख सचिव इम जोङ सियोकले जानकारी दिए। ६५ वर्ष अगाडि कोरियन युद्धपछि दक्षिणमा पाइला टेक्ने उनी पहिलो उत्तरका नेता हुनेछन्।
यो सम्मेलन दुई देशबीचको तेस्रो सम्मेलन हो। यसअघि प्योङ्याङमा सन् २००० र २००७ मा शिखर सम्मेलन भएको थियो। पछिल्लो समय कोरियाली प्रयाद्वीपका दुई राष्ट्रबीच सम्बन्ध सुधार हुँदै गएको छ।
यसैको अर्को प्रयास उत्तर कोरिया र अमेरिकाबीचको तनाव पनि कम हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच समेत भेटवार्ताको तयारी भइरहेको छ।
गत वर्ष उत्तर कोरियाले आफ्नो छैटौँ आणविक हतियार परीक्षण गरेको थियो। त्यस्तै उसले गत वर्ष नै अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण समेत गरेको थियो।
योसँगै तनावपूर्ण अवस्थामा रहेको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको थियो।
उत्तरले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको पक्षमा वकालत गर्दै आएको थियो। त्यसलाई अक्षरमा उतार्न यो सम्मेलन सफल हुने अपेक्षा राखिएको छ।
किमलाई राजकीय सम्मान
६५ वर्षपछि उत्तरबाट हुन लागेको उच्चस्तरीय भ्रमणको तयारीमा दक्षिणले कुनै कसर बाँकी राख्ने छैन। सन् २०११ मा उत्तरको सत्तामा आएका किमको सम्मानमा दक्षिणमा सैनिकले सलामी अर्पण गर्नेछन्। शुक्रबार ‘गार्ड अफ अनर’ दिइएपछि दुई नेताहरू शान्तिगृह (पिस हाउस)मा प्रवेश गर्नेछन्। यो भवन सिसा तथा कंक्रिटले बनाइएको छ।
निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू-भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ। ‘किमले सम्मेलनको बिहानीसत्र सुरु हुनु अगावै भवनमा प्रवेश गरेर अतिथि पुस्तिकामा हस्ताक्षर गर्नुहुने छ,’ दक्षिण कोरियाली राष्ट्रपतिका सचिव इमले भने।
खाना खान आफ्नै देश जानेछन् किम
‘कोरियाली प्रयाद्वीपमा शान्ति र समृद्धि’ शीर्षकमा हुन लागेको सम्मेलनमा सहभागी हुन आउने उत्तर कोरियाली टोली बिहानीसत्र सकेसँगै खाना खानाका लागि पुनः आफ्नो देशमा फर्किने छ।
सचिव इमका अनुसार किम र मुनले संयुक्त रूपमा सल्लाको बिरुवा रोप्ने छन्। बिरुवा रोप्नका लागि दुबै देशका पर्वतबाट माटो र पानी ल्याइने छ। उत्तर कोरिया र चीनको सीमा नजिक रहेको पाइकेटुबाट माटो ल्याइँदा दक्षिण कोरियाको जेजु टापुमा रहेको हल्ला पर्वतबाट माटो ल्याइने छ।’
उनीहरूले सम्मेलनको अन्त्यमा सहमति पत्रमा हस्ताक्षर गर्नेछन्। त्यसपछि संयुक्त वक्तव्य जारी हुनेछ। ‘हामीले यो सहमतिलाई पानमुनजोम घोषणापत्र नाम दिने सोचिरहेका छौँ,’ इमले भने।
शुक्रबार साँझ किमको बिदाइमा मुनले भोजको आयोजना गर्नेछन्। प्योङ्याङबाट आउने प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी हुने छिन्। उनी किमकी नजिककी सल्लाहकार हुन्। गत फेब्रुअरीमा उनले दक्षिणको भ्रमण गरेकी थिइन्।
उत्तरकी संवैधानिक राष्ट्र प्रमुख किम योङ नाम र विदेश तथा रक्षामन्त्री समेत सहभागी हुने बताइएको छ।
यो सम्मेलनलाई उत्तर–दक्षिणको मात्र सम्मेलको रूपमा मात्र हेरेका छैनौँ यो सम्मेलन अमेरिका र उत्तर कोरियाबीचको सम्मेलनको रूपमा पनि हेरिएको छ।