PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ब्यानर विवादमा प्रधानमन्त्रीको टिप्पणीः केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन



पहिलोपोस्ट

ब्यानर विवादमा प्रधानमन्त्रीको टिप्पणीः  केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता कार्यकर्तालाई केटाकेटीको संज्ञा दिएका छन्। आइतबार राजधानीमा भएको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा भएको ब्यानर विवादलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्। 

बिहीबार पार्टीका पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनको जग नबुझेरै ब्यानर झार्न लगाएको आरोप लगाउँदै उनले भने, ‘अब अस्ति नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौँ हामीले। केही केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन। किनभने त्यो हाम्रो मान्छे होइन, हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो भनेर पिर।’

‘अहिले आएर बनाएको मञ्चमा टाँगेको ब्यानर हेरेर उफ्रिरहनु कुरा हुन्छ? राणा शासनको अन्धकार युगमा उफ्रिनु, पञ्चायतको जमनामा कैलालीको जंगलमा मध्यरातमा एक्लै लगेर अलपत्र छोडेर आउनु, ती कथा बेग्लै हुन्,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अहिले अवस्था बैग्लै छ। अहिले आएर पुष्पलाल र मनमोहनको फोटो किन छापियो भनेर भन्न सकिन्छ?’

विचार, उद्देश्य, योगदान, स्थापना र कम्युनिस्ट आन्दोलने पुष्पलाल, मनमोहन अधिकारी भएको कुरा बिर्सन नहुने उनले बताए। पुष्पलाल र मनमोहनको भूमिका र योगदान प्रेरणा लिन छोडेको दिन नेपालको कम्युनिस्ट आन्दोलनको अस्तित्व समाप्त हुने उनले दाबी गरे। 

‘नेपालको कम्युनिस्ट आन्दोलनमा अग्रजहरूले खेलेको भूमिका र योगदानका बारे पछिको पिडितलाई बुझाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झन्झट मानेर हुँदैन। बुझ्छन, बुझाउनु पर्छ, नबुझेर अर्को बाटो छैन।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा पार्टी एकताको सन्देश दिन भन्दै संयुक्त कार्यक्रम गरेका थिए। सोही दिन पार्टी एकताको घोषणा गरिने बताइए पनि केही विषयमा फाइनल टच दिनुपर्ने भन्दै एकता पछि सरेको थियो। 

तर, कार्यक्रम सुरु नहुँदै ब्यानरमा लेनिनको फोटो नभएको, नेकपा माओवादी केन्द्रको नाम नेकपा माके राखिएको भन्दै माओवादी कार्यकर्ताहरूले विरोध जनाएका थिए। ब्यानर नहटाए कार्यक्रम नहुने भन्दै हलबाट विरोध भए पछि ब्यानर निकालिएको थियो। पछि त्यही ब्यानरसँगै अर्को एउटा पनि ब्यानर राखेर  कार्यक्रम भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell