PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

मृत्युपछि तपाईँको फेसबुक के गर्ने? दुई वटा विकल्प आजै छान्नुस्


स्वेच्छा राउत

मृत्युपछि तपाईँको फेसबुक के गर्ने? दुई वटा विकल्प आजै छान्नुस्

स्वर्गीय पत्रकार कर्ण बोहोराको फेसबुक वाल चहार्ने हो भने उनको मृत्युको कुनै सङ्केत पनि पाइँदैन । बरु, वालमा उनले पोष्ट गरेका सुन्दर फोटो भेटिन्छन् । स्टाटस भेटिन्छन् । उनलाई ट्याग गरिएका फोटा र स्टाटसहरु पनि प्रशस्तै देखिन्छन्। उनको फेसबुक वालमा उनलाई ट्याग गरिएका प्रशस्तै स्टायटसहरु छन्। गायिका बिन्दु परियारले २३ डिसेम्बर २०१७ का दिन कर्णसहित ४४ जनालाई ट्याग गर्दै भनेकी छिन्— छोटो समयमा नै युट्युबमा पचास लाख जनाले हेरिदिनु भएको छ ।  धन्यवाद तथा धेरै धेरै बधाइ सम्पुर्ण टिमलाई । अनि यति धेरै माया गरिदिने श्रोता तथा दर्शकलाई जय मंगलम ।

उनको वालमा अरु पनि सामाग्रीहरु छन्— चुनावमा भोट आह्वान गरिएको पोस्ट, फिल्मको प्रचार, व्यक्तिगत फोटो आदि।

२०७३ मंसिर १० गते दुईवटै किड्नी फेल भएकी श्रीमती ममता बोहोरालाई खाना र औषधि खुवाएर आराम गर्न हस्पिटलको बेडमा पल्टिएका कर्ण त्यसपछि कहिल्यै उठेनन्। 

गत २४ साउनमा भारतको उत्तराखण्डमा ममताको पनि निधन भयो । कर्णको फेसबुकवालको कभर फोटोमा चाहीँ ममता मुस्कुराइरहिन् । अहिले पनि मुस्कुराइरहेकी छिन् । 

बोहोरालाई पोस्टमा ट्याग गर्नेहरु मध्ये कतिलाई उनको निधनको खबर थाहा छ? मान्छे नरहेपनि उनलाई ट्याग किन गरियो? तर अर्को महत्वपूर्ण प्रश्न के रहन्छ भने: के मृत्युपछि पनि कुनै व्यक्तिको फेसबुक प्रोफाइल उस्तै रहन्छ? कुनै तरिकाले उक्त प्रोफाइल बन्द गराउन मिल्छ वा पासवर्ड भएको खण्डमा डिएक्टिभेट गरिनुको विकल्प छैन? 

१४ मार्च २०१६ का दिन बिबिसीका लागि ब्राण्डन एम्ब्रोसिनोले लेखेकी थिइन्, “फेसबुक प्रयोगकर्ताहरुको मृत्युदर उच्च छ ।” अर्थात, मृत्युहुनेहरु धेरैको फेसबुक एकाउण्ट हुने गर्छ। तर ती अकाउन्ट इनएक्टिभ रहन्छन्।

०००
आजभोलि मृत्यु भएका केहीको इनएक्टिभ फेसबुक नामको अगाडि ’रिमेम्बरिङ’ लेखिएको हुन्छ।

उदाहरणको लागि-  गत मङ्सिर ३ गते हृदयघातका कारण ज्यान गुमाएका प्रचण्ड पुत्रको फेसबुक । प्रकाश दाहालको फेसबुकमा अहिले रिमेम्बरिङ प्रकाश दाहाल लेखिएको छ । साथै उनको प्रोफाइलमा भएको अर्को परिवर्तन हो ‘लिभ्ड इन काठमाडौं, नेपाल’। प्रकाशलाई कसैले फ्रेन्ड रिक्वेस्ट पठाउन वा फलो गन पाउँदैनन् । किनकी त्यसका लागि विकल्प नै छैन ।


यसको मतलब मृत्यु पश्चात् फेसबुकले नै उनको निधन भएको जानकारी दिन्छ। सन् २०१५ देखि फेसबुकले यस्तो पोलिसी थालेको हो। 

तर कर्ण बोहोराको हकमा त्यस्तो भएन, किनकि उनको मृत्यु बारे फेसबुकले जानकारी पाएन ।  

कसरी हुन्छ त फेसबुक कसैको मृत्यु बारे जानकार ? 

मृत्युपछि आफ्नो फेसबुक अकाउन्ट के हुने भन्ने बारे हरेक प्रयोगकर्तालाई दुई वटा विकल्प उपलब्ध छ। एक, आफ्नो अकाउन्टमा ’लिगेसी कन्ट्याक्ट’ सेट गर्ने। प्रयोगकर्ताले फेसबुकको जनरल सेटिङमा गएर आफूले इच्छाएको एक व्यक्तिलाई लिगेसी कन्ट्याक्टमा जोड्न सक्छ। र मृत्यु भएको खण्डमा लिगेसी कन्ट्याक्टमा रहेको व्यक्तिले फेसबुकलाई मृत्यु बारे जानकारी दिन सक्छ। 

अकाउन्ट मेमोरियलाइज वा डिएक्टिभेट हुनुअघि उक्त व्यक्तिलाई मृतकको फेसबुक वालमा पोस्ट पनि गर्ने अधिकार हुन्छ। उसले प्रयोगकर्ताले पुराना मेसेज हेर्ने अधिकार पाउँदैन तर प्रयोगकर्ताको कभर फोटो परिवर्तन गर्न, फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्न र पुराना फोटो र पोस्ट अर्काइभ गर्न भने पाउँछ।

दोस्रो, शरीरै नरहेपछि फेसबुक के काम। सब कुरा डिलिट। यदि आफू मरिसकेपछि आफ्नो फेसबुक अकाउन्ट स्थायी रुपमै डिलिट भएको चाहनुहुन्छ भने यसको लागि पनि फेसबुकले रिक्वेस्ट अकाउन्ट डिलिसनको सुविधा दिएको छ। त्यहाँ क्लिक गरेपछि तपाईँलाई मरेपछि साँच्चिकै डिलिट गर्ने हो भनेर सोध्छ। 


लिगेसी कन्ट्याक्ट र डिलिट आफ्टर डेथ दुवै सेट नगरेको हकमा के हुन्छ त?

काठमाडौं जोरपाटीका प्रभाकर शर्माको जर्मनीमा निधन भयो। उनको लिगेसी कन्ट्याक्टमा कोही व्यक्ति नभएका कारण धेरै दिनसम्म उनको पोस्टहरुमा ’आरआइपी’ लेखिने क्रम जारी रह्यो। यस्तोमा उनका दाइले फेसबुकमा शर्माको मृत्यु बारे रिपोर्ट गरे।

शर्माका दाइ ऋषिकेश दाहालले भने,’बितेर गएको मान्छेको वालमा अनेक ट्याग र कमेन्ट हेर्न हामी आफन्तलाई तनाव हुने रहेछ। त्यसैले उसको मृत्यु भएको बारे जानकारी फेसबुकलाई दिएँ।’ केही समयपछि उक्त अकाउन्ट मेमोरियलाइज भयो।

यसरी कुनै फेसबुक प्रयोगकर्ताको निधन बारे आफन्त वा साथी भाइले जानकारी उपलब्ध गराउन सक्छन्। 

जसको मतलब कर्ण बोहोराको निधन बारे कुनै पनि जानकारी फेसबुकलाई प्राप्त भएन। त्यसैले उनको अकाउन्ट अझै एक्टिभ छ। उनलाई फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ र उनको फेसबुकमा अझै लेखिएको छ ’लिभ्स इन’ महेन्द्रनगर, नेपाल।
 
मेमोरियलाइज गरिएका अकाउन्टहरु ’पिपुल यु मे नो’, ’बर्थडे रिमाइन्डर’ लगायतमा देखिंदैनन्।

मृत्युपछि फेसबुक के गर्ने सेटिङ मिलाउन यहाँ क्लिक गर्नुस्। 
 
०००
 
फेसबुकमा मृत प्रयोगकर्ताको शङ्ख्या बढ्दो छ। सन् २०१२ मा फेसबुकले सार्वजनिक गरेको रिपोर्टका अनुसार फेसबुक सुरु भएको आठ वर्षसम्ममा ३ करोड प्रयोगकर्ताको निधन भयो। उक्त तथ्यलाई आधार मानेर लेखिएको बीबीसीको एक लेखमा फेसबुकलाई ’डिजिटल चिहान’को संज्ञा समेत दिइयो।
 
ती सबैको अकाउन्ट मेमोरियलाइज भने हुँदैनन्। गत असार १७ गते हृदयघातका कारण मृत्यु भएकी फिल्म निर्देशक नीलु डोमा शेर्पाको अकाउन्ट मेमोरियलाइज्ड छ। नीलुलाई फेसबुकमा साथी बनाउन मिल्दैन तर उनले जिवित छँदा सार्वजनिक राखेका पोस्टहरु हेर्न, लाइक र कमेन्ट गर्न भने मिल्छ। उनी निर्देशित फिल्म ’हाउ फन्नी’की अभिनेत्री केकी अधिकारी उनको याद आउँदा मोबाइलमा भएको फोटो हेर्ने गरेको बताउँछिन्। फेसबुक वाल भने हेर्दिनन्। भन्छिन्,’प्रोफाइल खोलेर हेर्न सक्दिन। फोटो मात्र हेर्दा यादहरुसहित घोत्लिन्छु तर फेसबुकमा त उनको शब्दहरु पनि हुन्छन् अनि मन दुख्छ।’
 
सेल्फी, सामुहिक फोटो, स्टाटस, सेयर्ड पोस्ट आदी सामाजिक सञ्जालले मान्छे मान्छेलाई जोड्छ नै साथै कुनै पनि विषयमाथि राखेको विचार, तर्कलाई पनि ठाउँ दिन्छ। यस्तोमा फेसबुक धेरैले प्रयोग गरेको माध्यम मध्य एक हो। फेसबुकले कसैको विचार, फोटो, गतिविधिलाई अभिलेखिकरण गर्छ। मृत्युपछि सम्मका लागि। त्यसैले फेसबुक कसैको व्यक्तिगत जानकारी, विचारधारा, क्रियाकलापहरु बुझ्ने स्रोत हो। 

कति जानकारी आफूले छानेको सर्कलका लागि र कति सार्वजनिक गर्ने? प्रयोगकर्ताले निर्धारण गरे अनुरुप पोस्ट देखाइन्छ। बाचुन्जेल र मृत्युपछि पनि। त्यसैले आजभोलि कसैको मृत्युको खबरसँगै उसको नाम फेसबुकमा खोजिइन्छ, ’उसको अन्तिम फेसबुक पोस्ट के थियो?’ भन्ने जिज्ञासासहित।



मृत्युपछि तपाईँको फेसबुक के गर्ने? दुई वटा विकल्प आजै छान्नुस् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट