PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पकेटमारको कोड वर्ड 'ध्रुव दाइ'! 



पहिलोपोस्ट

पकेटमारको कोड वर्ड 'ध्रुव दाइ'! 

काठमाडौं : 'ध्रुव दाइ'। लाग्छ कसैको नाम भनिरहेका होलान्। तर, होस् गर्नुस् यसरी सुनिरहेको जस्तो लाग्ने नाम तपाईँलाई लुट्न प्रयोग त भएको छैन? 

दिउँसोको समयमा राजधानीमा चोरी गर्ने चोरको समूहले कोड वर्ड बनाएका छन् – ध्रुव दाइ। यो समूहले कुनै पनि पैसा भएको व्यक्ति पहिचान गरे भने त्यसलाई 'ध्रुव दाइ' शब्द प्रयोग गर्छन्। चोरहरुको झुन्डमा रकमवाला व्यक्ति नोटिस हुन्छ। त्यसपछि सुरु हुन्छ पिछा गर्नेक्रम। आफूलाई अनुकूल पर्ने ठाउँमा पुगेपछि यो समूह थप सक्रिय हुन्छ र लुटपाट मच्चाउँछ। 

राजधानीमा विगत केही महिनामा भएका चोरीको रेकर्ड हेर्दा मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म धेरै चोरी हुने गरेका पाइन्छ। उनीहरूले आफ्नो समूहबाहेक अरूले नबुझुन् भनेर 'कोड शब्द' बोल्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल बताए। उनीहरुले प्रयोग गर्ने 'ध्रुव दाइ' सम्भावित लुटिने व्यक्ति हुन्छ।

चार देखि पाँच जनाको समूह बनाएर उनीहरूले 'ध्रुव दाइ'को पिछा गर्छन्। बसमा वा भिडभाड हुने ठाउँ चोरी गर्ने सबैभन्दा सहज क्षेत्र हो। त्यस्तो ठाउँमा पुगेपछि उनीहरूले अर्को शब्द प्रयोग गर्छन्। 'ढाक'। उनीहरूको भाषामा ढाक भनेको चोरी गर्दा छेक भनेको हो। त्यसपछि उनीहरूले 'ध्रुव दाइ' लाई छेक्छन्।

उनीहरूको पकेटमार नाइकेलाई 'मास्टर' भनेर सम्बोधन गर्छन्। मास्टरले नै पकेट मार्ने गर्छ। मोबाइल चोर्ने भए 'कान' र पैसा भए 'नोट' शब्द प्रयोग गर्छन्। 

उनीहरूले भिडमा वा बसमा प्रहरी देखे भने आफ्ना साथीहरूलाई जानकारी दिने पनि फरक कोड हुन्छ। सादा पोशाकका प्रहरी देखे 'ठूला' भन्छन्। ड्रेसमा भएको प्रहरीलाई भने लाटा भनेर सङ्केत गर्छन्। उनीहरुले एकदिनमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म चोरी गर्ने गरेको प्रहरीको दावी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell