PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी



नेत्र तामाङ

गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका आमन्त्रित सदस्यका रुपमा रहेका विजयकुमार गच्छदारलाई पार्टी सभापति शेरबहादुर देउवाले उप-सभापतिको जिम्मेवारी दिन तयारी थालेका छन्।

बिहीवारको केन्द्रीय समितिमा आफूलाई उप-सभापति बनाउनुपर्ने दाबी गरेका गच्छदारलाई सोही पद दिने वाचाका साथ चुनावअघि पार्टीमा भित्र्याएका थिए। 

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीलाई गच्छदारले कांग्रेसमा विलय गराएका थिए। यही पार्टीका अध्यक्ष रहेका उनी पटकपटकका सरकारमा उप-प्रधानमन्त्री बनेका थिए।

निर्वाचनमा वाम गठबन्धन बनेपछि कतै नअटेका गच्छदारलाई उचित स्थान दिने भन्दै देउवाले पुरानै घर फर्काएका थिए। 

त्यही बेलाको सम्झौता देखाउँदै गच्छदारले केन्द्रीय समितिमा दुई दिनसम्म लगातार आफ्नो धारणा राखे। चैत ९ बाट जारी केन्द्रीय समितिमा दुई दिनसम्म आफ्नो धारणा राख्ने रेकर्ड गच्छदारले बनाएका हुन्।

कांग्रेस संसदीय दलका उप-नेतासमेत रहेका उनले पार्टी भित्रिँदाका सम्झौता पल्टाउँदै आफ्नो दाबी पेश गरेका थिए।

गच्छदारका लागि विधान नै तगारो

नेपाली कांग्रेसको विधानअनुसार पार्टीमा उप-सभापति एक जनामात्र हुन पाउँछ। त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ।
त्यसैले विधानअनुसार गच्छदार उप-सभापतिका लागि  योग्य छैनन्। यस्तो अवस्थामा पनि गच्छदारले किन उप-सभापति दाबी गरिरहेका छन् त?

यसका लागि गच्छदारले बाटो पहिल्याइसकेको एक केन्द्रीय सदस्यले पहिलोपोस्टलाई बताए।

केन्द्रीय समितिमा अर्को उप-सभापति थप्ने तयारी

गच्छदारलाई चित्त बुझाउनकै लागि कांग्रेसमा विधान संशोधन गरी उप-सभापतिको पद थप्ने तयारीमा सभापति देउवा लागेका छन्। संघीय व्यवस्थाअनुसार पार्टीको संरचना लैजानका लागि विधान संशोधन गर्नुपर्ने चर्को आवाज केन्द्रीय समितिमा उठिरहेको छ। यही मौकामा देउवाले पद थप्न खोजेका हुन्।

यसका लागि चाँडै विधान संशोधन समिति बन्ने र यही संशोधन समितिमार्फत् गच्छदारका लागि स्थान तय गर्ने तयारी छ।

पार्टीमा दुवैजना उप-सभापति एकैपटक चयन गर्ने वा अहिलेकै विधान बमोजिम एकजना मनोनयन गरिहाल्ने र संशोधनपछि गच्छदारलाई मनोनयन गर्ने भन्नेबारे केही बताइएको छैन। अहिलेकै विधान बमोजिम एकजना उप-सभापतिमा देउवाले आफ्नै निकटकालाई मनोनयन गर्ने तयारी गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell