PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रातो रगतमा भारतीय कम्पनीको कालो धन्दा: सघाउँदै नेपाली ल्याब



राधेश्याम पटेल

रातो रगतमा भारतीय कम्पनीको कालो धन्दा: सघाउँदै नेपाली ल्याब

वीरगंज: वीरगंजमा सञ्चालित विभिन्न मेडिकल ल्याब र थाइरो केयरको कलेक्सन सेन्टरले बिरामीलाई गलत रिपोर्ट बनाई रातो रगतमा कालो धन्दा गर्ने गरेको भेटिएको छ। २५ वर्षीय इन्दु कुमारीले भारतीय कम्पनी थाइरो केयरले आफ्नो रगत जाँचको रिपोर्ट नै गलत दिएको दाबी गरिन्।

थाइराइडको शंका लागेपछि उनले थाइरो केयरमा रगत जाँच गराएकी थिइन्। थाइरोले दिएको रिपोर्ट चित्त नबुझेपछि उनले पुनः नारायणी उपक्षेत्रीय अस्पतालको ल्याबमा थाइराइडको जाँच गरिन्। थाइरो केयरको मुम्बईबाट प्राप्त जाँच रिपोर्ट र नारायणी अस्पतालको रिपोर्ट नै फरक भएको केमिकल प्याथोलोजिस्ट श्रवणकुमार मिश्रले बताए। 

इन्दुकुमारी वैशाख ५ का दिन नारायणी उपक्षेत्रीय अस्पतालमा मुटुमा समस्या लिई डा. अरूणकुमार कर्ण र उदयनारायण सिंहसँग बहिरंगमा जाँच गराइकी थिइन्। थाइराइडको आशंका लागेकोले चिकित्सले उनलाई नारायणी अस्पतालमा ल्याब टेस्टमा रगत दिनु भनेर सुझाव दिएका थिए। तर चाँडै रिपोर्ट आउँछ भनेर उनी बिर्तामा रहेको महालक्ष्मी डाइग्नोष्टिक सेन्टरमा रगत परीक्षणको लागि गइन्। वीरगंजका विभिन्न अस्पतालमा यो सुविधा भएपनि भारतीय कम्पनी थाइरो केयरमा जाँच गराउन गइन उनी।

भारतीय कम्पनी थाइरो केयरको रेशमकोठी, त्रिभुवन विद्यालय नजिक रहेको कलेक्सन सेन्टर रहेको छ।

वीरगंजको ५० भन्दा बढी निजी ल्याबहरू थाइराइडको रगत लिएर थाइरो केयरको कलेक्सन सेन्टरमा पठाएको तीन–चार दिनपछि थाइरो केयरले अनलाइन रिपोर्ट प्रकाशित गर्छ।

थाइरो केयरको कलेक्सन सेन्टर, वीरगंजमा १० अप्रिल उनको रगतको नमुना पुगेको थियो।  १४ अप्रिलमा पटना कलेक्ट गरी मुम्बईमा १५ अप्रिलमा पुगेको रगतको स्याम्पलको सोही दिन थाइरोकेयरमा अनलाइन रिपोर्ट प्रकाशित भएको देखिन्छ। रगतको रिपोर्टमा टीथ्री ६० देखि २ सय हुनुपर्नेमा ११४ छ। टिफोर ४.५ देखि १२ हुनुपर्नेमा ८.४ छ। टिएसएच ०.३ देखि साढे ५ हुनुपर्नेमा २.६६ छ। यसको अर्थ सबै नर्मल। 
रिपोर्ट नर्मल तर समस्या ज्युँका त्युँ भएपछि बिरामीले नारायणीको ल्याबमा पुनः थाइराइडको जाँच गर्न बाध्य भइन्। जसमा किलिया विधिबाट गरिएको रगतको परीक्षणमा बिरामी हाइपर थाइराइडबाट प्रभावित रहेको पुष्टि भयो। जाँचमा फ्री टिथ्री (१.२१ देखि ४.१८ हुनुपर्नेमा ४.२९, फ्री टिफोर ८.९ देखि १७.२ हुनुपर्नेमा २१.४३ र टिएसएच ०.३ देखि साढे चार हुनुपर्नेमा १.२० फेला पर्‍यो।    

केमिकल प्याथोलोजिस्ट मिश्रका अनुसार बिरामीको रगत परीक्षण नै नगरी नर्मल रिपोर्ट तयार गरी पैसा ठग्ने काम भएको बताउँछन्। वीरगंजमा थाइराइडको चेकजाँचको लागि ल्याबहरूले १ हजार ५० लिने गर्छ भने थाइरोकेयर सेन्टरलाई रु ५ सय मात्र बुझाए पुग्छ।

रु ५ सय ५० ल्याबहरूले कमिसन ठग्ने गरेका छन्। स्वास्थ्य विभागले तोकेको मापदण्ड र उपकरण नराखेको करण यहाँका निजी ल्याबहरू थाइराइडको रगत परीक्षणको लागि भारतीय कम्पनीको मुख ताक्नु पर्छ र कमिसनको रकम ठगी गर्ने गरेको केमिकल प्याथोलोजिस्ट मिश्रको भनाई छ। थाइराइडको जाँच नेसनल मेडिकल कलेज,वीरगंज हेल्थ केयर,मंगलम डाइग्नोष्टिक,वीरगंज ओम हस्पिटललगायत ठाउँमा पनि हुन्छ तर बिरामीलाई थाहाँ नभएपछि सेवा नदिने निजी ल्याबको सिकार बन्ने गरेको उनले बताए।

थाइरोकेयर स्वीकृति प्राप्त कि गैरकानुनी? 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रीय ल्याबबाट अनुमति लिएका भारतीय प्रयोगशालाहरूको सूचीमा थाइरो केयर छैन। यो एउटा गैरकानुनी तवरबाट नेपालको रगत परीक्षण गर्दै आएको गैरकानुनी संस्था भएको केन्द्रीय प्रयोगशालाका निर्देशक राजकुमार महतो बताउँछन्।

नेपालको विभिन्न शहरमा थाइरोकेयर, डाइनोजस्तो ल्याबहरूले कलेक्शन सेन्टर खडा गरी नेपाली बिरामीहरूलाई ठग्ने र गलत रिपोर्ट पठाउने गरेको उनले बताए। प्रमाणसहित उजुरी आयो भने कारबाही गरिने उनले आश्वासन दिए।थाइरोकेयर जस्तै भारतीय कम्पनी डाइग्नोले पनि गैरकानुनी तवरले नेपाली बिरामीलाई ठगि गर्दै आएको सुनेको उनी बताउँछन्।

सञ्चालक भन्छन् यो कुरियर सर्भिस 

यस विषयमा थाइरो केयर कलेक्शन सेन्टरका सञ्चालक मोहम्द सर्फुदिनले आफू थाइरो केयरको कर्मचारी नभएको र वीरगंजबाट पटना हुँदै मुम्बईसम्म कुरियरमार्फत रगतको नमुना पठाई कुरियरको काम मात्र गर्ने गरेको प्रतिक्रिया दिएका छन्। उनले स्याम्पल दिन ल्याबले ढिलाइ गरेको खण्डमा पनि रिपोर्ट फरक पर्ने गरेको उनको भनाई छ।

 नेपालबाट अनुमति लिने भारतीय ल्याबहरूमा एसआरएल हरियाणा, डा. लाल पैथ ल्याब न्यूदिल्ली, मेट्रोपोलिक न्यूदिल्ली, कोर डाइग्नोष्टिक गुडगाउँ, वंकक्वेस्ट ल्याब्रोटरी न्यूदिल्ली गरी ५ वटा संस्थाले नेपाली रगत परीक्षण गर्ने स्वीकृति पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell