PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यसरी तयार पारिँदैछ चीन पठाउने गैँडाको केटो



रासस

यसरी तयार पारिँदैछ चीन पठाउने गैँडाको केटो
चीन पठाउनका लागि तयार पारिँदै गरेको केटो। गत वर्ष नारायणीको बाढीले भारत पुराएको यो केटोलाई उद्दार गरी सौराहामा हुर्काँइँदै छ।

रत्ननगर, चितवन : चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा ल्याएर राखिएको छ।

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो)लाई राति ११:३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो। केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो। गैडामात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर नै पिट बोमा हो।

निकुञ्जको टोलीले पोथी नियन्त्रणको प्रयास हुँदाहुँदै अन्दाजी दुई वर्षको भाले केटो नियन्त्रणमा लिएको थियो। केटोलाई बोमामा राख्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठक र चीनको चिमे लङ सफारीका सह­प्रबन्धक याङ सहभागी थिए।

गैँडाको आनीबानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न याङ वैशाख ६ गतेदेखि नै चितवन निकुञ्जमा हुनुहुन्छ। एक महिना जति पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्को ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिए। दुई जोडी गैँडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ।

अर्को एउटा पनि पिट बोमा बनाउने तयारी छ। चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभियन पाठक दोस्रो बोमामा सारेपछि पनि केही समय राखिने र आगामी असारभित्र गैँडा चीन पठाउने तयारी भइरहेको बताए।

यही वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो। गैँडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन्।

सोका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैँडा चीन पठाइने छ। गैँडा नियन्त्रण टोली भने अर्को समाउन निकुञ्जमै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell