PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

९० प्रतिशतले लिइरहेछन् प्रदुषित हावा



पहिलोपोस्ट

९० प्रतिशतले लिइरहेछन् प्रदुषित हावा

काठमाडौं: विश्वका ९० प्रतिशत जनसंख्या प्रदुषित हावा लिइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। डब्लुएचओले मंगलबार जारीको गरेको तथ्यांकले बर्सेनि ७० लाख मानिसको मृत्यु हुनुमा प्रदुषित हावालाई दोषी ठहर गरेको छ। 

 ‘वायु प्रदूषणले हामी सबैलाई चुनौती दिइरहेको छ। तर, यसबाट सबैभन्दा बढी गरिब तथा अति सिमान्तकृत समुदायका मानिसहरू यसको चपेटामा छन्,’ संगठनका प्रमुख टेर्डोस आडनम गेब्रेइससले एक वक्तव्यमा भनेका छन्। 

संगठनले घर बाहिर र भित्रको हावामा रहेको स्वास्थ्यका लागि प्रतिकुलताको अध्ययन गरेको छ। अध्ययनले एक वर्षमा ७० लाख मानिसको प्रदुषित हावाकै कारण मृत्यु भएको देखाएको छ। 

प्रतिवेदनले ९० प्रतिशत भन्दा बढी मानिसको मृत्यु एसिया र अफ्रिकाका न्यून र मध्यम आय भएका देशहरूमा भएको देखाएको छ। 
संगठनले १०८ वटा देशहरूका ४३ सय भन्दा बढी शहरबाट अध्ययनका लागि डाटा संकलन गरेको थियो। 

संगठनको तथ्यांक अनुसार सन् २०१६ मा आउटडोर (बाहिरी) प्रदूषणका कारण ४२ लाख मानिसको मृत्यु भएको छ । त्यस्तै घरभित्रको प्रदूषणका कारण ३० लाख मानिसहरूको र्मतयु भएको तथ्यांकमा उल्लेख छ। 

संगठनको तथ्यांक अनुसार एक वर्षमा दक्षिण तथा मध्ये एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणकै कारण भएको छ। त्यस्तै पूर्वी प्रसान्त क्षेत्रमा पनि २० लाख मानिसको बर्सेनि मृत्यु भएको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै अफ्रिकी क्षेत्रमा १० लाख र युरोपीयन क्षेत्रमा ५ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै पूर्वी मेडिटेरियन क्षेत्रबाट पाँच लाख र अमेरिका क्षेत्रमा तीन लाख मानिसको बर्सेनि मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell