PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रिटायर्ड चिफ सा'प रुक्माङ्गद कटवालको 'मिसन ई'



स्वेच्छा राउत

रिटायर्ड चिफ सा'प रुक्माङ्गद कटवालको 'मिसन ई'

नयाँ वर्ष २०७५ लाई स्वागत गर्न मुगुको रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँकी ६ वर्षीया थिन्ले साङ तामाङको अभिभावकत्व ग्रहण गरे। उनलाई पोशाक र पुस्तक दिए। अभिभावकत्व ग्रहण र त्यसका लागि प्रेरित गर्ने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गर्न ओली आफैँले पहल थालेपछि मन्त्रीहरु र नेताहरु धमाधम विद्यालय भर्ना गराउने क्रम बढ्यो। मिडियामा छ्यापछ्याप्ती भयो – विद्यार्थीको अभिभावकत्व ग्रहणका समाचार। सरकारी विद्यालयमा भर्ना गराउँदै फोटो खिचाएर प्रचार गर्ने क्रमको लहर चल्यो। आफ्ना सन्तानलाई निजी र महँगो विद्यालयमा पढाउँदै आए पनि, विपन्न परिवारका बालबालिका भन्दै सरकारी विद्यालयमा भर्ना र अभिभावकत्व ग्रहणको क्रम चलिरहँदा जगत कटवाल भने विभिन्न शैक्षिक संस्थाहरुतिर दौडिरहेका थिए। कुन विषयमा कति विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने हो? उनी कलेज धाउनुको प्रमुख कारण थियो।

जगत कटवाल चर्चामा रहेको नाम होइन। तर, उनी अभाव खेपिरहेका विद्यार्थी खोजीखोजी हिँडेका थिए। अभिभावकत्व ग्रहणको चर्चाले मिडिया तातेको समयमा पनि यिनी ‘गुपचुप’ रुकमाङ्गद कटवाल ट्रस्टका लागि जुटिरहेका भेटिन्छन्। रुक्माङ्गद कटवालले खडा गरेको ट्रस्टका सचिव हुन् यिनी। यस वर्ष आर्थिक अभावका कारण पढ्न कठिनाइ भोगिरहेका थप २० विद्यार्थीको पहिचान गर्नु यिनको जिम्मेवारी हो।

यिनलाई जिम्मा सुम्पने अरु कोही नभइ पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल नै हुन्। संक्रमणकालीन राजनीतिको मोडमा चर्चित पात्र हुन् रुक्माङ्गद जो अहिले ‘हल्ला नगरी’ काम गरिरहेका छन्। प्रधानमन्त्रीसहित नेताहरुले भर्ना अभियानको ‘ढोल पिट्न’ सुरु गर्नुभन्दा दुई वर्षअघिदेखि नै ट्रस्टले  थालिसकेको थियो 'मिसन ई' अर्थात् कमजोरलाई पढाउने अभियान। योगदानभन्दा चर्चाको चुली अग्लो खोज्ने नेताभन्दा फरक रुपमा सक्रिय छन् – रिटायर्ड ‘चिफ साप’। उनकै शब्द सापटी लिने हो भने - ‘दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्। मैले पनि त्यही खोजेको हो।’     

***

२०६२/६३ को आन्दोलनपछि सबै क्षेत्र प्रभावित हुँदा एउटा क्षेत्र अछुतो रह्यो - नेपाली सेना। त्यसको कमाण्ड लिएका रुकमाङ्गद कटवालको अडान नै क्रान्तिबाट आएका पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्नुको प्रमुख कारण बन्यो। त्यसपछि राजनीतिले लगातार कोर्स फेर्‍यो। 

खुमलटारको यिनको निवासमा टाँगिएको एउटा बोर्ड छ – रुक्माङ्गद कटवाल ट्रस्ट। स्थापना मिति २०७१ साल फागुन। सोही वर्ष आर्थिक अवस्था कमजोर भएका कक्षा ८, ९ र १० का छात्रछात्राको स्कूल फी तिर्न सुरु गर्‍यो ट्रस्टले।

'पहिलोपटक नै हामीले १९ विद्यार्थीका शिक्षाका लागि आर्थिक सहयोगको जिम्मेवारी लियौं एसएलसीसम्मका लागि,' उनले भने। ट्रस्टले जुन उद्देश्य हासिल गर्न खोजेको थियो त्यो स्कुले छात्रछात्राको शुल्क मिनाहले पूरा हुने थिएन। कारण माध्यमिक तहसम्म सरकारले नि:शुल्क शिक्षा उपलब्ध गराएकै थियो। सहयोग रकम त विद्यार्थीको ‘पकेट मनी’मा रुपान्तर हुने सम्भावना देखियो।

‘त्यसैले उच्च माध्यमिक र कलेज तहका विद्यार्थीलाई सहयोग गर्ने निर्णय भयो,' जगतले बताए।

 

किन 'मिसन ई'?

देश भ्रमणमा हिँडेका राजा महेन्द्र ओखलढुंगा पुग्दा ‘राजा हेर्न भन्दै’ हानिएर पुगेका थिए कटवाल। ‘उनी गाउँमा आउनु मेरा लागि भाग्य बन्यो,' कटवाल सम्झन्छन्, ‘उनले तिम्रो रहर के छ भनेर सोधे। मैले खै किन हो पढ्न पाउँ भनेँ।’

कटवालकै शब्दमा राजा महेन्द्र मुलुकभित्रको जातीय, आर्थिक र राजनीतिक अवस्था बुझ्न निस्केका थिए। गरिबी र अशिक्षा जनताको दबिनु पर्ने कारण भएको राजाको ठम्याई थियो। 'राजाले सायद बुझे - जनताले राम्रो नराम्रो, ठीक बेठीक, न्याय अन्याय छुट्याउन सके हेपिनु पर्दैन। र, जनताले त्यति बुझ्न शिक्षित हुन आवश्यक छ।'

महेन्द्रले देशका विभिन्न ठाउँ भ्रमण गर्ने क्रममा बालबालिकालाई ल्याएर स्कुल भर्ना गराउन थाले। 'धेरै मध्येको एक भाग्यमानी म रहेछु। मैले पनि त्यो अवसर पाएँ,' उनले भने। फर्पिङमा आँप र लिच्चीको बगैचाले घेरिएको नामी स्कुल त्रिभुवन आदर्श आवासीय विद्यालयमा उनको पढाई यात्रा सुरु भयो। राजा महेन्द्रको अभिभावकत्वमा उनीजस्ता ८ जना थिए त्यहाँ।

ओखलढुंगाको विपन्न परिवारदेखि प्रधानसेनापतिजस्तो पदसम्म भोगेका उनले महेन्द्रकै पथ अनुसरण गरे। उद्देश्य पनि उही लिए।  

'मलाई लाग्थ्यो राम्रो पढ्न सके सपना पूरा हुन्छ। त्यसैले यसरी पढेँ स्कुलमा कहिल्यै अरुलाई पहिलो हुन दिइन,' विद्यार्थी जीवन सम्झिँदै सुनाए, 'पढ्ने, सिक्ने कुरामा प्रतिस्पर्धा गर्ने अवसर देशका सबै बालबालिकाले पाउनुपर्छ।'

सबैमा शिक्षाको पहुँच हुनुपर्ने उनको मान्यता हो। छात्रवृत्तिमा कोटा सिस्टमका उनी विरोधी। जाति वा वर्गको आधारमा शैक्षिक कोटा दिनु भनेको 'तँ पिंजडामै बस्, म तँलाई यही भित्र मीठो मीठो खानदिन्छु' भने सरह हो भन्छन् उनी।

उनको ट्रस्टको उद्देश्य दुर्गमका बालबालिकाले समयमै अक्षर चिनुन्। कालो सेतो छुट्याउन्। प्रतिस्पर्धा गरुन्। जितुन्। आफ्नो विचार सशक्त राख्न सकुन्। देखेको र भोगेको कुरालाई व्याख्या गर्न सकुन्। कटवाल स्वयंमले त्यो अवसर पाए र अरुलाई त्यस्तै अवसरको सिर्जना गरिरहेका छन्।

ट्रस्टले प्लस टुदेखि मास्टर्ससम्म कृषि, स्वास्थ्य शिक्षा, भूमिसुधार, शिक्षा, व्यवस्थापन र मानविकी संकायमा २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। वैशाखको तेस्रो सातादेखि ट्रस्टले ती बाहेक थप २० विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गर्दैछ।

 

कसरी भयो सुरुवात?

रिटायर्ड जीवन। धेरैजसो त घुम्ने, रमाउने र आराममै बिताउने हुन्छन्। तर, रुक्माङ्गद कटवालले फरक तरिका रोजे। उनी चाहन्थे आफूले पाएको अवसरका कारण जहाँ पुगे, त्यो अरुले पनि पाउन्। परिवारसँग सल्लाह गरे। दुई विषयको सहमति भयो। पहिलो - ट्रस्ट स्थापना गर्ने। दोस्रो - ट्रस्टका लागि जग्गा बेच्ने।

पदमा रहुन्जेल सरकारी क्वार्टरमा बसेका उनले घर बनाउने सोचेका थिएनन्। जब रिटाएर्ड भए तब घरको कुरा उठ्यो। जग्गा बेचेर घर बनाउने कुरा पनि भयो। कौशलटारमा रहेको जग्गा बिक्री गर्ने कुरा चलिरहँदा गर्दै भाउ ६ करोडबाट २ करोडतिर झर्न थाल्यो।

बेच्ने समयमा मोल छिनियो २ करोड ५० लाख रुपैयाँ। 'सुरुमा त चुकचुक लागेको थियो। तर पछि सोचेँ एक लाख ८० हजारमा किनेको जग्गालाई २ करोडभन्दा बढी त भगवानले नै दिएको हो,' उनले भने।

जग्गा बेचे तर घर बनाउने कुरा भने थाँती राखे। कटवालले ट्रस्ट स्थापना गर्ने भए। जग्गाबाट आएको पैसा र उनको किताबको रोयल्टीसमेत थपेर ट्रस्ट सञ्चालनमा ल्याए। 'दिनभरी आफूले गरेको कामले कसलाई कसरी असर गर्‍यो भन्ने सोच्ने गरेको छु राति। राम्रो काम गर्दा सबैको साथ मिल्ने पनि रहेछ,' ट्रस्टमा सदस्यता र सहयोगका लागि आउनेलाई सम्झँदै सुनाए, 'मैले सबैलाई चिढ्याएको रहेनछु।'

कटवालले पुर्ख्यौंली गाउँ ओखलढुङ्गामा कलेज स्थापना गरेका छन्। त्यस्तै एक उच्च माध्यमिक विद्यालयमा आमाको नाममा फन्ड जुटाएका छन्। देशमा शिक्षाको गुणस्तर बढे युवा पलायन घट्ने विश्वास गर्छन् उनी।

विद्यालय भर्नाको सरकारी अभियानप्रति उनको नकारात्मक टिप्पणी छैन। तर शंका भने कायम छ- 'कुनै विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नु राम्रो हो। तर, उसको शिक्षाको जिम्मेवारी पदमा रहुन्जेल लिने वा त्यसपछि पनि भन्ने बारे प्रष्ट पार्नुपर्छ।'

शिक्षाको गुणस्तर वृद्धि र एक वा दुईको अभिभावकत्व ग्रहणले मात्र सुधार नहुने उनको विश्वास छ। तर, सकेकोले गर्नै पर्छ। देशको कुनाकुनामा शैक्षिक अवस्था सुधारमा सरकारको ध्यान पुग्नुपर्ने उनको तर्क छ। 'भौगोलिक, आर्थिक समस्याका कारण कोही अशिक्षित नरहोस्। उद्देश्य त्यो हुनुपर्‍यो। एक वर्ष एकजना विद्यार्थी भर्ना भएर हुँदैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell