PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर



उमेश श्रेष्ठ

तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय किलो सुन तस्करीको अनुसन्धानका क्रममा तस्करीका अनौठा तरिकाहरु समेत खुलेका छन्। 

यसअघिका अनुसन्धानले भन्सारका कर्मचारीहरुसमेतको सेटिङमा भन्सार हुँदै सुन तस्करी भएको देखिएको थियो भने यस पटक भन्सारलाई छल्दै विमानबाट सीधै विमान कम्पनीका स्थानीय कर्मचारीहरुको मद्दतबाट विमानस्थलबाट सुन सुरक्षित रुपमा बाहिरिएको देखिएको छ।
 
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिन प्रतिवेदनसमेतका आधारमा मोरङ जिल्ला अदालतमा बुझाइएको मिसिलमा विभिन्न प्रतिवादीहरुको बयानबाट सुन तस्करीको नौलो तरिका यसरी खुलेको छ -

१)    सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटको डस्टबिनमा राख्‍ने।

२)    विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्ने। 

३)    त्यो सुन विमानमा यात्रुहरु ओर्लनको लागि लगिने भर्‍याङमा विशेष किसिमको बनाइएको प्वालमा छिराउने। जहाजमा यात्रुहरु चढ्ने र ओर्लने इन्जिनसहितको भर्‍याङ हुनेगर्छ। त्यसको मेन च्यानलमा रहेको प्वालमा बोल्ट लगाई  बीचमा सुन अड्किने ठाउँ बनाइएको हुन्छ।

४)    यात्रुहरु चढ्ने र ओर्लने काम सकिएपछि भर्‍याङलाई सुरक्षित रुपमा विमानस्थलको ग्यारेजमा राख्‍ने।
 
५)    राति भएपछि भर्‍याङको प्वालबाट सुन निकाल्ने।

६)    निकालिएको सुन शरीरमा लुकाई आयल निगमको गेट हुँदै एयरपोर्टबाट बाहिरिने।

७)    मोटरसाइकलमा सुन राखी तस्करले भनेको ठाउँमा सुन पुर्‍याउने।

विमानका कर्मचारीको मात्र सेटिङले विमानस्थलमा भन्सार लगायतका अन्य सुरक्षा निकायसितको सम्पर्कमै नरही सुन यसरी सजिलै तस्करी हुने देखिएको छ। 

व्यवस्थापन कसरी हुन्थ्यो?

अनुसन्धानमा थाइ एयरवेजको दुबई हुँदै आउने उडानबाट धेरै सुन तस्करी भएको देखिएको छ। यसका लागि व्यवस्थापन यसरी हुने गर्थ्यो-

सुन मगाउनेले सेटिङ मिलाउने मुख्य ठेकेदारसित कुरा गरेपछि थाइ एयरलाइन्सका कर्मचारीहरुबीच सेटिङ मिलाउने। सेटिङ अनुसार ट्वाइलेटलगायत सफा गर्ने ड्युटी सेटिङ मिलाइएका कर्मचारीको टिमलाई दिने। सोही टिमका एक जनालाई ट्वाइलेट सफा गर्ने, सुन निकाल्ने र भर्‍याङको प्वालमा खसाल्ने जिम्मेवारी दिने। ट्वाइलेट सफा गर्न पस्दा एयरहोस्टेज र अरु क्याबिन क्रुलगायत मानिसको आवतजावत व्यवस्थापन गर्ने जिम्मेवारी अर्को केही मानिसहरुले लिने। 

थाइ एयरको हेल्पर टेक्निसियनका रुपमा काम गर्ने तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले कसको जिम्मेवारी के हुन्थ्यो भनी बयानमा खुलाएका छन् -
• दोराम खत्रीले ट्वाइलेटको डस्टबिनमा भएका सुनको पिसहरू ल्याएर भर्‍याङमा गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठहरुले पहिले नै बनाएको प्वालमा हाल्ने। 

• सुनको पिसहरू प्वालमा हाल्ने समयमा गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र सानु बन (सिनियर प्राविधिक जसको यो कान्डपछि एयरपोर्टभित्रै गाडीले किचेर मृत्यु भइसकेको छ) भर्‍याङमा बसेर मान्छेहरू मानिसहरुको आवत जावत व्यवस्थापन गर्ने

• पुण्यप्रसाद लामा तामाङ र सम्बिरप्रसाद तोलाङ एयर होस्टेजहरूलाई रोक्ने र अरू स्टाफलाई वाच गर्ने 

• जहाजभित्र भएको ब्लाङकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्ण श्रेष्ठले, भर्‍याङ जोड्ने र ग्यारेजमा लग्‍ने एल बी मगर भन्ने लाल बहादुर मगरले, रात परेपछि भर्‍याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्र मान श्रेष्ठले गर्ने
 
• सुन झिकिसकेपछि प्रायः गोपालकुमार श्रेष्ठले प्रयोग गर्ने गरेको बा ३९ प ९३० नं.को स्कुटीमा खुट्टा राख्‍ने ठाउँमा बनाएको सेभ ठाउँमा लुकाएर गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले लाने।


कति कमाउँथे?

अभियोगपत्रमा विभिन्न प्रतिवादीहरुका बयान छन्। तीमध्ये केही प्रमुख प्रतिवादीले आफूले पाउने रकम खुलाएका छन‍् -

ट्‍वाइलेटबाट सुन निकाल्ने : साढे दुई लाख रुपैयाँसम्म

थाइ एयरवेजमा ३० वर्षदेखि काम गरिरहेका दोराम खत्रीको काम ट्वाइलेटबाट सुन निकाल्ने र भर्‍याङको प्वालमा छिराउने थियो। उनलाई सुरुमा एक केजीको ३५ हजार दिने भनिएको थियो। बयानमा उनले भनेका छन्, ‘एक पटकमा मैले कम्तिमा रू.५० हजारदेखि बढीमा रू.२ लाख ५०  हजारसम्म बुझ्ने गर्थे। कहिलेकाहीँ महिना १०/१५ चोटिसम्म सुन आउँथ्यो।

भर्‍याङमा प्वाल पार्ने :  ४७ हजार रुपैयाँसम्म

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा थाई एयरलाइन्सको अपरेटरको काम गर्न एल.बी.भन्ने लालबहादुर मगरका अनुसार उनको काम थाई एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि यात्रुहरु उत्रने भर्‍याङ जडान गर्ने थियो जसमा प्वाल पारिएको हुन्थ्यो। त्यसपछि भर्‍याङ निकाली पार्किङ स्थलमा लगी उक्त सुनको पोकाहरु निकाली त्यहीँ फोहोर फाल्न राखेको बाल्टिनमा राख्ने उनको काम थियो। उनले एक पटकमा ४७ हजार रुपैयाँसम्म पाएको र ९०/१०० पटक गरेको बयान दिएका छन्। 

हेल्पर : ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म

थाइ एयरको हेल्पर टेक्निसियनका रुपमा काम गर्ने तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले सुरुमा थाहै नभइ यसमा संलग्न हुँदा ६ हजार रुपैयाँ पाएको र पछि एक पटकको ६५ हजार रुपैयाँसम्म पाएको बयान दिएका छन्। 

भर्‍याङबाट सुन निकाल्ने :  २ लाख ७५ हजार रुपैयाँसम्म

विमानस्थलमा २०४० सालदेखि स्थायी जागिर खाइरहेका वीरेन्द्रमान श्रेष्ठलाई सुरुमा थाइ एयरका सुपरभाइजरले ५ हजारसम्म मात्र दिन्थे। त्यतिबेलासम्म उनलाई तस्करीको प्रक्रिया थाहा थिए। पछि भुजुङ गुरुङको घरसम्म सुन पुर्‍याउने काममा लागेका उनले एक पटकमा २ लाख ७५ हजार रुपैयाँसम्म पाएको र रकमबाट विभिन्न ठाउँमा घरजग्गा किनेकोसम्म बयान दिएका छन्। 

सेटिङ मिलाउने : साढे ११ लाख रुपैयाँसम्म

विगत ४० वर्षदेखि थाइ एयरलाइन्समा टेक्निसियनको रुपमा काम गर्ने गोपालकुमार श्रेष्ठ सुन मगाउनेहरुसित नजिकमा रहेर सेटिङ मिलाउँथे। कहिलेकाहीँ उनले सुन पुर्‍याउने काम समेत गर्थे। ९०/१०० पटक यस्तो काम गरेको भन्ने उनले बढीमा १२ पोका सुन पुर्‍याउँदा १२ लाख ५५ हजार रुपैयाँसम्म पाएको बयान दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell