PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्डको दिनभरको सक्रियताले ‘फिनिसिङ टच’ : 'समानताका आधारमा एकता'



विधुर ढकाल

प्रचण्डको दिनभरको सक्रियताले ‘फिनिसिङ टच’ : 'समानताका आधारमा एकता'

काठमाडौं : पार्टी एकताको विषयमा टुंगो लगाउन आज दिनभर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्ला एक्लै भेटमा व्यस्त भए। बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टा गोप्य वार्ता गरेका प्रचण्डले लगत्तै एमाले नेता माधवकुमार नेपालसँग त्यसैगरी गोप्य भेट गरे। त्यसपछि पुनः बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको भेटवार्ताले सहमतिको बिन्दु पहिल्याएको बताइएको छ। 

गत वैशाख ४ गते बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि मिल्न बाँकी विषयलाई टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएका थिए। त्यतिवेला संयोजन समितिका सदस्य समेत रहेका एमाले नेता ईश्वर पोखरलेले पार्टी एकताका लागि विवादित विषय नरहेको भन्दै केही विषयमा 'फाइनल टच' दिन बाँकी रहेको प्रतिक्रिया दिएका थिए। 

उनकै शब्दमा भन्ने हो भने - आज दुई अध्यक्षले टुंगिन बाँकी विषयमा फाइनल टच दिएका हुन्। बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीचको छलफल मिलन विन्दुमा पुगेको छ। 

बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीच झण्डै तीन घण्टा छलफल भएको थियो। यही छलफलले बाँकी रहेका विषयमा फाइनल टच दिएको हो। 

एकताका लागि एकता पछि बन्ने कमिटीमा प्रतिनिधित्वको विषय, जनयुद्धलाई पार्टीको विधानमा संवोधन गर्ने र चुनाव चिन्हका विषयमा कुरा मिलेको थिएन। 

माओवादी कैन्द्रले पार्टी एकतापछि बन्ने हरेक कमिटीमा समान हैसियत र बारबरी प्रतिनिधित्वको माग गर्दै आएको थियो। माओवादी स्रोतका अनुसार यही विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति भएको छ। यसलाई एकता संयोजन समितिको आगामी बैठकले लिखित रुपमा निर्णय गर्ने स्रोतले बतायो। 

‘केन्द्रीय समितिमा दुवैतर्फबाट करिब करिब बराबरी संख्यामा सदस्य राख्ने सहमति जुटेको छ,’ स्रोतले भन्यो, ‘केही तलमाथि हुन सक्छ तर समानताका आधारमा एकता हुनेमा दुवै अध्यक्ष सहमत हुनुभएको छ।’

पार्टी एकताका लागि गठन भएको कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने सुझावसहितको प्रतिवेदन बुझाएको थियो। अब बन्ने समितिमा दुवैका तर्फबाट झण्डै बराबरीको संख्यामा सदस्य रहने छन्। 

यसअघि एमालेले यसलार्इ मानेको थिएन। एमालेले निर्वाचनको परिणाम अनुसार ७०-३० बताउँदै आएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell