PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुनकाण्डकी रहस्यमय पात्र निशा :  सनमकी 'मोडल गर्लफ्रेन्ड' जसलाई पहिल्यै 'थाहा थियो' लुटको योजना 



सुनकाण्डकी रहस्यमय पात्र निशा :  सनमकी 'मोडल गर्लफ्रेन्ड' जसलाई पहिल्यै 'थाहा थियो' लुटको योजना 

  • उमेश श्रेष्ठ/सविन ढकाल -
काठमाडौँ:  ३८ सय किलो सुन तस्करी गरेको र अपहरण तथा हत्याको अभियोगमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दायर भएको मुद्दाको अभियोगपत्र एउटा सस्पेन्स थ्रिलर उपन्यासको कथा जस्तै छ। सम्पूर्ण घटनाक्रम माघ ९ गते थाई एयरको जहाजबाट आएको ३३ किलो सुनको पछाडि घुमेको हुन्छ। तर कसैलाई पनि थाहा छैन- आखिर सुन कहाँ गयो? कसले लुट्यो? अहिले कहाँ छ?

सिवाय एक जना। 

निशा सेन ठकुरी। हत्या गरिएका सनम शाक्यकी 'गर्लफ्रेन्ड'। बयान हेर्दा लाग्छ, सुन लुट्ने योजनाबारे उनलाई पहिल्यै थाहा थियो। 

बयानमा निशाले तीन जनाले मिलेर 'सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन्' भनेर नामसमेत दिएका छन्- रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा।

तर यी कसैलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छैन। सुन यी तीन जनाले लुटेको हुनसक्नेतर्फ अनुसन्धान प्रवेशसमेत गरेको छैन। 



कसरी भयो निशा र सनमको भेट?

दरबारमार्गस्थित आइक्लबमा मोडलिङ गर्न गएको समयमा २०७४ साल साउन २८ गते पहिलोपटक सनम शाक्यसँग चिनजान भएको बयान निशाले दिएकी छिन्। तर आइक्लब डिस्कोथेक हो, मोडलिङ गर्ने ठाउँ हैन। 

त्यसपछि दुई जना नजिकिन्छन्। सनमले निशालाई हाडीगाउँस्थित कोठामा लाने मात्र हैन दशैँ अगाडि घुम्न धरानमा समेत सँगै लिएर जान्छन्। 

सनमको काम सुन तस्करी हो भन्ने कुरा निशाले लगभग दुई महिनापछि दशैँको टीकाको दिन बल्ल थाहा पाउँछिन्। बयानमा निशाले बताए अनुसार टीकाको दिन आमाको जन्मदिन भएकोले सनमलाई छाडेर काठमाडौँ आउँछिन्। ठमेलको होटलमा बर्थ डे पार्टी हुन्छ। पार्टीमा अरुसँगै निम्त्याइएका हुन्छन् तीन जना केटा- निशाका साथीहरु रोशन श्रेष्ठ र आकाश लामा तथा दिदीको साथी रमेश श्रेष्ठ। यिनै तीन जनाले मिलेर 'सनमहरुलाई लुट्ने योजना बनाएको' र 'प्लान सफल भएको' समेत निशाले बयानमा बताएकी छन्।
 
त्यसअघि रमेशले नै निशालाई सनमको वास्तविक काम सुन तस्करी हो भनेर सुनाउँछन्। 

निशाको फोनको वालपेपरमा उनको र सनमको फोटो देखेपछि रमेश भन्छन्- 'यो मान्छेलाई चिन्छु।'

'कसरी चिन्नुभयो?' निशा सोध्छिन्। 

त्यसपछि रमेशले आफैं पनि सनमहरुसँग काम गरेको तर अहिले छाडेको कुरा बताए। निशाले बयानमा भनेकी छिन्, 'रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो। सनमको दाइ र सनमको दाइ भनिएको गोरे भन्ने चुडामणि उप्रेतीको काम अरु केही काम नभई सुन तस्करीको काम हो भनी मैले रमेशले भनेकोले थाहा पाएकी हुँ।'

यत्तिले निशाको चित्त बुझ्दैन। आफैंले सनमलाई मन चोर्ने उद्देश्यले सोध्छिन्। सनमले हो, म सुन तस्करीको कारोबार गर्छु भनी स्वीकार्छन्। 
सनमले तँलाई कसरी थाहा भयो भनी सोध्दा निशाले रमेशले भनेको बताउँछिन्।

को रमेश भनेर सनमलाई चासो हुन्छ। निशाले आफ्नो मोबाइलमा भएको फोटो देखाउँछिन्। त्यसपछि सनमले भन्छन्- यो त टेकराज मल्लको सालो हो। 

टेकराज मल्ल २०६२ सालदेखि चुडामणि उप्रेती गोरेसँग मिली सुन तस्करी गर्दै आएका व्यक्ति हुन्। सनमको ज्यान जाने गरी करेन्ट लगाउने काम आफैले गरेको बयान उनले दिएका छन्।  

 

सई सन्जेलले गोरेलाई पठाएका थिए निशाको फोटो

निशा, रमेश श्रेष्ठको तीन जनाको ग्याङ र सनम शाक्यको यो त्रिकोणीय कथामा अकस्मात् इन्ट्री हुन्छ सई बालकृष्ण सञ्जेलको पनि। सञ्जेल पनि मुद्दामा प्रतिवादी छन्। गोरेसित पहिलेदेखि नै निकट सम्पर्कमा रही सहयोग गर्ने गरेको र सनमको हत्यापछि लाश बेपत्ता पारी केस मिलाए वापत शुरुमा रु.पाँच करोडको प्रस्ताव भए पनि डिल दुई करोडमा उनी लगायतले गरेको अभियोग उनीमाथि लगाइएको छ। 

बयानमा निशाले भनेकी छिन्, 'फेसेज लन्चमा ती तीन जनाको बीचमा कुरा भएको समयसम्म म अन्जानमा थिएँ। रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा थियो। रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन्। उनीहरुको यो कुरा हुनुभन्दा अगाडि रोशन र आकाशसँग  दरबारमार्गमा मेरो बालकृष्ण संन्जेलसँग भेट भयो।  भेट भई कुरा हुँदा सञ्जेल इकाउन्टर स्पेसलिस्ट हो भनी मलाई रोशन श्रेष्ठले दरबारमार्गमा भएको बेक्स एन्ड केक्स पसलमा चिनजान गरायो। उनीहरुको प्लान सफल हुनुभन्दा अगाडि सञ्जेलले यो कुराहरु गोरेसँग पुर्‍याएको थियो।'

निशाको बयानमा उनीहरुको प्लान सफल हुनुभन्दा अगाडि नै सञ्जेलले यो कुराहरु गोरेसँग पुर्‍याएको थियो भने पनि लुट्ने प्लान रहेको कुरा सञ्जेलले गोरेसामु पुर्‍याएको थियो कि अर्कै कुरा स्पष्ट छैन। 

निशाले सनमहरुलाई लुट्ने योजना बनाएको आरोप लगाउनेहरुले सई सञ्जेललाई निशासहित किन भेट्नु पर्ने हो, त्यो पनि रहस्यमै छ। 

निशाले बयानमा अगाडि भनेकी छिन्, 'कुरासँगै मेरा केही तस्विरहरु पनि सञ्जेलमार्फत् सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणी उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए। त्यसपछि गोरेले सनमलाई तेरो गर्लफ्रेन्डलाई सकाई दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो। त्यसपछि सनमले मलाई अलि होस् गरेर हिँड्नु भनेका थिए।'


ढाँटेर निशासित बस्नु पनि सनम हत्याको कारण?

सनमको हत्या, हराएको सुन र निशाबीचको सम्बन्ध अर्को एउटा घटनाले पनि जोडिन्छ। जुन दिन सुन थाई एयरको जहाजबाट आएको थियो र हराएको थियो, त्यो दिन अर्थात् माघ ९, २०७४ (जनवरी २३, २०१८) मा कसैलाई थाहा नदिई सनम काठमाडौँ आएका थिए। 

बयानमा उनले भनेकी छन्, 'सनम जनवरी २३, २०१८ मा बुद्ध एयरबाट बेलुकी ५:३५ मा टिकट नं.७०५०३९४ बाट काठमाडौँ आएको थियो। म निजलाई लिन एयरपोर्टमा गएकी थिएँ। त्यसपछि हामी बागबजार आई होटलमा बस्यौँ, त्यो पटक सनम काठमाडौं आएको कुरा कसैलाई थाहा थिएन।'

कसैलाई थाहा नदिई काठमाडौँ आएर निशासँग बस्नु र पूर्व छु भनी ढाँट्नु नै सनममाथि शंका उब्जिनुको कारण रहेको अन्यको बयानबाट देखिन्छ।  

सनमलाई करेन्ट लगाउने टेकराज मल्ल ठकुरीले बयानमा भनेका छन्, 'धरानको निर्भाना कन्ट्री क्लबमा बेलुकी गोरे भन्ने चुडामणी उप्रेतीले मोहन काफ्लेलाई अब तेरो पालो को कसलाई के के गरेर हुन्छ पत्ता लगा भन्यो। त्यसपछि मोहन काफ्ले र सनम शाक्यले कृष्ण भन्ने नरेन्द्र कार्की, लाक्पा शेर्पा र भबिन राईलाई कपडा खोली नाङ्गै बनाई पाइपले कुट्न थालेपछि निजहरू पीडा सहन नसकेर कराउन थाले। मुखमा कपडा कोची दिई झन् बढी कुटन थाले। हामीहरू सबै जना अगाडि नै बसेर हेरिरहेका थियौँ। करिब एक डेढ घण्टा कुट्दै मुखमा कोचेको रूमाल निकाल्दै सोधपुछ गर्दा भबिन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौँमा नै रहेको र सुन हराएको जानकारी पाउँदासमेत म पूर्वमा छु भनी ठगेको र सो कुरा मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीलाई समेत जानकारी भएको कुरा पत्ता लाग्यो। सालोको बिहेमा घर उर्लाबारी जान्छु भनी भनेको तर सो ठाउँमा नगई निशा सिंह ठकुरीसँग काठमाडौँको होटलमा बसेको कुरा खुल्यो। त्यसपछि राति नै खास दोषी त सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले रहेछ' भन्ने उनीहरुलाई भयो। 

नरेन्द्र कार्कीले पनि बयानमा यस्तै बताएका छन्, 'गोरे भन्ने चुडामणि उप्रेतीले म,लाक्पा शेर्पा र भबिन राईलाई कपडा खोली नाङ्गै बनाइ सुरेन्द्र गौतम, टेकराज मल्ल ठकुरी र टुकबहादुर मगरले मलाई मात्र पाइपले कुट्न थालेपछि म पीडा सहन नसकेर कराउन थालेपछि मेरो मुखमा कपडा कोची दिई तिनै जनाले पालैपालो कुटन थाले, अन्य सबै जना अगाडि नै बसेर हेरिरहेका थिए। करिब एक ढेड घण्टा कुटदै मुखमा कोचेको रूमाल निकाल्दै सोधपुछ गरे र त्यसपछि भबिन राईलाई पनि कुट्न थालेपछि भबिन राई भन्ने भबिन तामाङले सुन हराएको दिन सनम शाक्य काठमाडौँमा नै रहेको र सुन हराएको जानकारी पाउँदा समेत म पूर्वमा छु भनी ठगेको र सो कुरा  मोहन काफ्ले, मलाई समेत जानकारी भएको कुरा बतायो र सालोको बिहेमा घर उर्लाबारी जान्छु भनी भनेको तर सो ठाउँमा नगई निशा सिंह ठकुरीसँग काठमाण्डौको होटलमा बसेको कुरा खुल्यो र त्यस पछी राती नै खास दोषी त म, सनम शाक्य र मोहन काफ्ले रहेछन भनी करिब रातको १२/१ बजेतिर पुनः सबैलाई गाडीमा राखी काठमाडौँतर्फ..'

मोहन काफ्ले भने नाटकीय दृश्यको शिकार हुन्छन्। सनम शाक्य, रुस्तम मिया, लाक्पा शेर्पा र तक्लेलाई गोरेले एकले अर्कालाई कुटपिट गर्न निर्देशन दिन्छन्। 'सोही क्रममा मैले तक्लेलाई पिट्दै सुन कहाँ छ भन्छस् भने भन् नत्र यहिँ पेट्रोल ल्याई खन्याई जलाई यही मारी दिन्छु भनेँ। आधा घण्टा जति पाइपले कुटने र करेन्ट लगाउने समेत काम भयो,' उनले भनेका छन्। 

तक्ले सानु बनसित विमानस्थलबाट निकालिएको सुन अनामनगरस्थित गोरेको कोठामा पुर्‍याउन गएका थिए। सानुको विमानस्थलमै ट्याङ्करको पाङ्ग्राले किचेर मृत्यु भइसकेको छ। 

मोहनलाई गोरेले एकान्तमा राखी अब तैले को कसलाई के के गरेर हुन्छ पत्ता लगा भन्छन्। तर यातनाका क्रममा भबिन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौँमा नै रहेको र सुन हराएको जानकारी पाउँदा समेत म पूर्वमा छु भनी ठगेको बताए। यो कुरा मोहनलाई समेत थाहा छ भनेपछि खास दोषी त सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहनलाई सोची झन् यातना दिन थालिएको थियो। यही क्रममा सनमको मृत्यु भएको थियो।  

तर यो कुरा बताएको भन्ने भबिनलाई प्रतिवादी बनाइए पनि उनको बयान भने अभियोगपत्रमा छैन। 

सुन हराएको राति अन्दाजी १०/११ बजे सनमको मोबाइलमा सुन लुटिएको खबर आएको निशाको बयानमा छ। 'त्यसपछि सनमलाई मोहनले फोन गरेकोले सनमले म काठमाडौंमा छु भनेका थिए। त्यसपछि मोहनलाई मात्र सनम काठमाडौँ आएको कुरा सो समयमा थाहा भएको थियो', निशाले भनेकी छिन्। 


सनमको अन्तिम मेसेज- कल चाहिँ नगर्नू ल

निशासित सनमको हत्या हुनुअघिसम्म पनि सम्पर्क रहेको देखिएको छ। निशाले बयानमा भनेकी छिन्, 'फेब्रुअरी २८ तारिखमा बिहान ७ बजेर १ मिनेटमा मलाई कल नगर है। म अब दाइसँग हुन्छु। १ महिना लागे पनि आफैं कल गर्छु। बोल्दा पनि नर्मल तरीकाले बोल्नु है। ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाहिँ नगर है ल बुढी रिसाइस् होला। तर अहिले कल चाहिँ नगर्नु ल भनी म्यासेज आएको थियो।' 

'मैले पनि कल गरिनँ। मार्च १ तारिख होलीको दिन मैले हेप्पी होली भनी म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो। तर कुरा भएन। फोन उठेन। त्यसपछि फोन अफ भयो।' 

सन्जेलले भने- 'टेन्सन नलिनू'

त्यसको भोलिपल्ट माघ १९ गते प्रहरीले आफ्नो लाजिम्पाटस्थित कोठामा खानतलासी लिएर ३३ के.जी. सुन कहाँ छ भनी सोधपूछ गरेको निशा बताउँछिन्। 'केही फेला नपरेपछि सोधपुछको लागि अपराध महाशाखा लगी मलाई सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको भन्ने कुरा मैले प्रहरीबाटै थाहा पाएकी हुँ,' बयानमा उनले भनेकी छिन्। 

निशाले भनेकी छिन्, ' म प्रहरीमा गइसकेपछि मलाई बालकृष्ण सञ्जेल सरले फोन गरी यो केसको इन्चार्ज हामी हो, टेन्सन नलिनू भन्नुभएको थियो।' 

सई सञ्जेलले त्यतिमात्र हैन, दरबारमार्गमा निशासित भेटेका थिए। उनले भनेकी छिन्, 'त्यसको १ हप्ता पछाडि निज सञ्जेल सर र मेरो दरवारमार्गमा भेट भएको थियो।'


सनमकी छोरीलाई 'पढाइदिन्छु'

निशाले सुरुमा आफूलाई सनम विवाहित भएको पनि थाहा नभएको बताएकी छिन्। विवाहित हो भन्ने थाहा पाएपछि निशाले सनमको फोनै उठाउन छाडेको सनम आफैले फोन गर्ने गरेको बताए पनि पछि कसरी कुरा मिल्यो उनले बताएकी छैनन्।

मृत्यु भई सकेको कुरा थाहा पाएपछि भने उनले सनमकी श्रीमतीलाई फोन गर्छिन् र छोरी दिप्शालाई पढाइदिन्छु समेत भनेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ। 


सुन खोई?

निशाको बयान अनुसार सुन उनको कोठामा हुनसक्ने भनी प्रहरीले खोजतलास समेत गरेको थियो। तर केही भेटिएन। अभियोगपत्रमा उनी मात्रै एक व्यक्ति हुन्, जसले सुन लुट्ने योजना उल्लेख गरेकी छिन्। तर उनले लिएका नामहरुप्रति न गोरेको ध्यान गएको देखिन्छ, न प्रहरीको।  

अन्तिमसम्म पनि गोरेको शंका सुन लुटिएको दिन पूर्व गएको भनी ढाँटेर काठमाडौँमा निशासित होटलमा बस्ने सनम शाक्य, यो कुरा थाहा पाउने कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेप्रति देखिन्छ। शंका बलियो भएपछि यातना दिने क्रममा सनमको मृत्यु भएपछि आइलागेको टेन्सनले सुन खोज्नभन्दा पनि गोरे आफैं बेपत्ता हुन बाध्य हुनुपर्‍यो।

निशाले नाम लिएकामध्ये टेकराज मल्लको सालोका रुपमा रमेश श्रेष्ठको परिचय त खुल्छ। तर रोशन श्रेष्ठ र आकाश लामाको लिङ्क कतै जोडिँदैन। रोशन र आकाशसँग दरबारमार्गमा निशाले सई बालकृष्ण सञ्जेलसँग भेटेको कुराले केही शंकाको स्थान दिन्छ। 

सुनकाण्डमा लाल-लालसम्म पुगेर छानबिन गर्ने बताउने सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरप्रसाद पौडेल नेतृत्वको टिमले यो रहस्य पत्ता लगाउला त? मुद्दा दायर भए पनि टोलीको म्याद अझै बाँकी नै छ। 

सम्बन्धित समाचार
अनामनगरबाट कसले लुटेको थियो ३३ किलो सुन?
तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell