PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेलम्ची विस्तारमा लगानी गर्न एडीबीलाई अर्थमन्त्री खतिवडाको अनुरोध



विज्ञान अधिकारी

मेलम्ची विस्तारमा लगानी गर्न एडीबीलाई अर्थमन्त्री खतिवडाको अनुरोध

मनिला : अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी दोस्रो आयोजनामा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लार्इ आग्रह गरेका छन्। बिहीवार मनिला आइपुगेका खतिवडाले एडीबीका प्रेसिडेन्ट ताकेहिको नाकाओसँगको भेटमा दोस्रो चरणमा पनि सहयोग गर्न आग्रह गरेका हुन्। 

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको बेलामा दोस्रो चरणमा याङग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउने काममा समेत सहयोग गर्न आग्रह गरेका हुन्।
 
‘मेलम्चीको पहिलो चरणको काम अन्तिम चरणमा छ। यो पानी काठमाडौंमा ल्याएर पनि समस्या समाधान हुँदैन। त्यसैले दोस्रो चरणको आयोजनाका लागि हामीले आग्रह गरेका हौं,’ उनले बिजमाण्डूसँग भने, 'एडीबी प्रेसिडेन्टबाट सकारात्मक जवाफ पाएका छौं। गत जनवरीदेखि स्पेनको इप्टिसा (इप्टिसा इन एसोसिएसन विथ टिएस टिएमएस जीओके) परामर्शदाता कम्पनी हायर गरेर विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारिएको छ।'

डीपीआरपछि याङग्री र लार्केबाट थप ३४ करोड लिटर पानी आपूर्तिका लागि सुरुङ मार्ग र आवश्यक पर्ने संरचना निर्माण गर्नुपर्छ।

मेलम्चीको मुहानबाट ९ किलोमिटर उत्तर पुर्वमा याङग्री खोला पर्छ। त्यसको पनि दुर्इ किलोमिटर पर लार्के खोला पर्छ। लार्केबाट याङग्रीको मुहानसम्म दुर्इ किलोमिटर सुरुङ मार्ग बनाएर पानी ल्याइन्छ। त्यहाँबाट ३४ करोड लिटर पानी सुरुङमार्गबाट मेलम्चीको मुहानमा जोडिन्छ। मेलम्चीको मुहानबाट ५१ करोड लिटर पानी अहिले बनिरहेको सुरुङमार्ग बाट राजधानी ल्याउन सकिन्छ। 

एडीबीले सहयोग गरे तीन वर्षभित्र ५१ करोड लिटर पानी राजधानी भित्र्याउन सकिन्छ। दोस्रो चरणमा मेलम्चीमा पानी ल्याउन ३० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell